सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा थुनुवाका रूपमा रहेका भोक्राहा नरसिंह गाउँपालिका–५ का हकिम साहको मृत्यु प्रकरण नयाँ बहसको विषय बनेको छ ।

गृह मन्त्रालयले हिरासतमा मृत्यु भएकाको अनुसन्धान गर्नका लागि छानबिन समिति गठन गरेपछि यो विषयले पनि नयाँ बहस सिर्जना गरेको हो । उनको हत्या वा आत्महत्या के हो भन्ने विषय अनुसन्धानपछि बाहिर आउला तर, तत्कालीन सिसिटिभी फुटेजको आधारमा प्रहरीले झुण्डिएर आत्महत्या गरेको भनेको छ ।

विष्णुकुमार शर्माको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहारमा मुद्दा चलाएपछि असोज १२ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो भने असोज २४ गते हिरासतभित्रै उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । इनरुवा नगरपालिकाकी एक क्षेत्री थरकी युवतीसँग प्रेमसम्बन्ध रहेकै कारण उनीमाथि अभद्र व्यवहारको मुद्दा चलाइएको थियो ।

मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न, कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यस्तो गरेमा अभद्र व्यवहारमा मुद्दा चल्ने भनी उल्लेख छ । जसले त्यसको उल्लङ्घन गर्छ, उसलाई १ वर्ष कैद, दश हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

उमेर पुगेको अवस्थामा युवायुवती राजीखुशी बिहे गरेमा कानूनतः कुनै पनि मुद्दा आकर्षित नहुने नाम उल्लेख नगर्ने शर्तमा इनरुवाका एक कानून व्यवसायीले बताए । ‘प्रहरीले कुन आधारमा अभद्र व्यवहार मुद्दामा ती युवालाई १२ दिनसम्म हिरासतमा राख्यो ?’ उनले प्रश्न गर्दै भने, ‘त्यो अनुसन्धानको पाटो हो । आजकल प्रहरीले एउटा सजिलो मुद्दा भेटाएको छ अभद्र व्यवहार । अभद्र व्यवहारमा मुद्दा लगाउन न त कुनै आधार चाहिन्छ, न त कुनै प्रमाण ।’ ती कानून व्यवसायीका अनुसार अभद्र व्यवहारको मुद्दा अदालतसम्म पनि नपुग्ने बताउँछन् । उनले भने, ‘यो त सिडिओबाट म्याद थप गर्नुपर्छ ।’

गलत कानून थोपरियो
थुनुवा भन्नाले अपराधको तहकिकात, जाँचबुझ वा पुर्पक्षका लागि अदालत, प्रहरी वा अन्य अधिकारीको हिरासतमा रहेको व्यक्तिलाई जनाउँछ । त्यसरी अनुसन्धानको सिलसिलामा राख्न पक्राउ गर्दा पक्राउ गर्नुपर्ने कारणसहितको पक्राउ पुर्जी, थुनामा राख्दा थुनामा राख्नुपर्ने कारणसहितको थुनुवापुर्जी दिइनुपर्ने सर्वोच्च अदालत न्यायमा पहुँच आयोग रामशाहपथ काठमाडौं २०७६ को थुनुवा एवम् कैदी अधिकारसम्बन्धी जानकारी पुस्तिकामा उल्लेख छ । यातना भोग्नु नपर्ने, कसुर प्रमाणित नभएसम्म दोषी नमानिने, मानवोचित व्यवहार पाउनुपर्ने उल्लेख छ । तर, प्रेमसम्बन्धका कारण भागेकै कारणले साहमाथि कानून थोपरिएको छ ।

अभद्र व्यवहार मुद्दामा १२ दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा रही आत्महत्या गरेको भनिएका साहको शरीरमा निलडाम देखिनुले हिरासतमा प्रहरीले उनलाई यातना दिएको बुझिएको छ । जबकि अभिभावकको मञ्जुरी विना उमेर पुगेका युवायुवती घर छाडेर भागेको अवस्थामा कानूनले संरक्षण दिनुपर्ने प्रावधान रहेको कानून व्यवसायी बताउँछन् । यस विषयमा सुनसरी प्रहरीले स्पष्टसँग बताउन चाहेन । फोन सम्पर्क गरी बुझ्दा उल्टै प्रहरीले पत्रकारमाथि नै प्रश्न तेस्र्याएको थियो ।

छानबिनको माग
मुस्लिम मुक्ति मोर्चा नेपाल प्रदेश १ ले सुनसरी प्रहरीको बन्दीगृहभित्र भएको मो. हकिम साह मृत्यु प्रकरण सम्बन्धमा उच्चस्तरीय छानबिनको माग गरेको छ ।

मोर्चाको बैठकले आक्रोसित भीड र प्रदर्शनले विष्णु शर्माको घरमा आक्रमण गरी आगो लगाउनुलाई गलत कदम भएको ठहर गर्दै यस प्रकरणमा वैज्ञानिक छानबिनलाई अन्यत्र मोड्न खोजिएको समेत आरोप लगाएको छ । ‘हकिमको मृत्यु हत्या हो कि आत्महत्या यसबारे छानबिनमा कम र सामाजिक सद्भावको कुरामाथि बढी फोकस गरेर घटनाको वास्तविकतासम्म कहिल्यै पुग्न सकिने छैन ।

घटना भएको दिनदेखि यस्तै खेल भइरहेको छ । घटनाक्रमलाई गौण विषय बनाउन ठूलै ग्राण्ड डिजाइनमा काम भइरहेको छ’ मोर्चाका प्रदेश १ इञ्चार्ज तथा पूर्वराज्यमन्त्री जाकिर हुसैनले भने, ‘जहाँ घटना भयो, त्यहाँका सबै मानिस सन्देहको घेरामा हुनु सामान्य  सिद्धान्त हो । त्यो भएर त्यहाँका प्रत्येक सुरक्षाकर्मीहरूमाथि छानबिन हुनुपर्छ ।’