सुनसरी । २०७३ सालमा सुनसरी जिल्लाका ९५ प्रतिशत जनता शौचालयको पहुँचमा आएको भन्दै ठूलो तामझामका साथ सुनसरीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

तर, यहाँका धेरै घरपरिवार अहिले पनि शौचालयको पहुँचमा छैनन् । हतारमा सुनसरीलाई खुला दिसामुक्त घोषणा गरिएका कारण अहिले अधिकांश स्थानीय तहमात्रै होइन, सदरमुकाम इनरुवामा समेत आवश्यकता अनुसार शौचालयको अभाव छ । हुने खानेले पक्की वा कच्ची शौचालय बनाएर प्रयोग गर्दै आए पनि खासगरी जिल्लाका दलित तथा पिछडिएका वर्गका समुदाय बसोबास गर्ने क्षेत्रमा शौचालय अभाव रहेको देखिन्छ । 

तीमध्येका कतिपय घरपरिवार शौचालयविहीन छन् भने खुला दिसामुक्त घोषणा गर्न बनाइएका कतिपय शौचालय शौचका लागि प्रयोगमा आउन सकेका छैनन् । कोसी गाउँपालिका–८ स्थित मुसहरी टोलका अधिकांशको घरमा शौचालय बनाइएका छन् । तर, स्थानीयवासीले शौचालयमा शौच गर्नुका साटो घाँस, दाउरा राख्ने गरेका छन् । यो त एउटा उदाहरण मात्र हो, कोसी गाउँपालिका क्षेत्रमा मात्रै होइन, जिल्लाका अधिकांश ग्रामीण भेगको अवस्था यस्तै छ ।

खुला दिसामुक्त जिल्ला घोषणा गर्ने क्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा घरमा शौचालय बनाएका सुनसरीका दलित तथा पिछडिएका समुदाय शौचालय प्रयोगका बारे अझै अनभिज्ञ छन् । कतिपयले शौचालयमा पराल, दाउरा र विभिन्न घरायसी सामान राखेका छन् । कतिपय स्थानका शौचालय हेर्दा स्टोर रुम जस्तै छन् । कतिपय शौचालय जीर्ण छन् । मर्मत सम्भार गरेर प्रयोगमा ल्याउनुपर्छ भन्ने चेतनाको पनि कमी छ ।

जिल्लाको कोसी गाउँपालिकाको वडा नं. ६ र ७ उल्लेख्य मात्रामा दलित तथा पिछडिएका समुदाय बसोबास गर्ने क्षेत्र हो । यहाँ कतिपयले शौचालय बनाएका छैनन् भने निर्माण गरिएका धेरै शौचालय प्रयोगमा छैनन् । यस क्षेत्रका कतिपय सर्वसाधारणले घरमा भएका शौचालयमा गाई, भैंसीलाई आवश्यक पर्ने पराल, दाउरा लगायतका सामग्री राख्ने गरेका छन् ।

ग्रामीण क्षेत्रका सर्वसाधारण शौचालयमा शौच नगरी बाहिर खुला चौर तथा खेतमा दिसा पिसाब गर्दै आएको श्रीपुरका सरोज यादव बताउँछन् । चेतनाको कमी हुँदा गाउँघरका सर्वसाधारणले बाहिर दिसा पिसाब गर्ने र शौचालयमा विभिन्न सामग्री राखेको उनको भनाइ छ ।

आफ्नै पहलमा दलित बस्तीका केही व्यक्तिले जसोतसो शौचालय बनाए पनि आर्थिक अभावका कारण शौचालयमा ढोका र छानो हाल्न नसकेको यादवले बताए । ढोका र छानो नहुँदा असुरक्षित महसुस हुने गरेकाले खुला ठाउँमै शौच गर्दै आएको उनले बताए । ‘दलित बस्तीका सर्वसाधारण एकछाक खाएपछि अर्को छाक कसरी जोहो गर्ने भन्ने अवस्थाका छन्’ स्थानीय पवन सदाले भने, ‘आर्थिक अभावमा कतिपयले शौचालय बनाउन सकेका छैनन् ।

सरकारले बनाइदिएको शौचालय समेत जीर्ण छन् ।’ खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने होडबाजीमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले शौचालय बनाउँदै सुनसरीलाई खुला दिसामुक्त घोषणा गराए । तर, बनाइएका शौचालय प्रयोगमा छन् कि छैनन्, यसको सदुपयोग भयो कि भएन, अहिलेसम्म कसैले पनि अनुगमन गरेका छैनन् । सरोकारवाला सरकारी तथा गैरसरकारी निकायले अहिलेसम्म बनाइएका शौचालयको अनुगमन गर्न चासो देखाएको स्थानीयको भनाइ छ ।

कोसी गाउँपालिकाले स्वच्छ र सुन्दर समाज निर्माणमा योगदान दिन भन्दै शौचालयमा दिसा पिसाब गर्न पटक–पटक आग्रह गर्दै आएको छ । अटेर गर्नेलाई वडा कार्यालयबाट कुनै पनि सरकारी कामकाजका लागि सिफारिस नदिने निर्णय गरे पनि त्यो कार्यान्वयनमा आएको छैन ।  खुला ठाउँमा दिसा पिसाब गर्दा वातावरण दुर्गन्धित हुनुका साथै हावामार्फत् विभिन्न रोग फैलिने सम्भावना बढेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।

‘हामीले धेरै प्रयास गर्यौं, शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेतना विकास गराउन’ उनले भने, ‘तर, दलित समुदायमा चेतनाको कमी देखियो ।’ आर्थिक अभावका कारण शौचालय बनाउने हैसियत नभएका घरपरिवारलाई शौचालय बनाउन गाउँपालिका सहयोग गर्न तयार रहेको बताउँदै उनले खुला दिसामुक्त अभियानलाई थप कार्यान्वयन गराउन सबैको सहयोग आवश्यक रहेको बताए ।