नागबेली सडक पार गर्दै मोरङको पर्यटकीय क्षेत्र जेफाले पुग्नेहरुका लागि जेफाले एउटा भ्यूटावर मात्रै हो भन्ने आभास हुन सक्छ । मोरङको केराबारी गाउँपालिका–२ मा पर्ने यो पर्यटकीय क्षेत्रले केही वर्षयता नयाँ आयाम भिœयाइरहेको छ । त्यो आयाम हो, साहित्यिक सिर्जना उत्सव । पूर्व–पश्चिम राजमार्गबाट केराबारी बजार हुँदै जाँदा करिब ४२ किलोमिटर उत्तरमा पर्ने यो डाँडाले पर्यटक तान्न थालेको धेरै वर्ष भएको छैन । 

धरानबाट भने ४५ किलोमिटर यात्रा तय गरेपछि पुगिने जेफाले भ्यूटावरले साहित्यिक सर्जक पनि जन्माइरहेको छ भन्दा सायद गलत नहोला । भ्यूटावरबाट सेताम्मे हिमशृङ्खला र तराईका समथर फाँट नियाल्दा एकपटक मुग्ध नुहने सायदै होलान् । यो विशेषतासँग जोडिएको जेफालेले साहित्यिक सर्जकलाई पनि यसरी नै मुग्ध बनाउन थालेको लामो सयम बितेको छैन ।

पर्यटनलाई साहित्यसँग जोड्न कम्मर कस्सिएका सर्जकहरुले जेफालेलाई ‘नयाँ बिम्ब तथा प्रतीक’ का रुपमा प्रयोग गरिरहेका छन् । नेपाली साहित्यमा रैथाने वस्तुहरु बिम्ब र प्रतीक बन्न थालेको धेरै भएको छैन । हाम्रा बिम्ब र प्रतीकहरु आयतीत थिए । तर, अब भने मौलिक साहित्यले डेरा जमाउन थालेपछि भने पर्यटक तान्ने जेफाले जस्ता ‘हब’ हरु बिम्ब र प्रतीकका रुपमा उभिन थालेका छन् । 

जसरी समुद्र सतहबाट २ हजार १ सय मिटर उचाइमा जेफाले उभिएको छ । त्यही उचाइमा बिम्बहरु उभिन थालेका छन् । साहित्य जनजनमा पुग्न नसकेको तीतो यथार्थका बावजुद यहाँको साहित्यिक कार्यक्रमले जनजनलाई तानेको आभास दिन थालेको छ । वैशाख १ गते गरिएको साहित्यिक सिर्जना उत्सवमा यसपटक वृद्धवृद्धाहरु पनि रमे ।

त्यो दृश्य पहिलोपटक देखेका त्यहीँका उत्तरवर्ती कवि राज माङ्लाक फरक अनुभूति भएको अनुभव साट्छन् । नेपालमा पर्यटन साहित्य लेख्नेहरु कमै छन् । जसले लेखिरहेका छन्, उनीहरुको सङ्ख्या न्यून छ, जसले गर्दा हामीकहाँ पर्यटन साहित्यका ठेलीहरु कमै पढ्न पाइन्छ । तर, आख्यान होस्, या कविता या नाटक वा अन्य रचनामा स्थानहरुको वर्णनहरु प्रशस्तै पाइन्छ । जुनै साहित्य पढे पनि हाम्रो मानसपटलमा केही न केही दृश्य अवश्य नै आउँछ ।

तर, त्यसलाई हामी पर्यटन साहित्य भन्न सक्ने अवस्था अझै आइसकेको छैन । जेफालेले त्यो एउटा इतिहास बनाउनेमा हाम्रा पुस्ता ढुक्क छन् । पर्यटन र साहित्य एक–अर्काका परिपूरक ठान्नेहरुको कमी छैन जेफालेवासीहरुमा । त्यसैकारण केराबारी गाउँपालिकाको २ नम्बर वडाले जेफालेकै लागि वार्षिक २ लाख रुपैयाँसम्म बजेट विनियोजन गरेको अवस्था छ । जेफालेमा वार्षिक रुपमा दुई–तीनवटा साहित्यिक कार्यक्रमहरु हुने गरेका छन् ।

