विराटनगर । सुनसरीको इटहरी–४ आर्मी क्याम्पछेउमा दुई महिनाअगाडि आएको जङ्गली निलगाईले आतङ्क मच्चाएको छ ।

स्थानीय कृषक मिफुङ लिम्बूले चार बिघा क्षेत्रफलमा लगाएको कृषि फार्ममा निलगाईले आतङ्क मच्चाएको हो । निलगाईले बाली नष्ट गरेका कारण मिहिनेत नै खेर गएको कृषक लिम्बूले बताए । ‘मेरो कृषि बगानमा निलगाई आएको दुई महिना भयो । बगानमा लगाएको लिच्ची, कुखुरा, बङ्गुर, माछा खेती नष्ट गर्न लागिसक्यो’ उनले भने, ‘यस विषयमा सम्बन्धित निकायहरूलाई भनिसके पनि नियन्त्रणका लागि कसैले पहल गरिदिएको छैन ।’

लिम्बूका अनुसार बगानमा असार २२ गते दिउँसोतिर निलगाई आएको थियो । ‘निलगाई आएपछि सुत्न पनि सकेको छैन । बगानमा पनि जान सकिरहेको छैन’ उनले भने, ‘अहिले बगानमा गयो भने निलगाईले आक्रमण गर्ने त्रास छ ।’ निलगाईको डरका कारण कुखुरा, माछा र बङ्गुरलाई चारो हाल्न जान सक्ने अवस्था नभएको उनले बताए ।

‘बगानमा रहेको निलगाईलाई नियन्त्रणमा लिएर लैजान वन कार्यालयका वन अधिकृतलाई पनि भनिसकेँ, यहाँबाट निलगाई लैजान सम्बन्धित निकायले पनि आलटाल गर्दै आएको छ’–उनले भने । निलगाई बगैंचामा आएदेखि बगानमा रहेको घाँस काट्न पनि जानसक्ने अवस्था नभएको उनले बताए ।

‘घरपालुवा जनवारहरूलाई दैनिक घाँस दिनुपर्ने अवस्था हुन्छ । त्रासको कारणले निलगाई आएदेखि घाँस पनि काट्न जानसक्ने अवस्था छैन’–उनले भने । निलगाईको आतङ्कले बगानमा लगाएको लिच्चीको बिरुवाहरू पनि नष्ट गरेको उनले बताए ।

नियन्त्रणमा नलिई उद्धार टोली फर्कियो
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागका टोली केही दिनअगाडि आएर निलगाईलाई उद्धार गर्ने प्रयास गरेको थियो । उक्त टोलीले विराटनगरको एयरपोर्टबाट दुइटा निलगाई उद्धार गरेर लगेको थियो भने लिम्बूको बगंैचाभित्र रहेको निलगाई उद्धार गर्न नसकेपछि टोली त्यसै फर्किएको छ ।

‘निलगाई निकाल्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागका विज्ञसहितको टोली पनि घटनास्थलमा पुगेको थियो’ डिभिजन वन कार्यालय सुनसरी प्रमुख दानबहादुर श्रेष्ठले भने, ‘निलगाईलाई उद्धारका लागि पायक नपरेको टोली फर्किएको थियो । इटहरीमा निलगाई भएको बगैंचाको दुईतिर पोखरी पर्दो रहेछ । जसले गर्दा उद्धारमा समस्या भएको जानकारी विभागदेखि आएको टालीले जानकारी दिएको थियो ।’

पोखरीमा पानी घटेपछि पुनः विभागबाट आएको टोलीले निलगाईको उद्धार गर्ने उनले बताए । निलगाईको उद्धारका लागि पहल गर्दै आएको उनको भनाइ छ ।