घरमै जङ्गल छ भन्ने सुन्दा तपाईंलाई पनि अचम्म लाग्न सक्छ र नलागोस् पनि किन ? एउटा अचम्मको घर छ, जहाँ छतभरि ठूलाठूला रुख, बोटबिरुवादेखि फलफूलसम्मको घारी छ । सबैले जङ्गलको घर भनेर चिन्छन् अहिले । इटहरी–२० तरहरास्थित भारतीय सेनाका भूपू लाहुरे विष्णु खड्काको घरको छत हेरौं हेरौंलाग्दो छ । बगैंचाप्रेमी खड्काले आफ्नो पाँचतले घरको छतलाई जङ्गलजस्तै बनाएका छन् ।
पछिल्लो समय परिवारलाई अग्र्यानिक तरकारी खाने सहजता बनाएका खड्का परिवारले घरको छतको मज्जाले सदुपयोग गरेका छन् । इटहरी क्षेत्रमा पनि पछिल्लो समय पूरै जमिन घरले ठडिएको हुँदा उब्जनी गर्ने ठाउँ नभेटिरहँदा यो एउटा सदुपयोग गर्ने बाटो बनेको छ । ‘आफ्नै घर घुम्यो, आनन्द लियो’ इटहरी–२० तरहराका नेपाली काङ्ग्रेस इटहरी–२० का पूर्व सभापतिसमेत रहेका खड्का भन्छन्, ‘सबैभन्दा ठूलो प्रकृतिप्रेम नै त हो ।’ उनले भनेजस्तै छ, निवासको अवस्था पनि ।’
थरिथरिका बोटविरुवा, अनेक ताल र सुरमा फैलिएका छन् । सिन्कोजत्रो अम्बाले उचाल्नै नसक्नेगरी फल बोकेको छ । टेको लगाएर अड्याइदिनु पर्ने त्यत्रो फलले आकर्षण बोकेको छ । कहिल्यै नफुल्ने हरिया फूलजस्तै लाग्ने तर, नफुल्ने अनेकथरि पात भएका बोटविरुवा छन् । ‘फलफूलको गार्डेनमा रहर लाग्छ’–खड्का भन्छन् । बगैंचामा पसेर गोडमेल गर्नु पनि मज्जा लाग्ने उनको अनुभव छ । कुन बोट फुल्दैछ, कसको दाना लाग्यो, कुन फल खाने बेला भयो यस्तै रहर बगैंचामा भेटिन्छन् ।
खड्काको घरमा पूजा सामग्री खोज्न पनि अन्त जानु पर्दैन । बेल, पीपल, आँपदेखि सबैकुरा त्यही बगैंचाभित्र छन् । दिनभरि सामाजिक र राजनीतिक कार्यक्रमहरूमा व्यस्त हुने उनी रातको अबेरसम्म र बिहान झिसमिसेमै गार्डेनको हेरचाहमा लाग्छन् । उनलाई पूरै साथ दिएकी छन्, श्रीमती गीता विष्टले पनि । फलफूलप्रेमी खड्का कसैकोमा अनौठो र राम्रो फूल देखे चुँडेर गोजीमा हाल्छन् र बगैंचामा थप गर्छन् ।
१७ वर्षसम्म भारतीय सेनामा जागिर गरेका उनी फूलप्रेमी भने सानै उमेरदेखिका हुन् । पूर्वी पहाड खोटाङमा जन्मेका उनले गमला नहुँदा फुटेका कराहीमा फूल रोप्ने गरेको सुनाउँछन् । ‘म फूलप्रेमी हुँ’–उनी भन्छन् । घरमा भएका फूललाई कलमी गरेर अरूलाई दिनेसमेत गरेको उनी बताउँछन् । घरको प्रत्येक तला जङ्गलजस्ता हरियाली छन् । ठूला–ठूला रुखहरूसमेत घरको छतमै रोपेका छन् ।
छतमै प्रशस्त सागसब्जी
तपाईं र हाम्रै किचन गार्डेनमा । घरको बगैंचा, बार्दली, छत वा कुनै सानो स्थानमा सागसब्जी उत्पादन गर्न सकिन्छ भन्ने उदाहरणसमेत दिएका छन् खड्काले । ‘यसका लागि अरू केही चाहिँदैन, जाँगर भए पुग्छ । किनभने सागसब्जी रोप्न, उत्पादन गर्न ठूलो ठाउँ चाहिन्छ भन्ने छैन । सानै ठाउँमा पनि गमला वा बोरामा माटो र मल राखेर सागसब्जी रोप्न सकिन्छ’–खड्का भन्छन् ।
