सुनसरी । कोसीटप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूह निस्केर गाउँ पस्न थालेपछि कोसी क्षेत्रका सर्वसाधारण पुसको चिसोमा जाग्राम बस्न बाध्य भएका छन् ।

वर्षौंदेखि भौतिकसँगै मानवीय क्षति गर्दै आएको मकुना हात्तीको मृत्युपश्चात् हात्ती आतङ्क रोकिने अपेक्षा गरिए पनि त्यसो भने हुन सकेको छैन । ‘जाडो सुरु भएसँगै मध्यरातमा गाउँ पसेर हात्तीले घर भत्काउने र भण्डारण गरी राखिएको अन्नपात खाएर नष्ट गर्ने क्रम पुनः सुरु भएको छ’ कोसी गाउँपालिका–८ भण्टाबारीस्थित रेल्वे टोलका बिन्दा सरदारले भने, ‘मकुना हात्तीको मृत्युपछि हात्ती आतङ्क रोकिने हामीले अपेक्षा गरेका थियौं तर, त्यस्तो हुन सकेको छैन, कोसीटप्पुबाट निस्केर आउने हात्तीको समूहले पुनः दुःख दिन थालेको छ ।’

पछिल्ला केही दिनमा आरक्षबाट निस्केर आएको हात्तीको समूहले भण्टाबारीका स्थानीय बिन्दा सरदार, हलेसर सरदार, शिवु सरदारलगायतका गरी एकदर्जन घरमा क्षति पुर्याएको छ । हात्तीको समूहले घर तोडफोड गर्दै भण्डारण गरेर राखिएको पाँच क्विन्टल चामल, दुई क्विन्टल गहुँ खाएर नष्ट गरेको बिन्दा सरदारले जानकारी दिए ।

जिल्लाको दक्षिणवर्ती क्षेत्र अन्तर्गत पर्ने कोसी गाउँपालिका दलित, निम्नवर्गीय र पिछडिएको समुदायको बाहुल्यता रहेको क्षेत्र हो । यस भेगमा बसोबास गर्नेमध्ये ६० देखि ७५ प्रतिशत सर्वसाधारणको जीविका जनमजदुरीमा निर्भर छ । नियमित काम गर्दा जीविका चलाउन उनीहरूलाई समस्या नभए पनि काम नपाउँदा भने हम्मेहम्मे पर्दछ ।

कोसी  गाउँपालिका–८ स्थित भण्टाबारीका हलेसर सरदारले अर्काको खेतमा मजदुरी गर्दै १० मन धान भित्र्याएका थिए । जाडोयाममा केही काम नगरेपनि यसपटक परिवारको गुजारा चल्नेमा उनी विश्वस्त थिए ।

तर, आरक्ष क्षेत्रबाट रातको समयमा निस्केर आएको जङ्गली हात्तीले घरमा भण्डारण गरी राखिएको धान, चामल र गहुँ खाई नष्ट गरिदिनका साथै फुसको घर हात्तीले भत्काइदिँदा खान मात्रै होइन, बस्नसमेत समस्या भएको सरदारले गुनासो गरे । दिनभर आरक्षभित्र बस्ने हात्ती राति मानव बस्तीमा पसेर आतङ्क मच्चाउने गरेका छन् ।

‘जाडोमा काम पाइन्न, पाइहाले पनि गर्ने हिम्मत हुँदैन, दिनदिनै जाडो बढेको छ’ अर्का हात्ती पीडित शिवु सरदारले भने, ‘यस्तो अवस्थामा हामी गरिब कसरी बाँच्ने ?’ उनले हात्ती कतिखेर गाउँ आइपुग्ला भनेर कुर्नु पर्ने भएकाले जाडोमा गरिबलाई ढुक्क साथ बस्ने अवस्था नरहेको बताए । आरक्षबाट निस्केर आउने हात्तीको समूहले किसानले लगाएका मकै, केरा, गहुँ खेती नष्ट गर्नुका साथै घरमा भण्डारण गरी राखिएका धान, चामल, गहुँ खाँदै नष्ट गर्दै कोसी गाउँपालिका क्षेत्रका सर्वसाधारणलाई आतङ्कित बनाउँदै आएको छ ।
hatti-banda


पीडितले गरे चक्काजाम
हात्ती पीडितहरूले हात्ती आतङ्क रोक्न माग गर्दै मङ्गलबार बिहान चक्काजाम गरेका छन् ।

कोसीटप्पु वन्यजन्तु आरक्षका वार्डेन, प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रीसम्मलाई पटक–पटक समस्या समाधान गर्न आग्रह गरे पनि समस्या जस्ताको त्यस्तै रहेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

हात्ती पीडितहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोसी गाउँपालिका–८ भण्टाबारीमा आरक्ष प्रशासनविरुद्ध नाराबाजी गर्दै करिब एकघण्टा सडक अवरुद्ध गरेका थिए । पीडित पक्षलाई तत्काल क्षतिपूर्ति र हात्ती आतङ्क रोक्न सक्रियता बढाउने आरक्ष प्रशासनले प्रतिबद्धता जनाएपछि अवरुद्ध राजमार्ग खोलिएको थियो ।

सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि दबाव दिने उद्देश्यले बाटो अवरुद्ध गरिएको स्थानीय राजेश सरदारले बताए ।

आफूहरूलाई क्षतिपूर्तिभन्दा पनि हात्ती आतङ्क सदाका लागि रोकिनुपर्ने पीडितहरूको माग छ । वर्षौंदेखि हात्ती आतङ्क जारी रहे पनि रोकथामका लागि आरक्ष प्रशासनले ठोस कदम नचालेको स्थानीयको गुनासो छ । हात्ती पीडित पक्षले सम्बन्धित निकायलाई गुहार माग्दै थाकिसकेको बताउँदै कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले उनीहरूको माग जायज भए पनि माग पूरा गराउने तरिका सही नभएको बताए ।

‘वर्षौंदेखि हात्तीबाट सर्वसाधारण आतङ्कित छन्’ उनले भने, ‘यसर्थ हात्ती आतङ्क रोक्नुपर्छ भन्ने माग जायज हो तर, बाटो अवरुद्ध वा चक्काजाम गरेर समस्या समाधान हुँदैन ।’ उनले समस्या समाधानका लागि सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने र स्थानीय तहबाट गर्नुपर्ने वा हुनसक्ने सहयोग सहकार्य गर्न आफू सधैँ तयार रहेको बताए ।