धरान । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको शनिबार बिहान निधन भएको हो ।
आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलमको उपचारका क्रममा निधन भएको अस्पतालका सञ्चालक एवम् नेपाली काङ्ग्रेसका निवर्तमान सांसद् डा. सुनिल शर्माले जानकारी दिए ।
आलम वि.सं. २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए । विजयी भएसँगै वि.सं. २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री भएका थिए ।
त्यसपछि उनी २०५६ सालको संसदीय निर्वाचन र वि.संं. २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । त्यसपछि उनी भूमिसुधार मन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बने । उनी वि.सं. २०६७ को पार्टीको १२ औँ महाधिवेशनमा काङ्ग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
स्व. आलमले वि.सं. २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विष्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसूरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताउँदै आएका थिए ।
गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाले कारागारमुक्त भएपछि उनलाई ब्रेन स्टोक भएको थियो ।
































