धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरू प्रशासनसँग बिदा स्वीकृत नगराई अध्ययनका लागि विदेशतिर हिँड्ने गरेको पाइएको छ ।
प्रतिष्ठान प्रशासनले केही दिनअघि मात्रै स्त्रीरोग विशेषज्ञ प्रा.डा. मोहनचन्द्र रेग्मीसहित पाँचजनालाई बर्खास्त गर्यो । तीनजनालाई विभागीय कारबाही गरी ग्रेड घटुवा गर्यो । जसमध्ये बिदा स्वीकृत नगराई र बिदा पूरा भए पनि नफर्किने शिक्षक तथा कर्मचारीहरूलाई बर्खास्त गरेको हो । जसमा पूर्व रजिष्ट्रारसमेत रहेका रेग्मी दुई वर्षको काज र बेतलबी बिदामा काठमाडौँको सिभिल अस्पताल गएका थिए । निर्देशक पदमा रहेका उनी काज र बेतलवी बिदा सकिएर पनि नफर्किए पछि उनलाई कार्यकारिणी समितिको निर्णयानुसार बर्खास्त गरिएको छ ।
उनी मात्रै हैन, उनको पत्नी लक्ष्मी सुवेदी पनि बर्खास्तमा परेकी छन् । हाल उनी बिदा स्वीकृत नगरी विदेशमा छिन् । प्रतिष्ठानमा अध्ययनलगायतको बिदामा जानका लागि कार्यकारणी समितिले बिदा स्वीकृत गर्नुपर्छ । यदि कार्यकारिणी समितिको बैठक बस्न नसकेको अवस्थामा शिक्षाध्यक्षको सिफारिसमा उपकुलपतिले पछि स्वीकृत गर्ने गरी बिदा दिने व्यवस्था छ । “बिदा लिनुपूर्व कार्यकारिणी समितिको बैठकले बिदा स्वीकृत गर्नुपर्छ” रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले भने, “त्यसो नगरी बिदामा जानेहरूलाई बर्खास्ती गरिएको हो । यस्तै विभागीय कारबाही गरिएको हो ।”
शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज खानका अनुसार प्रतिष्ठानको नियमावलीअनुसार शिक्षक कर्मचारीहरूले अध्ययन वा स्वअध्ययन बिदा लिनुपूर्व ४५ दिनअगाडि नै कार्यकारिणी समितिलाई जानकारी गराउनुपर्छ । बिदा लिन चाहने शिक्षक तथा कर्मचारीले सम्बन्धित आफ्नो विभागमा पहिला जानकारी गराउनुपर्ने र सहमति भएको हुनुपर्ने, त्यसपश्चात् त्यहाँबाट सहमति भएपछि डिन, शिक्षाध्यक्ष हुँदै कार्यकारिणी समितिमा पुग्ने व्यवस्था छ । तर, विगत तीन वर्षयतादेखि कार्यकारिणी समितिले अध्ययन तथा स्वअध्ययन बिदा स्वीकृत नगराएका कारण हाल समस्या देखिएको समाजका अध्यक्ष खानले बताए ।
प्रतिष्ठानले एकै पटक पाँचजनालाई बर्खास्त र तीनजनालाई विभागीय कारबाही गरेको छ । निवेदन दिएर पनि हाल बिदा स्वीकृत नभएका करिब ६ जनालाई प्रशासनले बोलाएको छ । बर्खास्तमा पर्ने थोरै छन् । जसमध्ये स्कूल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी असिस्टेन्ट प्रोफेसर डा. रेग्मी पत्नी सुवेदी परेकी छन् । अध्ययन बिदा स्वीकृत नगरेकी उनी हाल विदेशमा छिन् । अध्ययन बिदा तथा अन्य खालका बिदा स्वीकृत नगराई विदेश तथा देशकै विभिन्न स्थानमा जानेहरू थुप्रै छन् ।
बिदा स्वीकृत नभई जानेमा मानसिक रोग विभागका डा. मधुर बस्नेतसमेत पनि थिए । उनलाई पनि रजिष्ट्रारले स्पष्टीकरण सोधेपछि रजिष्ट्रार प्रा.डा. संग्रौला र डा. मधुर बस्नेतबीच विवाद उत्पन्न भएको थियो । “बिदाको विषयमा डा. बस्नेतले रजिष्ट्रारसँग यो किन गरिनस् यो गर भन्नुभयो” प्रतिष्ठान स्रोत भन्छ, “बिदा लेख्छन्, फुत्त हिँड्छन्, खटिएर स्वीकृत गरेर जानुपर्छ नि, त्यो भएर समस्या भयो होला ।”
तर रजिष्ट्रार प्रा.डा. संग्रौलाले भने बिदाको विषय नभई पदोन्नतिको विषय रहेकाले आफ्नो वशमा नहरेको काम आफूले गर्न नसक्ने जनाउँदा डा. बस्नेत आफूप्रति आक्रोसित भएको बताए । बीपी प्रतिष्ठानमा बिदा स्वीकृत नभई जानेमा झण्डै एकदर्जनभन्दा बढी शिक्षक, कर्मचारी छन् । प्रतिष्ठान स्रोतका अनुसार बिदाका लागि विभागबाट सहमति जनाए पनि स्वीकृत नभएका थुप्रै शिक्षकहरू रहेका छन् । ती शिक्षकहरू विभिन्न देशमा अध्ययनका लागि गएका थिए भने हाल फर्किसकेका छन् । कतिपयको बिदा हालै आएर स्वीकृत भएको छ भने केहीको अझै बाँकी रहेको छ । करिब पाँच छ जनाको बिदा अप्लाई हाल आएर रिजेक्ट हुने चरणमा छ । ती शिक्षकहरू पनि बिदामा गई अध्ययन गरी फर्किसकेका छन् ।
