भद्रपुर । लामो समय बन्द रहेको झापाको भद्रपुर र भारतको गलगलिया सीमानाका खुलेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई माथिल्लो निकायबाट आएको आदेशका आधारमा सीमा नाका खुलाएको हो ।
कोरोना सुरु भएयता उक्त नाका ठप्प रहेको थियो । नाकाबाट प्रवेश गर्नेहरूको हकमा केही निश्चित सर्तहरू भने राखिएका छन् । जसमा कोरोना भाइरसविरुद्धको दुवै खोप लगाएको हुनुपर्ने वा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट र नेपाली नागरिकता हुनुपर्ने आधार भारतीय पक्षले राखेको छ । सोही आधारमा मात्रै प्रवेश गर्न दिइने भएको छ ।
एसएसबीले उक्त सर्तहरू पूरा गरेकालाई मात्रै भारतमा प्रवेश गर्न दिने भएको हो । कोभिडका कारण करिब २० महिनादेखि नाका ठप्प रहेको थियो । लामो समयदेखि बन्द रहेको नाका नेपाल सरकारले एक महिनाअघि खुला गर्ने निर्णय गरेको थियो । तर, सीमामा खटिएको एसएसबीले माथिको आदेश नआएको भन्दै सीमामा आवत–जावत ठप्प पारेको थियो ।
एसएबसीले सीमामा हेल्थ डेस्क राखेर पैदलयात्रीलाई मात्र प्रवेश गर्न अनुमति दिएको जनाइएको छ । हाल दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनलाई प्रवेश गर्न अनुमति नदिएको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २ झापाका गणपति रमेशकुमार पाण्डेले जानकारी दिए । भारतीय नाकाबाट प्रवेश गर्नेमाथि बढी निगरानी बढाइएको उनले जनाए ।
जिल्ला प्रशासन कार्यालय झापाले गत असोज १५ गते जिल्लाका सबै नाका खोल्ने निर्णय गरेको थियो । असोज १६ गते नै भद्रपुर सीमानाकामा हेल्थ डेस्क राख्न भद्रपुर नगरपालिका तयार भइसके पनि भारतीय पक्षले नमानेपछि नाका बन्द नै भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरका प्रमुख विभूराज दाहालले बताए ।
बिहीबारबाट हेल्थ डेस्क राखेलगत्तै दुवै देशका नागरिकलाई खोप कार्ड, पीसीआर रिपोर्ट, नागरिकता, मतदाता परिचय–पत्र देखाएर आवत–जावत गर्न दिएको उनले बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नाका सहज भएको बताए । सीमामा हेल्थ डेस्क राखेर नाका सहज गरिएको उनको भनाइ छ । सरकारले भद्रपुर नाकामा ३७ करोड लागतमा मेची पुल बनाएको छ । कोरोना महामारीका कारण लामो समयदेखि सीमानाका सञ्चालनमा नआउँदा यहाँका जनता मेची पुलको उपयोग गर्नबाट पनि बञ्चित भएका थिए ।
सरकारले कोभिड–१९ का कारण बन्द भएका भारतसँग सीमा जोडिएका सबै नाका खुलाउने निर्णय गरेपनि कार्यान्वयन नहुँदा सर्वसाधारणले सास्ती पाएका थिए । असोज ५ गते मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमानाका खुला गर्ने निर्णय गरेको थियो ।
झण्डै दुई वर्षअघिदेखि बन्द भएको नेपाल प्रवेशको पूर्वीद्वार काँकडभिट्टा र भद्रपुर नाका सञ्चालनमा नआउँदा सर्वसाधारणहरू किनमेल गर्न भारतीय बजारसम्म जान पाएका थिएनन् । भारतीय बजारमा दैनिक उपभोग्य सामान नेपालभन्दा निकै सस्तोमा पाइने हुनाले दैनिक हजारौँ मानिस भारतीय बजारसम्म पुग्ने गर्दछन् ।
नाका बन्द भएका कारण व्यापार प्रभावित भएकोे भन्दै क्षेत्रीय होटल व्यवसायी सङ्घ मेचीनगरको अगुवाइमा स्थानीयवासी तथा व्यवसायीहरूले प्रदर्शन नै गरेका थिए भने प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारलाई ज्ञापन–पत्र पठाएका थिए । नाका सहज नहुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परेको थियो ।
नेपाल–भारत सीमाको काँकडभिट्टा पुललाई सामान्य बनाउनको लागि पानीट्याङ्की व्यापार समितिले विरोध प्रदर्शनसमेत गरेको थियो । नेपाल सरकारले सिमाना खोल्ने निर्णय गरेपछि भारत सरकारले भारत–नेपाल सीमाको काँकडभिट्टा पुल पनि खोल्नुपर्ने माग राखी विरोध गरेका थिए ।