सुनसरी/ हजारौंलाई घरबारविहीन बनाउने गरी बाढी गएको आज (बुधबार) १३ वर्ष पूरा भएको छ । बाढीपीडितहरू पूर्वावस्थामा फर्किसके पनि भदौ २ लाई उनीहरूले कालो दिन रूपमा मनाउने गरेका छन् ।
१३ वर्षअघि अर्थात् २०६५ भदौ २ गते सप्तकोसी नदीले पश्चिम कुसाहा तटबन्ध भत्काउँदा सुनसरीको तत्कालीन पश्चिम कुसाहा, हरिपुर, श्रीपुर, मधुवन र लौकही गाविसका हजारौं परिवार विस्थापित भएका थिए भने अर्बौंको क्षति भएको थियो । खेतीयोग्य हजारौं बिघा जग्गा बालुवामय बनाउने गरी आएको बाढीले हजारौं सर्वसाधारणलाई बेरोजगार बनायो तर, कोसी बाढीको १३ वर्ष पुगे पनि पीडितहरूले राज्यबाट अहिले पनि सुविधा पाउन सकेका छैनन् ।
के गर्दैछ स्थानीय सरकार ?
२०७२ सालमा संविधान निर्माणपश्चात् सङ्घीय संरचनाअनुसार स्थानीय, प्रादेशिक र सङ्घीय चुनावमा विभिन्न राजनीतिक दलहरू बाढीपीडितको समस्यालाई मुख्य एजेण्डा बनाएका थिए । तर, चुनावी प्रतिबद्धताअनुसार निर्वाचित जनप्रतिनिधिहरूले समेत बाढीपीडितका लागि राहत बारे खासै चासो नदेखाउँदा पीडित निराश छन् ।
उनीहरूको सामूहिक गुनासो छ– ‘हाम्रो पीडालाई भोट माग्ने माध्यम मात्र बनाइयो ।’ कोसी गाउँपालिका–३ का तस्लिम मन्सुरीले सरकारले घोषणा गरेअनुसार राहत नदिएको बताए । उनले आफूहरूले ५० हजारबाहेक राहतका नाममा अरू केही पाउन नसकेको बताए ।
३७ सय बिघा खेतीयोग्य जमिन बाढीले प्रभावित गरेकोमा हालसम्म २१ सय बिघाको मात्र क्षतिपूर्ति पाएको कोसी बाढी पीडित सङ्घर्ष समितिले जनाएको छ । अझै १६ सय बिघाको क्षतिपूर्ति पाउन बाँकी रहेको कोसी बाढी पीडित सङ्घर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डल बताउँछन् । कोसीबाट प्रभावित र घर भत्किएका ३३ सय ७० परिवारलाई घर बनाउनका निम्ति काठ दिने घोषणा गरिए पनि अहिलेसम्म १६ सय परिवारले मात्रै काठ पाएको उनको भनाइ छ् ।
सरकारले प्रतिबिगाहा २ लाखका दरले क्षतिपूर्ति दिए पनि अधिकांश खेतीयोग्य जग्गामा बालुवा भरिएको कारण उनीहरूलाई गुजारामा समस्या हुने गरेको छ । सरकारले बाढीपीडितलाई घर र जग्गा दिए पनि आरक्षबाट आउने हात्तीले सुकुम्बासी बस्तीमा घर भत्काइदिने र मान्छेसमेत मार्न थालेपछि अधिकांशले घर छाडेको सङ्घर्ष समितिका अध्यक्ष मण्डल बताउँछन् । निर्वाचित जनप्रतिनिधिले कतिपय लोकप्रिय योजना ल्याए पनि कोसी पीडित अधिकांश आफ्नै प्रयासले जीवनस्तर उकास्न सफल भएको मण्डलको भनाइ छ ।
कोसी गाउँपालिका क्षेत्रमा आएको बाढीले ३१ सय बिघा क्षेत्रफल बालुवामय भयो । केही किसानले एकल प्रयासमा ६ सय बिघा जग्गा पूर्वावस्थामा फर्काए पनि २५ सय बिघा जग्गा बालुवामय अवस्थामा हुँदा कोसी गाउँपालिकाका जनप्रतिनिधिले उक्त जग्गामा राजस्थान मोडेलको खेती गर्ने योजना ल्याए । बाढीले हजारौं किसान प्रभावित भएकोमा पूर्वावस्थामा फर्कन सङ्घर्षरत रहेको बताउँदै अध्यक्ष अयुव अन्सारीले किसानको जीवनस्तर उकास्न राजस्थान मोडेलको खेती गर्ने योजना ल्याएको बताउँछन् ।
भारत राजस्थानका कृषिविज्ञहरूले दिएका सुझावअनुसार कम लगानीमा कागती खेती गर्दा कोसी क्षेत्रका किसानको जीवनस्तर उकास्न सहज भएको उनले बताए । गरिबी निवारण आयोजना अन्तर्गत कोसी गाउँपालिका क्षेत्रका महिलाहरूलाई आत्मनिर्भर बनाउन प्रत्येक वडामा सिलाइ कटाइ तालिम केन्द्र, मलहा, मुखिया र माझी समुदायलाई आत्मनिर्भर बनाउनेदेखि कृषिमा विशेष अनुदान दिँदै किसानको जीवनस्तर उकास्ने योजना ल्याएको अध्यक्ष अन्सारी बताउँछन् ।