धरान । नेपाल घुमघामका क्रममा खोटाङमा मृत्यु भएका हङ्कङवासी पत्रकार किसन राईको मृत्युको घटनाका विषयमा गम्भीर अनुसन्धान गर्न माग गर्दै परिवारले निवेदन दिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले पत्रकार राईको निधनका विषयमा प्रहरीले पहिलेदेखि नै अनुसन्धान गरिरहेको र परिवारले उजुरी दिएपछि अझ विभिन्न कोणबाट घटनाबारे अध्ययन गरिरहेको बताए । उनले भने, ‘यो घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेका छौं । घटनाका सम्बन्धित सबै पक्षलाई केलाउँछौं ।’

गत कात्तिक ७ गते ओखलढुङ्गाबाट खोटाङ हुँदै धरान आउने क्रममा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ को पङ्खु खोलामा हात,  खुट्टा भाँचिएको अवस्थामा राईको शव फेला परेको थियो । सँगै गएका साथीहरूले राई दिसा–पिसाब गर्न गएको र लामो समय नफर्किएपछि खोज्दा शव फेला परेको बताएका थिए ।

उनको भीरबाट खसेर मृत्यु भएको बताइएको थियो तर, परिवारले पोष्टमार्टम रिपोर्ट शङ्कास्पद देखिएको भन्दै थप अनुसन्धान गर्न माग गरेर निवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

मृतक किसन राईका छोरा अरिम राईले घटनास्थलको अवस्था, शवको प्रकृति र पोष्टमार्टम रिपोर्ट हेर्दा शङ्कास्पद देखिएको भन्दै अनुसन्धान गर्न माग गरेर निवेदन दिएको प्रहरीले जनाएको छ ।

उक्त निवेदनमा काठमाडौंको नागार्जुन नगरपालिका–२ घर भएका सशस्त्र प्रहरीका पूर्वएसपी प्रेमकुमार श्रेष्ठ, उनकी श्रीमती चन्द्रमाया श्रेष्ठ र धरान नगरपालिका–११ का मानबहादुर राना मगर मृतक राईसँगै यात्रामा रहेकाले उनीहरूलाई प्रहरी कार्यालयमा झिकाएर आवश्यक अनुसन्धान अघि बढाउनसमेत माग गरिएको छ ।

डिएसपी लम्सालले अनुसन्धानका क्रममा आवश्यक परे उनीहरूलाई झिकाएर सोधपुछ गरिने बताए । यसअघि मृतक राईका भतिजाले पनि निवेदन दिएको डिएसपी लम्सालले बताए ।

पत्रकार राईको मृत्युपछि प्रहरीले भीरबाट लडेर उनको मृत्यु भएको बताएको थियो । तर, परिवार र शुभचिन्तकहरूले घटनाको गहिरो अनुसन्धान नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।

परिवारले घटनापछि परिवार र प्रहरीलाई ढिलो खबर गरिनु, दिसा–पिसाब गर्न भीरमाथि गाडी रोकिनु, घटनाको राम्रोसँग अनुसन्धान नहुनु र घटनास्थल सुरक्षित नराखिनु जस्ता कारणले घटनालाई शङ्कास्पद बनाएको बताउँदै आएको छ ।

हङ्कङमा पत्रकारका रूपमा परिचित राईको मृत्युपछि केही व्यक्तिहरूले सामाजिक सञ्जालमा लेखेका विषयले पनि परिवार र आफन्तले घटनाबारे शङ्का बढाएको थियो ।

राई दुई दशकदेखि हङ्कङमा रहेर पत्रकारितासँगै जनजाति आन्दोलन र विभिन्न सामाजिक कार्यमा संलग्न थिए ।