विराटनगर । दशकभन्दा लामो समयदेखि जग्गा मुआब्जा विवादका कारण अवरुद्ध बनेको भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग परियोजनाले अन्ततः गति लिएको छ ।

कटहरीमा निर्माण हुने अन्तिम स्टेशनको काम अगाडि बढेसँगै स्थानीय उद्योगी, व्यवसायी र आम नागरिकमा विकासको नयाँ आशा पलाएको छ । निर्माण कार्यको जिम्मेवारी लिएको भारतीय सरकारी कम्पनी इर्कोन इन्टरनेशनल लिमिटेडले एक वर्षभित्रै कटहरीसम्म कार्गो रेल सञ्चालन गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिएको छ । 

सन् २०११ मा सुरु भएको यो १८.६ किलोमिटर लामो रेलमार्ग परियोजना सन् २०१८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, नेपालतर्फ अधिग्रहण गरिएको १ सय १९ बिघा जग्गामध्ये कटहरी क्षेत्रको जग्गाको मुआब्जा रकममा असन्तुष्टि जनाउँदै केही जग्गाधनीहरू अदालत गएपछि परियोजना लामो समयसम्म अवरुद्ध हुनपुग्यो । यस विवादका कारण हुलाकी राजमार्गबाट उत्तरतर्फको करिब १ हजार १ सय मिटर क्षेत्रमा निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।

लामो कानूनी प्रक्रियापछि सर्वोच्च अदालतले मुआब्जासम्बन्धी रिट खारेज गरिदिएसँगै निर्माणको बाटो खुलेको हो । विवाद समाधान भएलगत्तै निर्माण कम्पनी इर्कोनले सक्रियता बढाएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार, इर्कोनले ७० लाख भारतीय रुपैयाँको लगानीमा स्टेशन र यार्ड निर्माण गरिने ६६ बिघा जग्गामा तारबार लगाउने काम सम्पन्न गरिसकेको छ । यो कार्य सम्पन्न भएसँगै निर्माणको अर्को चरण सुरु भएको छ ।

तारबारको काम सकिनासाथ इर्कोनले रेलमार्गको बाँकी ट्रयाक र स्टेशन क्षेत्रमा माटो पुर्ने कामका लागि बोलपत्र आह्वान गरेको छ । अध्यक्ष चौधरीले दिएको जानकारीअनुसार, ६६ बिघा क्षेत्रफललाई ६ फिट अग्लो बनाउन २० करोड ५६ लाख भारतीय रुपैयाँ (अर्थात् ३२ करोड ७९ लाख ६० हजार नेपाली रुपैयाँ) को लागतमा माटो पुर्ने ठेक्का लगाइँदैछ । आवश्यक सङ्ख्यामा प्रस्ताव नपरेकाले बोलपत्रको म्याद ७ दिन थपिएको भए पनि अब छिट्टै नै ठेक्का सम्झौता हुने अपेक्षा गरिएको छ ।

माटो पुर्ने कामको ठेक्का लागेलगत्तै करिब १९ करोड भारतीय रुपैयाँको लागतमा स्टेशन भवन निर्माणका लागि अर्को बोलपत्र आह्वान गर्ने तयारी इर्कोनले गरेको छ । अध्यक्ष चौधरीले भने, “धेरै वर्षदेखि रोकिएको रेलमार्ग निर्माणको काम अहिले धमाधम अगाडि बढिरहेको छ । अधिग्रहण गरिएको जग्गामा तारबार लगाइसकेको छ भने अर्को हप्तासम्म माटो पुर्ने ठेक्का लाग्ने जानकारी मलाई औपचारिकरूपमा दिइएको छ ।” उनका अनुसार, यी सबै कामहरू एक वर्षभित्र सम्पन्न गरी कार्गो रेल नियमित सञ्चालन गर्ने लक्ष्य भारतीय पक्षको छ ।

यो रेलमार्ग सञ्चालनमा आएपछि विराटनगर क्षेत्रको औद्योगिक तथा व्यापारिक परिदृश्यमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । उद्योगी–व्यवसायीहरूले लामो समयदेखि यो परियोजना सम्पन्न गर्न माग गर्दै आएका थिए । रेलमार्गले कोलकाता र विशाखापट्टनम् जस्ता भारतीय बन्दरगाहबाट तेस्रो मुलुकसँग हुने आयात–निर्यातलाई सहज बनाउनेछ । 

कार्गो रेल सिधै कटहरीसम्म आइपुग्दा ढुवानी लागत घट्ने, समयको बचत हुने र व्यवसायीहरूले भोग्दै आएको डिटेन्सन र ड्यामरेज शुल्कको समस्याबाट मुक्ति मिल्ने विश्वास छ । 

भारतको बथनाहादेखि विराटनगर भन्सार यार्डसम्म रेलमार्गको परीक्षण भइसकेको छ र एक पटक कार्गो रेल आइसकेको पनि छ । अब कटहरीसम्मको अन्तिम खण्ड निर्माण भएपछि यसले पूर्णता पाउनेछ । अध्यक्ष चौधरीले भने, “ट्रयाक खोल्ने, माटो पुर्ने र लिक बिछ्याउने कामसँगै स्टेशन निर्माण गरी एक वर्षभित्र रेल आवत–जावत गराउने कुरा भारतीय पक्षले बताएको छ र सोहीअनुसार काम पनि अगाडि बढेको देखिन्छ ।”