सुनसरी । चोरी भएका मोटरसाइकल न्यूनमात्रामा मात्रै फेला पर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विगत तीनवर्षको अवधिमा जिल्लाका विभिन्न स्थानबाट ३ सय १५ वटा मोटरसाइकल चोरिएको निवेदन परेको छ । तर, ४० वटा मोटरसाइकल मात्रै फेला परेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा १ सय ३ वटा मोटरसाइकल चोरीको निवेदन परेकोमा १३ वटामात्र फेला परेका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा ५९ वटा मोटरसाइकल चोरीको निवेदन परेकोमा ९ वटा फेला परेको देखिन्छ भने आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका विभिन्न स्थानबाट १ सय ५३ वटा मोटरसाइकल चोरिएको निवेदन परेकोमा १८ वटा मात्र फेला परेको सुनसरी प्रहरीको तथ्याङ्कले देखाउँछ ।

मोटरसाइकल हराएकोबारे प्रहरीमा उजुरी गरे पनि खोजीका लागि प्रहरीले सहयोग नगरेको कोसी गाउँपालिकाका जोगिन्दर उराँवले गुनासो गरे । इनरुवाबाट एक वर्षअघि पार्किङमा राखेको बेला मोटरसाइकल चोरिएको बताउँदै उनले भने, ‘मोटरसाइकल हराएपछि तत्कालै प्रहरीमा निवेदन दिएँ तर, प्रहरीले खोजीका लागि चासो देखाएको पाइएन ।’

जिल्लाबाट विभिन्न समयमा चोरिएका मोटरसाइकल प्रायः भारत वा पहाडीभेगमा लगेर बेच्ने गरिएको प्रहरीको अनुमान छ । पछिल्लो समयमा जिल्लामा मोटरसाइकल चोरीका घटना बढेको बताउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी नगेन्द्र कार्कीले मोटरसाइकल चोरीलाई न्यूनीकरण गर्न प्रहरीले सतर्कता अपनाएको बताए ।

‘चोरिएको मोटरसाइकलको नम्बर प्लेट, इञ्जिन र रङसमेत हेरफेर गरिदिने गरिएको छ’ उनले भने, ‘त्यसैले बरामद भएका कतिपय मोटरसाइकल सवारी धनी स्वयम्ले पनि चिन्न सक्दैनन् ।’ ‘प्रहरीमा आएका उजुरीका आधारमा भारतीय प्रहरीसँग समन्वय गरेर खोजेका कारण चोरिएका केही मोटरसाइकल धनीलाई जिम्मा लगाएका छौं’–डिएसपी कार्कीले भने ।

यसरी चोरिन्छ मोटरसाइकल
होटल, पार्टी प्यालेस, अस्पताल तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङबाट मोटरसाइकल चोरी हुने गरेको सुनसरी प्रहरीको अनुसन्धानले देखाएको छ । चोरी गर्ने गिरोहले विभिन्न स्थानबाट पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर मास्टर चाबी प्रयोग गर्ने वा सिधै तार तोडेर चोरी गर्ने गरिएको प्रहरीको भनाइ छ ।

‘चोरी गर्ने गिरोहले चोरी गर्नुपूर्व मोटरसाइकल र चालकको गतिविधि निगरानी गर्ने गर्दछन्’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले भने, ‘उपयुक्त समयमा उनीहरूले विभिन्न तरिका अपनाएर चोरी गर्छन् । चोरीपश्चात् वर्कसपमा गएर मोटरसाइकलको स्वरूप परिवर्तन गर्दै नम्बर प्लेट फेरेर बिक्री गर्ने वा आफैले समेत चलाउने गरेका छन् ।’

चोरी गर्ने समूहले आकर्षक र बढी माग भएका मोटरसाइकल नै चोरी गर्ने देखिएको छ । होटल वा लजमा जोडी जाँदा र असुरक्षित पार्किङ गरेको, हेण्डल लक नगरेका मोटरसाइकलमा उनीहरूको ध्यान जाने गरेको छ ।