सुनसरी । सरकारले आरक्षका जनावरको आक्रमणबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्तिबापत रकम दिने व्यवस्था गरेको छ । तर, कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर गाउँ पस्ने हात्ती, अर्नालगायतका जनावरको आक्रमणबाट पीडित भएकाहरूले समयमै क्षतिपूर्ति रकम पाउँदैनन् ।
जनावरको आक्रमणबाट घाइते, मृत्यु हुनेका परिवार, घर भत्किएका वा बाली नष्ट गरिएका जस्ता भौतिक क्षति भएका अधिकांश पीडितले समयमै रकम नपाउँदा उनीहरू समस्यामा पर्ने गरेका छन् । त्यसमध्येको एउटा उदाहरण हो, अनमोल मुखियाको मृत्यु घटना ।
कोसी गाउँपालिका–३ पश्चिम कुसाहाका अनमोल मुखिया स्थानीय नदी र पोखरीमा माछा मार्ने गर्थे । चार सन्तानका बाबु उनले दिनभर मारेको माछा हाटबजारमा बेचेर नौ सदस्यीय परिवारको गुजारा चल्थ्यो । दुई वर्षअगि स्थानीय खहरे खोलामा माछा मार्दै गर्दा एक्कासि आरक्षबाट आएको जङ्गली हात्तीको आक्रमणबाट अनमोलको घटनास्थलमै ज्यान गयो । अनमोलका दुई छोरा र दुई छोरी छन् ।
जेठो छोरा १२ वर्षका रुदल मुखिया कक्षा ५ र अर्को ११ वर्षीय छोरा शङ्कर मुखिया कक्षा ४ तथा छोरीहरू ६ वर्षीया सोनावती कुमारी र ७ वर्षीया लक्ष्यकुमारी स्थानीय सरकारी विद्यालयमा कक्षा ३ मा अध्ययनरत छन् । श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने तीजकै दिन श्रीमान् गुमाउँदाको क्षण अनमोलकी श्रीमती ललिता मुखियाले अझै भूल्न सकेकी छैनन् । त्यो दिन जीवनकै कालो दिन भएको सम्झिँदै ललिता भन्छिन्, ‘खेतबारीमा काम गर्दै थिएँ, गाउँकै दिदीले श्रीमान्को मृत्यु भएको दुःखद् खबर सुनाइन् । त्यसपछि हाम्रो परिवारको कष्टको दिन सुरु भयो ।’
परिवारको भरणपोषणका लागि माछा मार्ने पतिको मृत्युपश्चात् सङ्कटका दिन सुरु भएको बताउने ललिता अहिले एक छाक टार्नसमेत धौधौ परेको गुनासो सुनाउँछिन् । ‘यस्तो अवस्थामा कसरी छोराछोरी पढाउनु ?’ उनी भन्छिन्, ‘वृद्ध ससुराको मजदुरीबाट प्राप्त आम्दानीले खान पनि हम्मेहम्मे छ । क्षतिपूर्तिको लागि जाँदा जहिल्यै फर्काइदिने गर्छन् ।’ उनी दुईवर्षदेखि कोसीटप्पु वन्यजन्तु आरक्षको कार्यालय धाउँदा धाउँदा आजित भइसकेको बताउँछिन् ।
वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०७५ मा हात्ती आक्रमणबाट मृत्यु भएको परिवारलाई १० लाख क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । यसैगरी सख्त घाइते भएकालाई सम्पूर्ण उपचार खर्च र सामान्य घाइतेलाई २० हजारसम्म उपचार खर्च दिने व्यवस्था रहेको आरक्षका वार्डेन अशोककुमार राम बताउँछन् । त्यस्तै घरगोठ भत्काएमा, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पु¥याएमा १० हजारसम्म क्षतिपूर्ति दिने गरिएको आरक्षको कार्यालयले जनाएको छ । तर, अनमोलको परिवारले हालसम्म क्षतिपूर्ति पाउन सकेको छैन ।
