विराटनगर/ पन्ध्र वर्ष अघि उत्तरी मोरङको विहिवारे हाबेचौरी गाउँमा ठूलो डकैतीको घटना भयो । त्यहाँ भएको सबै १५ घरमा डाकाले लुटपाट मच्चाए । सशस्त्र द्वन्द्वको समय भएकोले तत्काल त्यहाँ सुरक्षाकालागि प्रहरी चौकी प्रवन्ध भएन । शान्ति प्रकृया अघि बढेसंगै उत्तरी मोरङको सिँहदेवी गाविसका बासिन्दाले पटक पटक प्रहरी चौकीको माग गरे तर यतिका वर्ष बितिसक्दा पनि प्रहरी चौकी स्थापना भएको छैन । जेफाले अहिले आन्तरिक पर्यटनकालागि आकर्षक गन्तव्यको रुपमा विकास भइरहेको छ । पूर्वाञ्चलका विभिन्न जिल्लाबाट दैनिक ३० जनाको हाराहारीमा पर्यटकहरु जेफाले पुग्ने गरेका छन् । जेफालेको होमस्टे सञ्चालकहरुले आन्तरिक पर्यटकहरुलाई स्वागत र व्यवस्थापन गर्दै आएको छ । जेफालेमा पर्यटकहरुको प्रवाह वृद्धि भइरहेको अवस्थामा सुरक्षाकालागि प्रहरी चौकी अनिवार्य रहेको स्थानीय नारायणकुमार राईले बताउनुभयो । आकर्षक जेफाले डाँडा , मातृभूमि चिया बगान र बिहिबारे बजार तथा त्यहाँको मगर संस्कृतीको अवलोकन गर्न आन्तरिक र बाह्रय पर्यटकहरु पुग्ने क्रम बढेको हो । विहिवार हाट लाग्ने र धनकुटाको दक्षिणी क्षेत्र अनि पाँचथरदेखिका मानिसहरु तराई झर्दा त्यही बाटो प्रयोग गर्ने हुँदा पनि त्यहाँ सुरक्षा युनिटको जरुरी भएको हो । पटक पटक माग गरिए पनि सुरक्षा समितिले महत्व नदिएको स्थानीयले गुनासो गरेका छन् । उत्तरी मोरङको पहाडी गाविसहरु सिँहदेवी , रमितेखोला , भोगटेनी , याङशीला , बारंगी कतैपनि प्रहरीको इकाई राखिएका छैनन् । धनकुटा , पाँचथर , सुनसरी र झापा जिल्लासँग सिमाना जोडिने भएकोले यी गाविसहरु सामारिक दृश्टिले पनि महत्वपुर्ण मानिन्छन् । तर कतैपनि प्रहरी चौकीहरु नहुँदा स्थानियवासीन्दाहरुले मात्र नभएर यहाँ घुम्न आउने पर्यटकहरुले सुरक्षाको पूर्ण अनुभूति गर्न नसकिरहेको सिँहदेवीका पुर्व गाविस अध्यक्ष डिल्ली अधिकारी बताउनुहुँन्छ । उत्तरी मोरङको सिँहदेवी गाविसमा रहेको विहिवारे बजारमा प्रहरी चौकी राख्न पटक पटक जिल्ला र क्षेत्रिय प्रहरी कार्यालयमा अनुरोध गरेपनि बास्ता नभएको गुनासो गरे । धनकुटाको समेवादेखि मोरङको केरावारीको बजार भर्नआउने मुख्य मार्ग विहिवारे नै हो । बाटोमा रहेको सानो बजार भएपनि पहिलेदेखि नै बास बस्ने थलोको रुपमा जेफाले परिचित छ । केरावारीदेखि नियमित गाडि सञ्चालन हुन थालेपछि अहिले विगतको तुलनामा सुगम भएको जेफालेलाई पर्यटकीय क्षेत्रको रुपमा दिगो विकास गर्न सुरक्षा युनिट अनिवार्य भइसकेको छ । मोरङको सिहदेवी ५ मा रहेको जेफाले डाँडामा जिल्ला बिकास समिति मोरङ र धनकुटाले संयुक्तरुपमा