खोलीटार, मोरङ ।  शरीरका प्रायः सबै भागमा मासु पलाएको छ । घाँटीदेखि पछाडि डाढमा मासुको डल्ला  झुण्डिएको छ । दाहीने हात, अनुहार र कानमा पनि मासुको डल्ला छ । मोरङको मिक्लाजुङ गाउँपालिका – ५ खोलीटारका ३५ वर्षीय सुवास राई मासुका डल्ला देखाउँदै भन्छन्, ‘आफूलाई आफैले हेर्दा, हिँडडुल गर्दा दिक्क लाग्छ ।मैले जस्तो पीडा अरू कसैले भोग्न नपरोस् म भगवानसँग कामना गर्छु  । मैले त कष्टकर तरिकाले जीवन यापन गर्दै आएको वर्षौँ भइसक्यो ।’


Subash Ria  (2)

उनको घाँटीदेखि कम्बरसम्म शरीरको विभिन्न भागमा मासुको पोका (डल्ला) छन् । अनुहारमा साना दाना, घाँटीदेखि पछाडि डाढसम्म झुन्डिएको अजङ्गको मासुका थैलाले राती सुत्दा र बस्दा पेलिएर असैह्य पिडा हुने गरेको उनले सुनाए ।

सुत्न बस्न नमिलेर छटपटिई–छटपटिई रात काट्दाको सकस बयान गरी साध्य नभएको उनी सुनाउँछन् । ‘छटपटीमा रात बित्ने गरेको छ । उत्तानो परेर नसुतेको वर्षौ भइसक्यो,’ उनले डाढमा झुन्डिएको मासुको ढल्ला देखाउँदै आफ्नो पिडा सुनाए, ‘खाटमा मज्जा सुत्न पनि मिल्दैन । कोल्टे परेर सुतेको वर्षौँ भइसक्यो । यसरी सुत्दा निद्रा पनि लाग्दैन । छटपटीमा रातदिन बित्ने गरेको छ ।’

Subash Ria  (5)

‘आफूलाई आफैले हेर्दा, हिँडडुल गर्दा दिक्क लाग्छ’ उनले भने, ‘मलाई देखेर अरूले फर्की फर्की कुरा नकाटुन्, बालबालिका नडराउन्, कसैले छिछी र दूरदूर नगरुन् भन्ने मलाई पनि लाग्छ । तर वर्षौंदेखि यो अथाह पीडाको सागरमा घरपरिवार तथा आफन्तको माया र स्नेहका कारण बाच्दै छु ।’

शरीरमा पलाएको मासु देखेर स्कुलका साथीहरूले समेत घृणा मानेपछि पढ्दापढ्दै सात कक्षा पढेर उनले आफ्नो पढाइको यात्रा टुङ्ग्याउनु पर्यो । ‘साथीहरु मलाई देखेर परपर भाग्न थाले, घिनाउन थालेको सहनै सकिनँ, त्यसपछि स्कुल जानै छाडेँ । सँगै पढेका साथीहरू अहिले कहाँ–कहाँ पुगिसके’, उनले गुनासो गरे । 

सुवासको पीडा साटासाट गर्ने, दुखेसो पोख्नु बाहेक अरू कुनै विकल्प छैनन् । ‘मेरो पीडा बुझ्ने यो संसारमा भगवान त छैन’ उनी भन्छन्, ‘आमा वित्नुभो, बुवा र भाइको साथ सहयोगले बाँचिरहेको छु ।’ एउटा सामान्य मानिस भएर बाच्ने रहर सुवासमा नहुने कुरै भएन ।

Subash Ria  (8)

‘भगवानले मलाई त्यो लायक नै बनाएनन्’ धिक्कार्दै उनी भन्छन् ‘शरीरको कुनै पनि ठाउँ मासुको डल्लो नभएको छैन । ढाडमा झुन्डिएको ठुलो डल्लो त म अडेस लाग्दा, सुत्दा पेलिएर घाउ भएको छ । कहिलेकाही रगत समेत आउँछ, तर सहेरै बस्नुपर्ने बाध्यता छ । कहिलेकाही त जीवन जिउनु भन्दा मर्नु नै ठिक लाग्छ, तर फेरी भाइ बुवालाई सम्झेर पीडा बिर्सनुको विकल्प छैन ।’

सुवासलाई घर वरपर तथा टोल छिमेकका प्रायः सबैले माया गर्छन् । स्थानीयवासीले माया, स्नेह तथा सहयोगले नै होला अहिलेसम्म उनी आफ्नो दुःख र पीडा बिर्सेर घरपरिवारको साथमा बाँचेका छन् । ‘ज्यानभरी फोकै–फोका छ, सानो तिनो काम बाहेक अरू केही गर्न सक्दैनन्,’ उनले भने, ‘गहु्रगों वस्तु बोक्न–उठाउन पनि सक्दैन ।’


‘उपचार पाए ठिक हुन्थे’ 

राईको सुरुवातमा अनुहारमा मासुको डल्ला आएको थियो । बिस्तारै मासुको डल्ला शरीर भरी फैलिएको छ । उनका ३० वर्षीय भाइ केबल राईको पनि दाहिने हातमा मासुको डल्ला आउन सुरु गरेको छ । तर, भाइको सुवासको जस्तो भरिभराउ मासुको थुप्रो झुन्डिएको छैन ।

बेलैमा उपचार गर्न सके शरीरमा मासुको डल्ला नफैलिने चिकित्सकहरूले बताउने गरेको उनीहरू सुनाउँछन् । आर्थिक अवस्था नाजुक रहेको राई परिवारमा उपचार गर्ने पैसा नहुँदा दाजुभाइ शरीर भरी मासुको डल्ला लिएर कष्टकर तरिकाले जीवनयापन गर्न बाध्य छन् ।

Dagu bhai

ज्याला मजदुरी गरेर परिवार गुजरा चलाउँदै आएका उनीहरू खेती किसानी गर्दछन् । ‘बिहान बेलुका दुई छाक खान मुस्किल छ । उपचार गर्ने त परको कुरा भयो,’ सुवासले भने, ‘ठुलो ठाउँमा दक्ष चिकित्सकलाई देखाउन पाए ठिक हुने थिए कि ।’

दिनदिनै सुवासको शरीर भरी मासुको डल्ला फैलिन थालेपछि स्थानीय युवाहरूको समूहले उपचारको लागि रकम सङ्कलन गर्न थालेका छन् । सुरुमा अनुहार र हातमा मात्र सुवासको मासुको डल्ला थियो । पछि शरीर भरी मासुको डल्ला फैलिएको देखेपछि सुवासको उपचारको लागि सहयोग सङ्कलन गर्न सुरु गरिएको स्थानीय युवा शङ्कर बजगाईँले बताए ।

‘सुवासको उपचार सम्भव रहने चिकित्सकहरूले बताएको कारणले हामीले सहयोग सङ्कलन गर्न सुरु गरेको छौँ,’ उनले भने, ‘सुवासको उपचारमा सबैले साथ सहयोग गर्न आग्रह गर्दछु ।’