खड्काको घरमा सबै प्रकारका सब्जी उमार्ने गरेका छन् । घरमा खपत हुने तरकारीमध्ये ८० प्रतिशत आफैले उत्पादन गरेको आग्र्यानिक तरकारी खाने गरेको उनी सुनाउँछन् । ‘विषाक्त सब्जी खरिद गर्ने समयको बचत गरेर आफ्नै बगैंचा बनाउन सकिन्छ’ उनी भन्छन्, ‘महŒवपूर्ण कुरा त के भने स्वास्थ्यभन्दा ठूलो कुरा अरू केही होइन । मेरो घरमा साग, गोलभेडा, खुर्सानी, पुदिना, धनिया, हरियो प्याज, कागती लटरम्म फलेका छन्, यो मेरो मेहनत हो ।’
आफूले उत्पादन गरेको सब्जीमा विष हुने कुरै भएन । यसको सबैभन्दा ठूलो फाइदा त स्वास्थ्यलाई छ । जब स्वस्थकर सागसब्जी पाइन्छ भने किचेन गार्डेन किन नबनाउने ? बगैंचा भएपछि त्यसमा हामी समय व्यतित गर्छौं । कहिले गोडमेल, कहिले सिंचाइको काम गरिन्छ । यसले गर्दा हामी अनावश्यक कुरा सोच्दैनौं । हाम्रो तनावको स्तर पनि कम हुने उनको तर्क छ ।
हामी पनि बानी बसालौं
हामी कोही गाउँमा छौं, कोही सहरमा छौं । कसैको आफ्नै घर छ, कसैको डेरा । आखिर जे भए पनि हामीले आफू बस्ने आसपासको क्षेत्रको सौन्दर्य बढाउन सक्छौं । फूल रोप्नु वा फूलबारी बनाउनु यसको सरल काइदा हो ।
यसबाट प्रत्यक्ष हामीलाई फाइदा पनि मिल्छ । तर, यसबारे हामीले खास सोचविचार गरेका हुँदैनौं । सोचौं त, उठ्नासाथ ढकमक्क फूलहरू फुलेको देख्दा कस्तो हुँदो हो ? आफूले धेरै समय बिताउने घरआँगनमा रङ्गीबिरङ्गी फूलहरू हावामा बयेली खेलिरहेको दृश्य कति मनमोहक हुँदो हो ? फूलहरूमा भँमरा वा पुतलीहरू खेलिरहेको देख्दा कति रमाइलो हुँदो हो ?
वास्तवमा फूलको सौन्दर्यले हामीलाई मोहित तुल्याउँछ । तनाव भुलाइदिन्छ । मनमा सकारात्मक ऊर्जा पैदा गरिदिन्छ । ढकमक्क फुलेका फूलहरूको सौन्दर्यले हामीमा खुसी सञ्चार गराइदिन्छ । एक हिसाबले भन्ने हो यो प्राकृतिक उपचार पनि हो । आफू बसेको स्थानमा फूल रोप्नु, फुलाउनेको फाइदा यतिमा मात्र पनि सीमित छैन । फूल ढकमक्क फुलेको छ भने आगन्तुकहरू रमाउँछन् । आफ्नै बालबच्चाले पनि रमाइलो मान्छन् ।
सहरी क्षेत्रमा कतिपयले घर निर्माण गर्दा बगैंचाको पनि ठाउँ छुट्याएर राखेका हुन्छन् । यदि बगैंचा नभए पनि बार्दली, कौसी, छत जहाँ पनि फूल रोप्न सकिन्छ । फूल रोप्न, फुलाउनका लागि आफ्नै घर हुनुपर्छ भन्ने छैन ।
डेरामा बसिएको छ भने पनि आफूलाई अनुकूल हुने स्थानमा फूल रोप्न सकिन्छ । त्यसैले घरआँगनमा फूल रोपौं र रोप्नलाई प्रेरित गरौं । यसरी खड्कालेजस्तैै हामीले पनि छतमा मात्रै आग्र्यानिक तरकारी उत्पादन र फलफूल गार्डेन बनाए सहरको सुन्दरतासमेत बढ्ने थियो कि ?