जसले सर्जकहरुलाई एउटा ‘प्लेटफर्म’ को सिर्जना गरेको छ भने अर्कोतिर जेफालेलाई बिम्ब बनाएर साहित्यहरु सिर्जना हुँदै आएका छन् । 

त्यो ठाउँको गगनचुम्बी जेफाले जेफालेवासीका लागि सगरमाथा भएर बसेको छ । चोमोलुङ्मा भएर उभिएको छ । जेफालेवासीको शिर हो । त्यो शिर जसले आउँदो पुस्तालाई मार्गनिर्देश गर्नेछ र अहिलेको पुस्तालाई बाँच्न सिकाउँदै छ । जेफाले भएकै कारण पलायन हुँदै गरेको पुस्ता पनि फेरि फर्किंदै छ ।

आफ्नै ठाउँमा पौरख बजार्न चाहने युवापुस्ताको कमी छैन त्यहाँ । जेफालेलाई शिर ठानेर नारायण राईले चिया बगान लगाएका छन् । युवराज खत्रीजस्ता युवाले साहित्यिक सिर्जना डबली गरिरहेका छन् । भीम ठकुरीले होम–स्टे (घरबास) चलाइरहेका छन् । आज जेफाले नहुँदो हो त यस्ता युवाहरु कुनै तेस्रो मुलुकमा आफूलाई समाहित गरिरहेका हुन्थे ।

मोरङको एकमात्रै चिया बगान चलाउने नारायण राईहरु चिया लगाउन छाडेर सहरको कुनै कुनामा आफ्नो दिनचर्या गरिरहेका हुन्थे । जेफालेले जेफालेवासीलाई भ्यूटावर मात्रै दिएको छैन, स्वअस्तित्व पनि दिएको छ । जेफालेवासी भएर बाँच्न सिकाएको छ । यस्ता थुप्रै आयामहरु जेफालेले दिएको छ । एउटा सग्लो बिम्ब र प्रतीक मात्रै हैन, जेफाले ।

जेफाले संसार चियाउने भ्यूटावर पनि हो । सुविधामुखी यो संसारमा जेफालेवासीले त्यही गगनचुम्बी जेफाले हेरेर कयौं वर्ष व्यतीत गरे । आज त्यसैले उनीहरुलाई बाँच्न सिकाउँदै छ । त्यसैले थुप्रै साहित्य सिर्जना दिएको छ । थुप्रै सर्जक जन्माएको छ । त्यही सर्जकले बर्सेनि ‘साहित्यिक सिर्जना उत्सव’ गराउन सफल भएको छ । साहित्य र पर्यटनको बहस गराउन सफल छ ।

यस पटक जेफालेले ‘पर्यटन साहित्य किन र के का लागि ?’ भन्ने बहस नै छेड्यो । जहाँ विद्वान् स्रष्टाहरुले आफ्नो धारणा राखे । पर्यटन व्यवसायी डिल्लीराम अधिकारीले पर्यटनको महŒवबारे लामो समयदेखि बोल्दै आएका छन् । बहस गर्दै आएका छन् । जेफालेलाई चिनाउन उनको महŒवपूर्ण योगदान छ ।

हरेक वर्षको कार्यक्रममा सहभागी बन्दै आएका कवि प्रकाश दिप्सालीले जेफालेमा जति पनि साहित्यिक कार्यक्रमहरु भइरहेका छन्, त्यो पर्यटनलाई जोड्ने हिसाबले भइरहेको अनुभव साट्छन् । हरेक वर्षको कार्यक्रम उपलब्धिमूलक हुँदै आएको उनी बताउँछन् । फरक कार्यक्रम र फरक शैलीका कारण जेफाले साहित्यिक सिर्जना उत्सव कार्यक्रमबाट उनी सन्तुष्ट छन् ।

