धनकुटा/ हिजोआज उनको दैनिकी डम्फु र टुङ्ना बनाउनमै बित्छ । दैनिक २ वटा डम्फु बनाउने गरेका ५० वर्षीय दावा वाङ्गेल मोक्तानका लागि टुङ्ना बनाउन भने बढीमा एक महिना र कम्तीमा १५ दिन समय लाग्ने गरेको छ ।

दोलखाको मागपौवा–२ मानेडाँडा घर भए पनि हाल व्यावसायिक रूपमा डम्फु र टुङ्ना उद्योग खोलेर काठमाडौं महानगरपालिका–२ पीपलबोट बौद्धमा व्यवसाय गर्दै आएका छन् । व्यावसायिक रूपमा डम्फु र टुङ्ना बनाएर बिक्री गर्दा वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए ।

युवा पुस्तामा लोप हुँदै गएको डम्फु र टुङ्ना बनाउने उद्योगलाई मोक्तानले व्यावसायिकता प्रदान गर्दा तामाङ समुदायमा संस्कृति बचाउने अभियानमा समेत टेवा पुगेको छ । आपा (बाबु) पेमा दोर्जे मोक्तानको प्रेरणा पाएका उनले डम्फु र टुङ्ना बनाउन थालेको ३५ वर्ष भइसकेको छ । उनका अनुसार एक महिनामा ५० देखि ६० वटासम्म डम्फु बनाउने गरेका छन् । उनले भने, ‘दिनमा दुइटा डम्फु बनाउन कम्तीमा तीन जना कामदार खट्नु पर्ने हुन्छ ।

सादा चराबिनाको डम्फु आकार हेरेर २५ सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्म मूल्य पर्छ । चरासहितको डम्फुलाई भने प्रतिगोटा आकार हेरेर ६ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ । तर, टङ्नाको मूल्य भने अलिक महँगो पर्छ ।’ तयारी अवस्थाको एउटा टुङ्ना १० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा आकार हेरीहेरी बिक्री हुने गरेको मोक्तानले बताए ।

उनका अनुसार ल्होछार र तामाङ समाजमा विवाहको समयमा डम्फु र टुङ्ना बढी मात्रामा बिक्ने हुने गरेको छ । उनले भने, ‘पछिल्लो केही वर्ष यता हरेकसाल ल्होछार र अन्य समयमा गरी ३ सय ५० वटादेखि १ हजार वटासम्म डम्फु बिक्री गर्दै आएको छु ।’  उनले सुरुसुरुमा १ हजार रुपैयाँदेखि १३ सयवटा रुपैयाँसम्ममा एउटा डम्फु तयार पार्ने गरेका थिए, तर पछिल्लो समयमा कच्चापदार्थ अभावको कारण डम्फुको मूल्य बढेको मोक्तानले बताए । 

०४६ सालमा कलेज अध्ययन गर्ने सिलसिलामा काठमाडौं छिरेका मोक्तानले सङ्गीत विषयमा स्नातकसम्मको शिक्षा पूरा गरेका छन् । सङ्गीत क्षेत्रमा डिप्लोमा गरे पनि तामाङ संस्कृतिको मोहले गर्दा उनी गीत सङ्गीतभन्दा पनि डम्फु र टुङ्ना बनाएर बिक्री गर्ने पेशामा वर्षौंदेखि निरन्तरता दिइरहेका छन् । अहिलेसम्म उनले तामाङ संस्कृतिमा प्रयोग हुने हजारौं डम्फु र टुङ्ना बनाएर बिक्री गरिसकेका छन् । मोक्तानले ०४१ सालदेखि नै डम्फु र टुङ्ना बनाउन थालेका थिए ।

०५१/५२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका मोक्तानले नेपाल तामाङ सांस्कृतिक घेदुङले निकालेको जिन्लाव, फइन, शैलुङ्गे जुहारी, ताम्वाला काइरन एल्बम्को १ दर्जन गीतमा सङ्गीत दिनुको साथै स्वरसमेत दिएका छन् । उनले ०५५ सालमा ‘दुःख सुःखला हो’ तामाङ भाषाको एल्बम् तीर्थ मोक्तानसँग मिलेर निकालेका छन् । गीत सङ्गीतमा पनि उत्तिकै चासो र दक्षता राख्ने मोक्तान पछिल्लो समयमा भने डम्फु र टुङ्ना बनाउने अनि बिक्री वितरण गर्ने व्यवसायी बनेका छन् ।

डम्फु बनाउन थालेपछि आफू बाध्य भएर तामाङ समुदायभित्रको ताम्वा स्वतःस्फूर्त ढङ्गले तामाङ संस्कृति सिकेको अनुभव सुनाउँछन् उनी । तर, डम्फु र टुङ्ना बनाउने पेशा सजिलो नभएको मोक्तानले बताए । डम्फु बनाइसकेर पनि राम्रो मूल्य नपाउँदा डम्फु उद्योग भनेजस्तो फस्टाउन नसकेको उनको गुनासो छ ।

उनले भने, ‘डम्फु बनाउने कच्चापदार्थ पाउन पनि गाह्रो छ । हेटौंडा, फर्पिङ, काभ्रेको तेमाल, त्रिशूली, रामेछापबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । काठमाडौं वरिपरि कुनै पनि स्थानमा डम्फु बनाउने कोइरालोको काठ नपाएपछि उपत्यका बाहिरबाट ल्याउने गरेको छु ।’  उनका अनुसार डम्फुको घेरो बनाउँदा १ हजारदेखि १३ सय रुपैयाँसम्म पर्ने गरेको छ भने बाख्राको छालालाई ६ सय रुपैयाँ पर्ने गरेको छ । एउटा बाख्राको छालाले सानो डम्फु २ वटा र ठूलो डम्फु एउटा मात्र बन्छ ।

बाख्राको छाला पाउन पनि धेरै गाह्रो भइरहेको उनले बताए । पछिल्लो समयमा मुस्लिम समुदायबाट बाख्राको छाला आपूर्ति भइरहेको बताए । डम्फु बनाउँदा चाहिने ३२ किला दिनमा एक जनाले तीन वटाभन्दा बढी डम्फुको बनाउन नसकिने र प्रतिकिलो मूल्य ५ रुपैयाँ पर्ने उनले बताए । साथै डम्फुको छेउमा लगाउने चाँपलाई प्रतिडम्फु १ सय ५० रूपैयाँदेखि २ सय रुपैयाँसम्म पर्ने बताए ।

डम्फु बनाउँदा घेरोका लागि काठ ५२ इञ्चदेखि ६० इञ्च, चौडाइ ३ इञ्च र मोटाइ आधा इञ्चको लाग्नेसमेत मोक्तानले बताए । डम्फु बनाउँदा एक जना सिकर्मीले प्रतिदिन २ वटाभन्दा बढी डम्फु बनाउन नसकिने मोक्तानको दाबी छ ।

उनले बनाएको डम्फु र टुङ्ना नेपालको तामाङ बाहुल्य भएका जिल्लाहरू र सिक्किम, दार्जिलिङ, आसाम, बर्मा, भुटान,  मलेसिया, सिङ्गापुर, हङ्कङ, वेलायतलगायत तामाङ समुदायको बसोबास रहेको विश्वभरका तामाङहरूले खरिद गर्ने गरेका छन् । डम्फु र टुङ्ना बनाउने पेशाबाट श्रीमती, तीन छोरा र एक छोरीसहित पाँच जनाको परिवारलाई सहजै धानिरहेको मोक्तानले बताए ।

pic-1