विराटनगर । ६ वर्षअघि थालिएको निर्माण कार्यले गति लिन नसकेपछि पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्ड स्थानीयका लागि ‘विकास’ होइन, ‘अभिशाप’ बनेको छ । 

निर्माण व्यवसायीको चरम् लापरबाही र राज्यको निरीहताका कारण धुलो र हिलोको साम्राज्यमा परिणत भएको सिङ्घीया खोला–नयाँबजार सडक खण्डमा स्थानीयको धैर्यताको बाँध टुटेको छ । पटक–पटकको आग्रह र आश्वासनबाट वाक्क भएका स्थानीय युवाहरू बिहीबार विराटनगर–रङ्गेली सडक अवरुद्ध गर्दै ठेक्का रद्द गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् । तीन वर्षमा सम्पन्न हुनुपर्ने करिब ६ किलोमिटर लामो यो सडक–खण्ड ६ वर्ष बितिसक्दा जम्मा २७ प्रतिशत मात्रै बनेको छ । “घाम लाग्दा धुलोको मुस्लोले आकाश ढाक्छ, पानी पर्दा सडक पोखरीजस्तै बन्छ । यहाँका बासिन्दाका लागि सास फेर्न पनि समस्या भएको छ” –एक स्थानीयले भने । 

“घरको झ्याल–ढोका २४ सै घण्टा बन्द गर्दा पनि धुलोबाट बच्न सकिँदैन । खाना खाने थालमा र सुत्ने ओछ्यानमा समेत धुलोको पत्र जमेको हुन्छ” कटहरीका स्थानीय गोकुल भट्टराईले भने, “अब त अति भयो । हामीले प्रमुख जिल्ला अधिकारीकै कार्यकक्षमा ठेकेदारका प्रतिनिधिसँग २२ पटकभन्दा बढी छलफल ग¥यौं । हरेक पटक ‘अब छिट्टै पिच हुन्छ’ भन्ने खोक्रो आश्वासन मात्रै पाइयो, तर काम एक इन्च अघि बढेन । अब यो ठेक्का तोडेर ठेकेदारलाई कालोसूचीमा राखी कडाभन्दा कडा कारबाही गर्नुपर्छ । नत्र यहाँका जनताले कहिलेसम्म यो दुःख सहने ?”

यो सडक–खण्डको पीडा धुलो र हिलोमा मात्र सीमित छैन । कटहरी–२ का पूर्व वडाध्यक्ष किशोर पाण्डेका अनुसार यो सडक औद्योगिक क्षेत्रसँग जोडिएकाले हजारौँ श्रमिकहरू यही बाटो हुँदै साइकलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । “हिलो र खाल्डाखुल्डीले गर्दा साइकलयात्रीहरू लडेर घाइते हुने घटना यहाँ सामान्य भइसक्यो । कतिपयको गम्भीर दुर्घटनामा परेर ज्यानसमेत गएको छ” उनले भने, “यो सडक अब विकास मार्ग नभई मृत्यु मार्ग बन्दैछ । तर, जनताको यो चित्कार सुन्ने कोही भएन ।”

यो सडक–खण्ड हुलाकी राजमार्गको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर लामो परियोजनाको एक हिस्सा हो । तीन वर्षभित्र चार लेनको फराकिलो सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७६ सालमा तीन अर्ब ६० करोड रुपैयाँमा गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि.लाई संयुक्त ठेक्का दिइएको थियो । 

जसअन्तर्गत सिङ्घीया खोलादेखि कटहरी–४ स्थित जुडीखोलासम्मको ६ किलोमिटर खण्ड निर्माणको जिम्मा सुवास श्रेष्ठ सञ्चालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनले पाएको थियो । ७६ करोड रुपैयाँ लागतको यो ठेक्का सम्झौता २०७६ कात्तिक २४ गते भएको थियो र २०७९ कात्तिक २३ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने थियो ।

 तर, तोकिएको समयमा काम सुरुसमेत हुन नसकेपछि पहिलो पटक म्याद थप गरियो । त्यसपछि पनि कामले गति नलिएपछि दोस्रो पटक थपिएको म्याद गत जेठ मसान्तमै सकिइसकेको हुलाकी सडक आयोजनाले जनाएको छ । 

६ वर्षको लामो अवधिमा केवल २७ प्रतिशत मात्र काम हुनुले ठेकेदार कम्पनीले राज्यको कानून र नागरिकको पीडालाई कसरी उपहास गरिरहेको छ भन्ने स्पष्ट हुन्छ ।

काममा चरम् बेवास्ता गरेर नागरिकलाई सास्ती दिएका मुख्य ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक सुवास श्रेष्ठ लामो समयदेखि सम्पर्कविहीन छन् । आयोजनाका प्रमुख युवराज पोखरेलले मुख्य ठेकेदार सम्पर्कमा नरहेको पुष्टि गरे । 

“दोस्रो पटक थपिएको म्याद पनि जेठ मसान्तमा सकिइसक्यो, तर प्रगति निराशाजनक छ” उनले भने, “यदि ठेकेदार कम्पनी सम्पर्कमा आएर काम सुचारु गर्दैन भने हामी कानूनी प्रक्रियाअनुसार ठेक्का तोड्नेगायतका विकल्प खोज्न बाध्य हुनेछौँ ।”