धरान । सुनसरीको बर्जु गाउँपालिका वडा नं. ५ गोचाकामत टोलस्थित भित्री सडक –खण्डमा लागूऔषध ओसार–पसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सीतागञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा गाँजासहित सवारीसाधन नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले बागमती प्रदेश नम्बर १–०२७ च ०२४० नम्बरको सेतो रङको स्कार्पियोलाई पछ्याउने क्रममा चालक फरार भएकोले सवारी चेकजाँच गर्दा ११ पोकामा २५७.४५ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
गाँजा कालो प्लाष्टिकमा प्याक गरिएको अवस्थामा भेटिएको र उक्त सवारी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ । फरार चालकको खोजतलास र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
