गाउँपालिकाले आफ्नो कार्यक्रम ठान्ने भूमिकाप्रति उनी नतमस्तक छन् । कुनै समय यहाँ दुई–तीनजना सर्जक पाउन निकै धौ–धौ थियो । तर, आजको अवस्थामा आइपुग्दा स्थिति फरक छ । झण्डै दुई दर्जनको हाराहारीमा सर्जक छन् । यसो हुनुको पछाडि कार्यक्रमको भूमिका महŒवपूर्ण छ । 

जेफालेमा कमी छ भने त्यो हो, पूर्वाधारको । त्यहाँ पुग्नका लागि कच्ची सडक छ । जसका कारण हिउँदमा सहजै पुग्न सकिए पनि बर्खाको समयमा निकै हम्मे–हम्मे गरी मात्रै पर्यटकहरु पुग्न सक्छन् । यो पनि सुधार हुने क्रममा छ । चाँडै नै सडक कालोपत्रे हुने सम्भावना छ । तर, अहिलेको अवस्थामा भने केही कठिनाइहरु छन् ।

जेफालेवासीको राम्रो पक्ष भनेको जो कोहीलाई पनि स्वागत गर्ने शैली । स्रष्टा होस् या पर्यटक । फूलमाला, खादा तथा अबिरले स्वागत गर्ने शैली यहाँको आफ्नै रैथाने शैली हो । यसपटक मोरङ, सुनसरीबाट पुगेका स्रष्टाहरुलाई त्यहाँका बासिन्दाले यसरी नै स्वागत गरे ।

यो नौलो शैलीबाट परिचित भएकाहरुलाई सामान्य लाग्नु अनौठो रहेन तर, नयाँ स्रष्टाहरुका लागि भने केही अनौठो पक्कै थियो । जेफालेवासीको प्रेमील शैलीकै कारण पनि हरेक वर्ष स्रष्टाहरु त्यहाँ जान रूचाउँछन् । जेफालेवासीमा अझै गाउँको चोखो प्रेम गर्ने शैली हराएको छैन । यही शैली हरेक ठाउँमा बाँच्नु पर्छ ।

हाम्रा गाउँहरु सहरमा परिणत हुँदैछन् । जसरी गाउँहरु सहरमा परिणत हुन्छन्, त्यसरी नै स्वार्थ मिश्रित गन्धहरु फैलिन थालेका छन् । हाम्रा थुप्रै पहाडहरु आजकाल सहरजस्ता भएका छन् । हुने क्रममा छन् । तर, केही गाउँहरु सहर भए पनि गाउँजस्तै लाग्छन् । एकदमै निर्मल, निश्चल, निष्कलङ्क, पानीका मुहान जस्तै ।

यस्तै निर्मल छ जेफाले । त्यही निर्मलतामा मुग्ध बन्छन् स्रष्टा तथा पर्यटकहरु । आज शान्त र नीरव कहीँ छ भने जेफालेमै छ । त्यसैले त ठूला–ठूला स्वरमा स्रष्टाहरु आफ्ना सिर्जना सुनाउँदा पनि भाइब्रेसन भएर जेफालेको भ्यूटावरमा पुग्छ र त्यहाँबाट सेताम्मे हिमशृङ्खलासम्म फैलिन्छ । तराईका फाँटहरुमा उसैगरी पुग्छ ।

पर्यटनलाई साहित्यमा जोड्ने जमर्को गरेका स्रष्टाहरुले जेफालेलाई एउटै बिम्बमा सीमित गर्दैनन्, एउटै प्रतीकमा समाहित गर्दैनन् । त्यसका अनेकन बिम्ब र प्रतीकहरु सिर्जनामा कोरिँदै छन् । कोरिने नै छन् ।