जवान छोरा गुमाएपछि मुखिया परिवारले सहारा र अनमोलका छोराछोरीले अभिभावक गुमाएका छन् । अनमोलको निधनसँगै परिवार पाल्न समस्या भएको ललिता बताउँछिन् । ३२ वर्षीय छोरा गुमाएका अनमोलका ६४ वर्षीय बुबा दुःखीलाल मुखिया जसोतसो परिवार पालेको बताउँछन् ।
‘एक्लो बूढो ज्यानले के गर्नु ? जेठो छोराको मृत्युले परिवारको जीविका चलाउनुदेखि कलिला उमेरका छोराछोरीलाई शिक्षादीक्षा गर्न सकिने अवस्था छैन’ मुखिया भन्छन्, ‘छोराछोरीलाई हुर्काई बढाई गरेर बुढेसकालमा सुख प्राप्त गर्न लेखेको रहेनछ, भाग्यमा ।’ हात्ती आक्रमणबाट छोराको मृत्युपछि अहिले परिवारको सबै जिम्मेवारी वृद्ध दुःखीलालको काँधमा आएको छ ।
ललितालाई सन्तान कसरी हुर्काउने भन्ने चिन्ताले सताएको छ । उनी भन्छिन्, ‘माछाबाट आएको आम्दानीले गुजारा चल्थ्यो, माछा मार्न जाँदा श्रीमान्लाई हात्तीले मारिदियो । श्रीमान्को निधनले छोराछोरीको भविष्य अन्धकारमय भएको छ ।’
आरक्षको हात्तीको आक्रमणबाट मान्छेको मृत्यु भएकोमा १० लाख क्षतिपूर्ति पाउने प्रावधान भए पनि हालसम्म क्षतिपूर्ति नपाएको अनमोलका बाबु दुःखीलालले गुनासो गरे । ‘दुईवर्षदेखि आरक्ष कार्यालय धाइरहेको छु’ उनले छोराको मृत्यु दर्ता प्रमाण–पत्र देखाउँदै भने, ‘जहिल्यै जाँदा कुरै नसुनी फर्काइदिने गर्छन् । बुढेसकालमा आरक्ष कार्यालयसँगै अन्य कार्यालय कुद्दाकुद्दै हैरान छु तर, क्षतिपूर्तिको नाममा केही पाएको छैन ।
आरक्ष स्थापना भएको ४६ वर्षमा समेत समस्याको समाधान नभएको बताउँदै कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी आरक्षले दिगो समाधान खोज्नुको साटो व्यवस्थापनको नाममा अनावश्यक रकम खर्च गरेको बताउँछन् । आरक्षको घेराबाराको नाममा राज्यको पैसा दुरुपयोग मात्र भएको दाबी गर्दै उनले आरक्षलाई निकुञ्जमा परिणत गर्नुको विकल्प नभएको बताए ।
हात्ती आक्रमणबाट घटनास्थलमै ज्यान गुमाएका अनमोल मुखियाका परिवारलाई कोसी गाउँपालिकाले त्यतिबेलै २५ हजार सहयोग गरेको बताउँदै अध्यक्ष अन्सारीले आरक्षको कार्यालयबाट पीडित परिवारले पाउनुपर्ने क्षतिपूर्तिको लागि पहल गर्दै आए पनि पाउन नसक्नु दुःखको कुरा भएको बताए ।
गरिब र कमाउने मान्छेसमेत नभएकोले पीडित परिवारलाई गाउँपालिका र आफ्नो व्यक्तिगत तर्फबाट समय समयमा आवश्यक सहयोग गर्दै आएको अध्यक्ष अन्सारीको भनाइ छ । आरक्षका वार्डेन राम भने अनमोलको मृत्यु आरक्षभित्रै भएकाले क्षतिपूर्ति पाउन नसकेको बताउँछन् । उनी भन्छन्, ‘आरक्षभित्रै मरेकालाई क्षतिपूर्ति दिने प्रावधान छैन । पहिला–पहिला मृतकका सन्तानलाई छात्रवृत्ति दिने प्रावधान थियो, अहिले त्यो पनि छैन ।’