विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट चिकित्सकले प्रयोग गर्ने स्वास्थ्य सामग्री चोरी हुने गरेको पाइएको छ ।

मङ्गलबार अस्पतालका सुरक्षा गार्डले चिकित्सकले प्रयोग गर्ने एक कार्टुन र एक जेब्रा झोला ग्लोब्स (पञ्जा) सहित एक व्यक्तिलाई रङ्गेहात पक्राउ गरेपछि घटना बाहिरिएको हो । अस्पतालको स्टोर कोठा पछाडिबाट सुनसरी धरान–१९ का ३८ वर्षीय विवेक कट्टेललाई पक्राउ गरिएको हो । उनको साथबाट बरामद गरिएको ग्लोब्स अस्पतालको स्टोरमा रहेको सामग्रीसँग हु–बहु मिलेको पुष्टि भइसकेको छ ।

यो घटना सामान्य चोरीको घटना मात्र होइन, बरू अस्पतालभित्रै जरा गाडेको सङ्गठित अपराधको सानो अंश मात्र भएको आशङ्का गरिएको छ । अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलले बरामद भएको ग्लोब्स अस्पतालकै भएको बताए । “बरामद भएको ग्लोब्सको प्याकेट र हाम्रो स्टोरको प्याकेट एउटै हो । अस्पतालको सिलबन्दी कार्टुन कसरी बाहिर गयो, हामी आफै चकित छौँ”–उनले भने ।

सार्वजनिक खरिद ऐनअनुसार टेन्डर प्रक्रियाबाट खरिद गरी स्टोरमा राखिएको स्वास्थ्य सामग्री यसरी खुलेआम बाहिरिनुले अस्पतालका कर्मचारीको संलग्नताविना असम्भव प्रायः रहेको स्रोतको दाबी छ । “बाहिरको कुनै एक व्यक्तिले मात्रै स्टोरजस्तो सुरक्षित ठाउँबाट सामान चोरेर लैजाने आँट गर्न सक्दैन” अस्पताल स्रोतले भन्यो, “यसमा भित्रकै कर्मचारीको अनिवार्य मिलेमतो छ । गहिरो अनुसन्धान गर्ने हो भने ठूलो गिरोह नै पर्दाफास हुनसक्छ ।”

अस्पताल व्यवस्थापनले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ । तर विगतमा पनि यस्ता कैयौं घटना सामसुम पारिएको नजिर हेर्दा यस घटनाको अनुसन्धान कहाँ पुग्छ भन्नेमा आशङ्का कायमै छ । लुइँटेलले भने, “कुन विभाग वा कुन ठाउँबाट सामग्री बाहिरियो, त्यो अनुसन्धानको विषय हो । हामी छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउँछौँ ।”

कोशी अस्पतालमा अनियमितता र मिलेमतोको यो पहिलो घटना भने होइन । केही समयअघि मात्रै स्वास्थ्य बिमाको रकम दुरुपयोग गरेको आरोपमा तीन जना कर्मचारीलाई बर्खास्त गरिएको थियो । उक्त घटनाले अस्पतालभित्र आर्थिक अनियमितताको जालो फैलिएको सङ्केत गरेको थियो भने अहिलेको चोरीको घटनाले भौतिक सामग्रीको सुरक्षामा समेत चरम् लापरबाही र अपराध मौलाएको पुष्टि गरेको छ ।