भ्यु टावर निर्माण गरिदिएपछि सुर्योदय हेर्न जाने पर्यटकको संख्या ह्वातै बढेको छ । सुर्योदय हेर्न जानेहरु फेदीमा रहेको विहिवारे बजार(हावेचौरी) मा रहेको होमस्टेमा बास वस्छन् र विहान उनीहरुकै सहयोगमा डाँडा चढ्ने गर्दछन् । जिल्ला विकास समिति र स्थानियवासीहरुले त्यहाँ पर्यटकहरुकालागि होमस्टेको प्रवन्ध बिकास गरेकोले पर्यटकको आवागमन पनि वाक्लै हुन थालेको होमस्टे संचालक भीम ठकुरी बताउँछन् । पर्यटक आगमन बढेको र उनीहरुको सुरक्षा गर्नु आफुहरुकालागि चुनौती बनेकोले प्रहरी चौकी माग गरेको ठकुरीले बताउनुभयो । वैदेशिक रोजगारले गाउँमा रेमिट्यान्स भित्रिएको र यातायातको सुविधाले गर्दा स्थानीय उत्पादनहरुले पनि वजार पाउन थालेकोले उत्तरी मोरङका गाउँमा आर्थिक गतिविधि वढेको छ । आर्थिक गतिविधि सँगै गाउँमा अपराध पनि वढ्न थालेको छ । जङ्गलमा चोरी सिकारीदेखि विभिन्न प्रकारका सामाजिक अपराध भइरहे पनि सुरक्षा निकाय टाढा हुँदा धेरैजसो अपराधहरु कारवाहीको दायरामा आउन सकेको छैन । हत्या, बलात्कार जस्ता ठूला जघन्य अपराधहरु कानुनी पहुँचमा पुगेपनि अरु धेरै अपराध हुँदा स्थानीयहरु सहेर बस्नु पर्ने वाध्यता रहेकोले प्रहरीको उपस्थिती अति आवश्यक महशुस गरेको गंगाप्रसाद लिम्बु बताउँनुहुन्छ । स्थानिय नारायण कुमार राईले घुम्न आएका पर्यटकहरु लुटिएमा जेफाले क्षेत्र बदनाम हुने चिन्ता व्यक्त गर्नुभयो । त्यस्तो कुनै अप्रिय घटना भएर पर्यटक आउन छोड्ने र जेफालेमा पर्यटन गतिविधि बन्दभई आर्थिक क्रियाकलाप पनि ठप्प हुने आशंका उनीहरुलाई छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लामा ७० वटा प्रहरी इकाईहरुमा एक हजार २ सय प्रहरी कार्यरत छन् । तर उत्तरी पर्यटकीय क्षेत्र जेफाले लगायत पहाडी गाविसहरु सिंहदेवी, याङशिला, भोगटेनी, पाटीगाउँ, रमितेखोला र वारंगीमा प्रहरी युनिट छैन । समारिक महत्व भएका स्थानहरु पहिचान गरेर आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको निर्देशन बमोजिम प्रहरी इकाईहरु स्थापना गर्न सकिने भएपनि जनशक्त्ति अभाव र भौतिक पुर्बाधारको अभाव देखाउँदै निर्णय हुन सकेको छैन । पूर्वाञ्चलका विभिन्न एक सय स्थानबाट प्रहरी युनिटहरुको माग आएको भएपनि आवश्यक जनशक्ति र पूर्वाधार अभावले गर्दा निर्णय लिन समस्या भएको पुर्व क्षेत्र प्रहरी कार्यालयका डिआइजी नवराज सिलवालले बताउनुभयो । उहाँका अनुसार थप ६ हजार प्रहरी थप भए सबै क्षेत्रको माग पुरा गर्न सकिने छ । यद्यपी पर्यटकीय क्षेत्र जेफालेमा सुरक्षा युनिटको प्रवन्ध गर्ने विषयमा छलफल गर्ने बताउनुभयो ।