धरान । सङ्घीय सरकारको बजेट वक्तव्यमा उल्लेखित धरान–धनकुटा सडक–खण्डअन्तर्गत ‘धरान–लेउती सुरुङ’ मार्गको प्रारम्भिक कार्य अगाडि बढेको छ ।
गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेटको २९६ नम्बर बुँदामा धरान–धनकुटा सडकको ‘धरान–लेउती सुरुङ’ मार्ग निर्माणका लागि बजेट व्यवस्था गरेको उल्लेख गरिएको थियो । तर, कति बजेट भनेर उल्लेख गरिएको थिएन । बजेट वक्तव्यअनुसार नै पहिलो चरणको सम्भाव्यता अध्ययन पूरा भएको छ ।
धरान–लेउती सुरुङ मार्गको लम्बाइ करिब साढे ४ देखि ५ किलोमिटरको हाराहारीमा हुनेछ । यदि यो सुरुङ मार्ग निर्माण सम्पन्न भएमा हाल प्रस्तावित गरिएकामध्ये सबैभन्दा लामो सुरुङ मार्ग हुनेछ । काठमाडौंको नागढुङ्गादेखि धाधिङको सिस्ने खोलासम्मको सुरुङ मार्गको लम्बाइ करिब अढाई किलोमिटर मात्रै छ । उक्त सुरुङ मार्गका लागि सरकारले बजेट व्यवस्था गरिसकेको छ ।
धरान–लेउती सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि काठमाडौँको परामर्शदाता टिएमएस इआइमभेन रेज जेभीसँग सम्झौता भइसकेको छ । उक्त सम्झौताअनुसार नै पहिलो चरणको अध्ययन पूरा गरी धरान उपमहानगरपालिकालाई यसबारे बिहीबार जानकारी गराएको छ ।
उक्त जेभीका प्रतिनिधि इन्जिनियर प्रवीनसिंह भण्डारीका अनुसार पहिलो चरणको सम्भाव्यता अध्ययन पूरा गरी त्यसबारे स्थानीय सरकारलाई जानकारी गराइएको बताए ।
‘सम्भाव्यता अध्ययनको पहिलो चरण सकिएको छ, चारदेखि पाँच किलोमिटर लम्बाइको हुने अनुमान गरिएको छ । साइट भिजिट भइसक्यो’ इन्जिनियर भण्डारीले भने, ‘डिटेल अनुसन्धान भइसकेपछि सबै कुरा भन्न सकिन्छ ।’ जेभीबाट खटिएका प्राविधिकहरूले लेउतीका सबै क्षेत्र र धरानका पनि सबै क्षेत्रको अध्ययन गरिसकेका छन् ।
‘उताको पनि होल रेन्ज र यताको पनि होल रेन्जको अध्ययन भएको छ’–उनले भने । धरानमा सेउती, सर्दु र आँपगाछी गरी पाँचवटा विन्दुहरूलाई सुरुङ मार्गको ‘केन्द्र’ का रूपमा हेरिएको छ । त्यसमध्ये पनि हालसम्म आँपगाछीलाई ‘अप्सन वान’ मा राखिएको छ । अन्य तीनवटा अप्सनचाहिँ सेउतीको आसपास र एउटा सर्दुको आसपास रहेको छ ।
‘आँपगाछीलाई अप्सन वानको रूपमा राखिएको छ, बेसक्याम्पभन्दा अलिक माथिबाट दोस्रो अप्सन राखिएको छ’ –धरान उपमहानगरपालिका योजना महाशाखाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठले भने । अब त्यहाँको भौगर्भिक अध्ययनलगायत अन्य अध्ययनहरू भने विस्तृतमा गर्न बाँकी नै रहेको छ । ‘अप्सन वानमा धरानको मुख्य खानेपानीको स्रोत सर्दु जलाधार भएकाले पनि त्यसको डिटेल स्टडी गर्नुपर्छ’– उनले भने ।
दोस्रो अप्सनका रूपमा रहेको बेसक्याम्पभन्दा माथिबाट लाने विषय चाहिँ भौगर्भिक दृष्टिकोणले एकदमै जोखिम छ । किनकि उक्त ठाउँ भूकम्पीय जोखिमका हिसाबले ‘मेन बाउन्ड्री थ्रष्ट (एमबीटी)’ भित्र पर्छ । ‘दोस्रो अप्सन भौगर्भिक दृष्टिकोणबाट मेन बाउन्ड्री थ्रस्ट भएकाले भूकम्पीय जोखिमका हिसाबले एक्टिभ फल्ट लाइन हो, यहाँ बढी चुनौती र बढी खर्च पनि लाग्छ’ –इन्जिनियर श्रेष्ठले भने ।
धरान उपमहानगरले भने धरानको खानेपानीको स्रोतका हिसाबले पनि आँपगाछीभन्दा सर्दुको किनारै किनार लाँदा बढी किफायती हुने भनेको छ । तर, सम्भाव्यता अध्ययन टोलीले भने पाँचवटै क्षेत्रबाट ‘जिओलोजिकल, हाइड्रोलोजिकल कन्डिसन’ अनुरूप बनाउन नमिल्ने भएमा मात्रै नयाँ अध्ययन सुरु गर्नेछ ।
धरान उपमहानगरका प्रमुख तिलक राईले धरानको खानेपानीको मुख्य स्रोत सर्दु–खर्दु भएकाले त्यसलाई संरक्षण गर्दै यस्ता आयोजना निर्माण गरिनुपर्ने धारणा राखे । ‘यस्ता आयोजना धरानेका लागि खुसीको कुरा हो, तर यहाँको खानेपानीको मुख्य स्रोतलाई पनि संरक्षण गर्नु जरुरी छ’ –उनले भने ।
केन्द्र सरकारले जोगवनीदेखि किमाथाङ्कासम्मको व्यापारिक मार्गलाई छोटो बनाउनका लागि पनि सुरुङ मार्गको आयोजना अगाडि सारेको हो । यो सुरुङ मार्ग निर्माण सम्पन्न भएमा करिब १० मिनेटमा लेउती पुग्न सकिन्छ । हाल बस यात्राबाट करिब डेढ घण्टा लाग्छ ।
सरकारसँग टिएमएस जेभीले गरेको सम्झौताअनुसार मुख्य सडक मार्गको आसपासबाटै सुरुङ मार्ग निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ । यो पहिलो चरणको सम्भाव्यता अध्ययन हो ।