सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढ्दा हुने सम्भावित कटान रोकथाम गर्न कोसीको पूर्वी बाँध उच्चस्तरीय समितिले सक्रियता देखाएको छ ।

बर्सेनि वर्षायाममा कोसी नदीमा पानीको बहाव बढ्दा हुने सम्भावित क्षति रोकथाम गर्ने उद्देश्यले नेपाली पक्ष र भारतीय पक्षको उक्त उच्चस्तरीय समितिले कोसी ब्यारेजदेखि उत्तर १ देखि ३४ वटा स्पर तथा चतरादेखि तल १ देखि १५ गरी जम्मा ८८ वटा स्परमा भएको क्षतिको संयुक्त अनुगमन गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

विभिन्न समयमा सप्तकोसी नदीमा पानीको बहाव बढेर क्षति भएका स्परहरूको नेपाली र भारतीय पक्षसँगै प्राविधिकको टोलीले अनुगमन गर्दै मर्मत गर्ने उनको भनाइ छ । ‘कोसी ब्यारेजदेखि उत्तरका १ देखि ३४ वटा स्पर तथा चतरादेखि तल १ देखि १५ वटा गरी जम्मा ८८ वटा स्परमा भएको क्षतिको मर्मत गरी दुरुस्त राख्न प्राविधिकसहितको कोसीको पूर्वी बाँध उच्चस्तरीय समितिले निरीक्षण गरेका हौं’ –प्रजिअ यादवले भने ।

कोसी हेर्ने भारतीय पक्ष र नेपाली पक्षले प्राविधिकसहितको टोलीलाई लिएर अर्को वर्षाभन्दा अगाडि गर्नुपर्ने कामहरू के के गर्ने भन्नेबारेमा बुझ्न स्थलगत फिल्ड निरीक्षण गरिएको बताउँदै जलस्रोत तथा सिंचाइ विभागका उपमहानिर्देशक कृष्ण नेपालले बाढी आउनुभन्दा अगाडि गर्नुपर्ने कामहरू गर्न उच्चस्तरीय समितिले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने काम गरेको बताए ।

क्षति भएका स्परहरूको निरीक्षण गर्दै भविष्यमा हुनसक्ने सम्भावित डुबान तथा कटान रोक्न अवलोकनका क्रममा  पाइएअनुसारका कामहरू मे १५ सम्म सकिने कोसी उच्चस्तरीय समितिका प्रमुख सिकेलाल दासले जानकारी दिए । भारत सरकार कोसी प्रोजेक्ट अन्तर्गत रहेर नेपाली पक्षको सहयोगमा भारतीय पक्षले सम्भावित डुबान तथा कटान रोकथाम गर्दै वर्षायाममा हुने क्षति रोक्न सक्रियताका साथ काम थालेको उनको भनाइ छ ।

inaruwaaaa

नेपाली प्राविधिक राख्न माग
कोसी उच्चस्तरीय समिति अन्तर्गत रहेको उपसमितिमा नेपाली प्राविधिक नहुँदा दीर्घकालीन समस्या समाधान हुन नसकेको बताउँदै  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्पर्क सह–भूआर्जन कार्यालय कोसी योजना विराटनगरका सम्पर्क सह–भूआर्जन अधिकृत भविन्द्र घिमिरेले उच्चस्तरीय समितिमा नेपाली प्राविधिक राख्न आवश्यक देखिएको बताए । 

‘कोसी उच्चस्तरीय समिति अन्तर्गत रहेकोे उपसमिति भारतीय पक्षले बनाएको छ’ उनले भने, ‘जसमा प्राविधिकहरू हुन्छन् । तिनीहरूले फिल्ड भिजिट गर्दै बनाएको प्रतिवेदनअनुसार काम हुने गरेको छ । सो उपसमितिमा नेपाली प्राविधिक छैनन्, भारतीय पक्षको निमन्त्रणामा हामी वर्षमा एकपटक फिल्ड भिजिटमा गए पनि छोटो समयमा केही गर्न सक्दैनौं ।’

भारतीय पक्षले बनाएको उपसमितिमा नेपाली प्राविधिक नहुनुका साथै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय रहेको सम्पर्क सह–भूआर्जन कार्यालय कोसी योजना विराटनगर कोसी उच्चस्तरीय समितिको सदस्यसमेत नहुँदा कोसी समस्या समाधान गर्न समन्वय अभाव देखिएको उनको कथन छ ।

नेपाली पक्ष र भारतीय पक्षबीच देखिएका उल्लेखित अन्तर कम भएको अवस्थामा बर्सेनि देखिने कोसी नदी समस्या समाधानमा सहयोग पुग्ने अधिकृत घिमिरेको विश्वास छ ।

अनुगमन टोलीमा जलस्रोत तथा सिंचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा र कृष्ण नेपाल, कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाका प्राविधिक कृष्णप्रसाद खतिवडा, सुनसरी–मोरङ सिंचाइ आयोजनाका योजना प्रमुख मेलानन्द यादव, सुनसरीका प्रजिअ इन्द्रदेव यादव, प्रहरी प्रमुख सञ्जयसिंह थापा, सशस्त्र प्रहरी प्रमुख माधवप्रसाद पौडेल, भारतीयबाट विभिन्न योजनाका प्रमुख तथा प्राविधिकहरूलगायतको सहभागिता रहेको थियो ।