यासोक । मङ्सिर महिना सुरु भयसँगै धान काट्न र बोक्न धमाधम हुन्छ । खोला खेतको धान थन्काउन कुम्मायक ५ का रुद्रबहादुर कटुवाललाई भ्याई–नभ्याई छ । १५ दिनदेखि १० मुरी धान र पराल एक ठाउँबाट अर्को ठाउँमा सार्न व्यस्त उनी आइतबार निकै हतारमा देखिन्थे ।

उनलाई सास फेर्नेसम्म फुर्सद थिएन । जीर्ण झोलुङ्गे पुलमा धान र परालको बोरा बोक्न उनी व्यस्त थिए । उनी जस्तै अन्य कृषकको पनि पीडा उस्तै थियो । कोही धान र परालको भारी बगरमा जम्मा गर्दै थिए । कोही पुलबाट बगरमा परालको भारी एकपछि अर्को गर्दै झार्दै थिए । आइतबार पाँचथर र तेह्रथुम जोड्ने लुवुघाटको निर्माणाधीन पक्क पुलमा देखिएको दृश्य हो यो । 

पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका जोड्ने पुल अलपत्र हुँदा पाँचथरका नागरिकले वर्षौँदेखि यस्तै सास्ती खेप्दै आएका छन् । खेतमा उत्पादन गरेको अन्न घर पुर्‍याउन ठुलै सङ्घर्ष गर्नु परेको कुम्मायक—५ का कृषक रुद्रबहादुर कटुवालको दुखेसो छ ।

‘पुल बन्छ अनि सुख पाइएला भन्ने आस थियो, तर बाह्र वर्षमा पनि खोला फर्किन्छ भन्ने उखान छ, तर पुल कहिल्यै बनेन चिन्तित हुँदै उनले सुनाए । लामो समयदेखि तमोर किनारमा बस्दै आएका उनी पुल निर्माण समयमै पूरा नभए पनि पुनः पाँचथर बसाइ सरे । तेह्रथुममा उत्पादन गरेको धान पुल तारेर घरमा पुर्‍याउनु पर्ने बाध्यतामा उनी जस्तै अन्य किसान छन् । 

पाँचथरका दर्जन बढी घरधुरीले तेह्रथुम जिल्लाको तमोर बेसीमा धान, मकै, गहुँ र आलु उत्पादन गर्दै आएका छन् । उत्पादन गरेको खाद्यान्न घरसम्म पुर्‍याउन छिमेकीको सहयोग लिएर पुल तार्नुपर्ने बाध्यता छ । ४५ रोपनी निजी जग्गा र अन्य सयौँ रोपनी खेती योग्य जमिनमा धान उत्पादन गर्दै आएका किसान ठेकेदारले पुलको काम अलपत्र पार्दा सास्ती भोग्दै आएका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका जोड्ने लुवुघाटको पक्की पुन निर्माण स्वच्छन्द निर्माण सेवा काठमाडौँले गर्दै आएको छ । २०६९ सादेखि सुरु गरेको योजना पटक—पटक म्याद गर्दै २०७८ सालसम्ममा पनि पुरा गर्न सकेको छैन । मूल्य अभिवृद्धि कर सहित १५ करोड ९० लाख २५ हजारमा २०६९ सालदेखि स्वच्छन्द निर्माण सेवा काठमाडौँले ठेक्का लिएको थियो ।

विभिन्न बाहान बाजी गर्दै पटक पटक म्याद थपेको निर्माण कम्पनीले ११ वर्षको अवधिमा पुल निर्माणको काम पूरा नगर्दा स्थानीय मारमा परेका छन् । कुल १ सय ५० मिटर पुलको लम्बाई मध्ये ५७ मिटर स्टिलको ट्रष्ट जडान हुने छ । हाल त्यो काम पुरै बाँकी छ ।

आर्थिक वर्ष २०७९ सालसम्ममा पुरा गर्ने  गरी काम गर्दै आएको साइट इन्चार्ज बिष्णु लामिछानेले बताए । योजनाको ८० प्रतिशत योजना पूरा भएको र बाँकी २० प्रतिशत यो वर्षसम्ममा सक्ने गरी काम भइरहेको लामिछानेको दाबी छ ।