कतिपयको हालसम्म बिदा स्वीकृत नभएको पाइएको छ । जसमा हाडजोर्नी विभागका प्रा.डा. राजु रिजाल, डा. अमितविक्रम साह, डा. विष्णु पोखरेल, डा. अमित लिम्बू छन् । उनीहरू अध्ययन बिदाका लागि गएका थिए । यस्तै प्रसूतिकी डा. दीपा साह, प्रसूतिकै डा. सूर्य रिमाल पनि फेलोमा अध्ययनका लागि विभिन्न देश गएका थिए । उनीहरूले पनि बिदा दिएको भए पनि स्वीकृत नभएको प्रतिष्ठान स्रोत बताउँछ । डा. सूर्य रिमालको भने हालै बिदा स्वीकृत भएको छ । उनलाई ब्लाष्टकर्मीले सम्पर्क गर्दा प्रशासनका कारणले तत्कालीन समयमा बिदा स्वीकृत नभए पनि हालै बिदा स्वीकृत भएको बताए । बिदामा जानेहरू अधिकांश कार्यकारिणी समितिले बिदा स्वीकृत नगराउँदा समस्या भएको बताउँछन् ।
यस्तै प्रा.डा. प्रकाश पौडेल, सर्जरीका डा. निर्मल साह, नाक, कान घाँटीका दीपक पौडेल, मानसिक एपी नर्सिङ विभागकी डा. रीता पोखरेल, नर्सर गायत्री राईको पनि बिदा स्वीकृत नभएको पाइएको छ । यी अधिकांश डाक्टरहरू बिदा स्वीकृत नलिई एक वर्षअगाडि नै त्यसतर्फ गई पुनः प्रतिष्ठानमा फर्किसकेका छन् । उनीहरू कोही इटाली, कोही बङ्गलादेश, कोही अमेरिकालगायतका देशमा गएका थिए । नर्स गायत्री राई भने कर्णाली गएकी थिइन् ।
प्रतिष्ठानमा बिदा स्वीकृत नगराई जानेहरूलाई प्रतिष्ठानको ऐन, नियमअनुसार स्पष्टीकरण सोध्ने काम भइरहेको प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. संग्रौलाले जानकारी दिए । रजिष्ट्रार संग्रौलाले पनि पाँच छ जनाको फाइल रिजेक्ट भएकाले स्पष्टीकरण सोध्ने तयारी भइरहेको बताए । समाजका अध्यक्ष खानका अनुसार निमित्त उपकुलपति भएका प्रा.डा. सञ्जीव शर्मा, कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्की र अदालतबाट सफाइ पाई आएका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पालामा शिक्षक, कर्मचारीको फाइल गए पनि बिदा स्वीकृत भएन ।
“अहिले आएर कतिपय शिक्षक साथीहरूको ३० दिन, ३५ दिनमा अप्लाई गर्नुभयो भनेर फाइल रिजेक्ट गरेको छ रे” उनले भने, “३०–३५ दिनमा अप्लाई गर्नेको त्यो बेलै तपाईंहरू जान पाउनुहुन्न भनेर फाइल रिजेक्ट गर्नुपर्थ्यो । जबकि उनीहरू अलरेडी बिदा बसिसकेको छ । अहिले आएर त्यो भन्न मिल्छ ? उनीहरूले आआफ्नो गल्ती छुपाउनका लागि कारबाही गरिरहनु भएको छ ।” उनका अनुसार करिब पाँच छ जनालाई बोलाएको छ ।
प्रतिष्ठानमा विगतमा बिदा स्वीकृत नगराई जाने अनि आए पछि गराउने विगतमा बसेको चलनका कारण पनि त्यही प्रवृत्तिलाई पछिल्लो समय पनि अनुशरण गरिरहेको प्रतिष्ठान प्रशासन जनाउँछ । “बिदा स्वीकृत गर्ने निर्देशिका छ । त्यसको पालना कसैले गरेको देखिँदैन, नियमाअनुसार पहिला गरिएन” रजिष्ट्रार संग्रौलाले भने, “यो कुरालाई व्यवस्थित गर्न केही समय लाग्छ । त्यो पनि प्रतिष्ठानको हितलाई हेरेर गर्ने हो ।” रजिष्ट्रार संग्रौलाका अनुसार कार्यकारिणी समितिमा भएको फाइलका आधारमा कतिको बिदा मिल्ने र कतिपयको बिदा नमिल्ने अवस्था पनि रहेको छ । अध्ययनमा जानेहरूको तर्क चाहिँ के हुन्छ भन्ने जिज्ञासामा उनी भन्छन्, “हामीहरूले बिदा मागेका हुन्छाँै । कार्यकारिणीले निर्णय गरिदिँदैन । उताबाट हामीलाई बोलाइसक्छ । हामी जान्छौँ । कासले कहिले निर्णय गर्छ र रुँगीरख्नू भन्ने उहाँहरूको कुरा छ ।”
कारबाही के हुन्छ ?
