सुनसरी । नेपाली उखान छ ‘बत्तीमुनी अँध्यारो’ । यो उखान सुनसरीका दक्षिणी भेगका कृषकको भोगाइसँग ठ्याक्क मेल खान पुगेको छ । नजिकै सप्तकोसी नदी बगे पनि सिंचाइको व्यवस्था नहुँदा कृषकहरूले आकासे पानीको भरमा खेती गर्नुपरेको छ ।

सिंचाइको व्यवस्था नहुँदा आकासे पानीको भरमा वर्षौंदेखि कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्जलगायतका कृषकहरू धान र गहुुँ खेती गर्न बाध्य भएका छन् । कोसी गाउँपालिका–८ भण्टाबारीका कृषक तस्लिम मियाँले भने, ‘सप्तकोसी नजिकै भएर के गर्नु ? खेतबारीसम्म पानी ल्याउने सिंचाइको सुविधा छैन । नहरको सुविधा नभएपछि बोरिङ वा आकासे पानीको भरमा खेती गर्दै आएका छौं ।’

कोसी गाउँपालिका–७ स्थित हरिपुरमा कृषकका खेतमा सिंचाइ गर्ने उद्देश्यले निर्माण गरेको नहरमा समेत वर्षौंदेखि पानी नआउँदा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भएको छ । लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरेको नहरमा वर्षाैंदेखि पानी नआउँदा आकासे पानीको भरमा खेती गर्दै आएको किसानहरूले गुनासो गरेका छन् ।

सप्तकोसी नदी नजिकैका स्थानीय तहका क्षेत्रमा खेती गरेर जीविका चलाउँदै आएका किसानहरूलाई सिंचाइको समस्या नयाँ होइन । स्थानीय कृषक सकलदेव यादवले भने, ‘यो क्षेत्र धान र गहुँ उब्जनीका लागि उर्वरभूमि मानिन्छ । आकासे पानी र बोरिङको भरमा  धान र गहुँ उत्पादन हुँदा त उर्वर मानिन्छ भने सिंचाइको व्यवस्था हुँदा झन् कति उत्पादन हुँदो हो ? तर, कसले हाम्रो कुरा सुन्ने ?’

उनले सिंचाइ सुविधा नहुँदा कृषकहरूले सोचेअनुसार धान र गहुँ उत्पादन गर्न नसकेको बताए । स्थानीय कृषकहरूले धान र गहुँ उत्पादन हुने उर्वर भूमि मानिएका कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्जलगायतमा सप्तकोसी नदी नजिकै भएकोले नहर निर्माण गरेर सिंचाइको व्यवस्था गरिदिन माग गरेका छन् ।

खेतीका लागि सिंचाइको सुविधा पु¥याउन नहर निर्माण भएमा कृषिजन्य उत्पादन दोब्बर हुने र कृषकहरू लाभान्वित हुने भएकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिहरूले नहर निर्माणका लागि पहल गरिदिन माग गरेका छन् । स्थानीय सरकारले कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखे पनि खेती लगाएको समयमा आकासे पानी पनि नहुँदा कृषकहरू तड्पिने गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका–८ का कृषक रहमुल अन्सारीले सिंचाइ सुविधा नभए पनि मनसुनले साथ दिएको बेला धान र गहुँ उत्पादन राम्रै हुने तर, खडेरी लागेको बेला भने मिहिनेत खेर जाने गरेको बताए । 

साविकका चारवटा गाविस मिलेर बनेको कोसी गाउँपालिकामा ५ सय हेक्टरमा धान र गहुँ खेती हुने गरेको कृषि सेवा केन्द्र लौकहीले जनाएको छ । ८ वटा वडा भए पनि ५ वटा वडामा मात्र उत्पादन हुने गरेको छ ।

०६५ साल भदौ २ गते आएको बाढीले साविकको श्रीपुर र पश्चिम कुसाहा गाविस अर्थात्कोसी गाउँपालिका–३ र ४ का जमिन बालुवाले भरिएपछि धान उत्पादन हुनसकेको छैन । वडा नं. ५ को केही हेक्टरमा मात्र धान उत्पादन हुने गरेको कृषि सेवा केन्द्र लौकहीका सुनिल साहले बताए ।