धनकुटा । अघिल्लो वर्षको भारी वर्षाले प्रभावित धनकुटाका विभिन्न स्थानीय तहमा जोखिम मोलेर बसोबास गरिरहेका पीडित परिवारले क्षति भएको २ वर्ष बित्न लाग्दा पनि राहत पाउन सकेका छैनन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थका अनुसार ०७७ सालको जेठ महिनादेखि असोज ३० गतेसम्मको अविरल वर्षाका कारण जोखिममा परेका ७ वटा स्थानीय तहमा २ सय ३४ घरपरिवार छन् ।

उनले मौसमजन्य अनुदान प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम प्रभावित परिवारहरूलाई राहतको लागि सिफारिस भए पनि विविध कारणले उपलब्ध हुन नसकेको उनले बताए ।

राहतको लागि जिल्लाको धनकुटा नगरपालिकामा मर्मत, पुनःनिर्माण र पुनःस्थापना गरी १ सय १ घर, पाख्रीबास नगरपालिकमा १९ घर, महालक्ष्मी नगरपालिकामा १९ घरको लागि सिफारिस भएको प्रजिअ पन्थले बताए । त्यसैगरी सहिदभूमि गाउँपािलकामा ५३ घर, छथरजोरपाटी गाउँपालिकामा १४ घर, साँगुरीगढी गाउँपालिकामा ३१ घर र चौबिसे गाउँपालिकामा ९ घर गरी जम्मा २ सय ३४ घर परिवारको लागि सिफारिस भइसकेको पन्थले बताए ।

वर्षाको कारण गतवर्षदेखि नै बिपद्मा परेका र हालसम्म राहत नपाई पीडित बनेर बसेका परिवारले प्रबलीकरण वा मर्मत गर्नको लागि ५० हजार, पुनःनिर्माणको लागि ४ लाख, पुनःस्थापनाको लागि ४ लाख, बस्ती स्थानान्तरणको लागि ४ लाख र घडेरी खरिदको लागि ३ लाख पाउने गरी निर्णय भएको बताइएको छ ।

धनकुटा जिल्लामा मर्मत, पुनःनिर्माण, बस्ती स्थानान्तरण र घडेरी खरिदको लागि जम्मा राहत १० करोड ४१ लाख ५० हजार र अस्थायी आवासतर्फ ९० लाख ५० हजार अनुदान सिफारिस भएको प्रजिअ पन्थले स्पष्ट पारेका छन् । उनले राहतका लागि सङ्घीय सरकारबाट नगरपालिकाभित्र बसोबास गर्नेहरूको लागि ५५ प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम जम्मा गर्नुपर्नेमा प्रदेश सरकारबाट हालसम्म जम्मा नभएको बताए ।

त्यसैगरी गाउँपालिकामा सङ्घीय सरकारबाट ६० प्रतिशत, प्रदेश सरकारबाट ३० प्रतिशत र स्थानीय तहबाट १० प्रतिशत रकम जम्मा हुनुपर्नेमा प्रदेश सरकारबाट हालसम्म जम्मा नभएको कारण मनसुनजन्य अनुदान प्रभावित भइरहेको बताइएको छ । प्रजिअ पन्थले भारी वर्षाको कारण बस्ती स्थानान्तरण गर्नु पर्ने धनकुटा नगरपालिकाको वडा नं. ८ को याक्ते र महालक्ष्मी नगरपालिकाको वडा नं. ९ को खाल्डे कटहरेका बासिन्दालाई स्थानान्तरण गरिने नयाँ जमिनको भूगर्भविद्बाट परीक्षण वा अध्ययन गर्ने कार्य बाँकी रहेकाले पनि राहत कार्यान्वयनमा ढिलाइ भएको बताए ।

उनले भूगर्भविद् पठाइदिन विपद् जोखिम न्यूनीकरण प्राधिकरणलाई विज्ञ खटाइदिन जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिको तर्फबाट अनुरोध पत्र पठाइसकिएको बताए । प्रजिअ पन्थले पूर्णरूपमा बस्ती स्थानान्तरणमा परेको पीडित घर परिवारले कम्तीमा ३ लाख बराबरको मालपोत कार्यालयमा अनिवार्य रजिष्ट्रेशन पास गरेको सक्कल तमसुक पेश गरेको खण्डमा मात्र अनुदान रकमको प्रक्रिया अगि बढ्ने बताए ।

यता वर्षाको कारण पीडित बनेका धनकुटा–८ याक्तेका बस्ती नै स्थानान्तरण गर्नुपर्ने २४ घरका बासिन्दा ठूलो विपत्तिको सामना गरेर बसिरहेको वडाध्यक्ष सुमन आठपहरियाले बताए । उनले हालसम्म स्थानीय २४ घरका बासिन्दाहरू ठूलो पानी परेको बेला गाउँ नै छाडेर अन्यत्र गएर त्रिपाल टाँगेर वा आफन्तकोमा गएर बस्ने गरेको वडाध्यक्ष आठपहरियाले बताए ।

सरकारले बस्ती स्थानान्तरणको लागि दिने भनेको अनुदान चाँडै आएको खण्डमा पीडित परिवारको लागि ठूलो उद्धार हुने अध्यक्ष सुमनले आशा गरेका छन् ।

उता  महालक्ष्मी नगरपालिका वडा नं. ९ खाल्डे कटहरेका ३९ घरका स्थानीय बासिन्दाले पनि पानी परेको बेला जोखिम मोलेर रात काट्ने गरेको वडाध्यक्ष बोधनाथ काफ्लेले बताएका छन् । भारी वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम त्यस भेगमा उच्च रहेको काफ्लेले बताएका छन् ।