बीपी प्रतिष्ठानका शिक्षक तथा कर्मचारी बर्खास्त तथा कारबाहीमा परे कस्तो कारबाही हुने व्यवस्था छ त ? यस विषयमा रजिष्ट्रार संग्रौलाले भने, “बीपी प्रतिष्ठानले भविष्यमा अयोग्य नठहर्ने गरी कारबाही गर्छ । उनीहरूले पाउने सुविधा पाउँछन् । स्थायी भएका छन् भने उनीहरूले पाउने सुविधाहरू सबै पाउने अवस्था रहन्छ ।”
नियमावलीले स्पष्टसँग ४५ दिन अगावै गराउनुपर्छ भन्ने विषय हुँदा हुँदै त्योभन्दा पछाडि गरिनु शिक्षकहरूको बदनियत भएको स्रोतको दाबी छ । “जबकि नियमावलीले नै स्पष्टसँग ४५ दिन अगाडि नै गरेर जानुपर्ने भन्ने छ” स्रोत भन्छ, “कतिको बिदा मिल्छ । कत्तिको बिदा नमिल्ने अवस्था छ ।” शिक्षक कल्याण समाजका अध्यक्ष सेराज खान भन्छन्, “टाइममा बुझाएन भने उतिबेलै रिजेक्ट गर्नुपर्छ । सबैले नियमको फलो गर्नुपर्यो शिक्षकले पनि प्रशासनले पनि ।”
बिदा माग्ने प्रक्रिया के हो ?
कुनै पनि शिक्षक तथा कर्मचारीले बेतलवी बिदा, अध्ययन बिदा, स्वअध्ययन बिदालगायत माग गर्दा सम्बन्धित विभागमा जानकारी गराउनुपर्छ । उक्त जानकारी गराएपश्चात् विभागका विभागीय प्रमुखको नेतृत्वमा एउटा छलफल बस्छ । त्यहाँ माइन्यूट गरिन्छ । सबै शिक्षकहरूले स्वीकृति जनाएको अवस्थामा बिदा दिने भनी गरिएको सहमतिको माइन्यूट गरिन्छ । त्यो माइन्यूट डिन कार्यालयकहाँ पुग्छ । डिन कार्यालयपश्चात् शिक्षाध्यक्षको कार्यालयमा पुग्छ ।
शिक्षाध्यक्षको कार्यालयबाट उपकुलपतिको कार्यालय हुँदै कार्यकारिणी समितिमा पुग्छ । कार्यकारिणी समितिले बिदाका लागि दिने नदिने, प्रतिष्ठानको हित हुने नहुनेदेखि लिएर सबै अध्ययन गरेपश्चात् बिदा स्वीकृत गरिन्छ । विभागीय प्रमुखको माइन्यूटमा सहमति भएको खण्डमा सम्बन्धित शिक्षकले ४५ दिनको समय अवधि राखेर कार्यकारिणी समितिलाई निवेदन चढाउँछ । सोही निवेदन र विभिन्न प्रक्रियाका आधारमा आएको सूचनालाई आधार मानेर कार्यकारिणी समिति (कास) ले निर्णय गर्छ । यदि ४५ दिनको अवधि नरहेको अवस्थामा कार्यकारिणी समितिले रिजेक्ट भएको मान्दछ ।
































