सूर्यदेवप्रति श्रद्धा र भक्तिपूर्वक आराधना गर्दै मनाइने छठ पर्व मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै सम्पन्न भएको छ । चारदिनसम्म चल्ने यो पर्व नेपाली समाजमा विशेषगरी तराई–मधेस क्षेत्रको मिथिला संस्कृतिबाट उद्भूत भए पनि अहिले देशभर फैलिएको छ । आस्थाका साथसाथै यो पर्वले अनुशासन, शुद्धता र पर्यावरणप्रेमको गहिरो सन्देश बोकेको छ । छठमा भक्तजनले अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर सूर्यदेवको आराधना गर्छन् । सूर्य र जललाई जीवनका आधारस्तम्भका रुपमा मानेर गरिने यो पूजा प्रकृतिप्रतिको गहिरो कृतज्ञताको प्रतीक हो । पौराणिक ग्रन्थहरुमा सूर्यषष्ठीको पूजा गर्नाले मनोकामना पूरा हुने, सन्तान, सौभाग्य र समृद्धि प्राप्त हुने उल्लेख गरेको पाइन्छ । यही विश्वासका कारण विवाहिता महिलाले परिवारको दीर्घायुका लागि, अविवाहितले सुयोग्य वर–वधुका लागि र सन्तानप्राप्तिका अभिलाषीले सन्तानका लागि कठोर ब्रत गर्छन् । 

छठ केवल धार्मिक विधि मात्र होइन, अनुशासन र आत्मसंयमको अभ्यास पनि हो । ब्रतालुहरुले चार दिनसम्म शुद्ध आहार, निराहार र जाग्रामजस्ता कठिन नियम पालना गर्छन्, यसले मानवीय इच्छाशक्ति, धैर्य र आत्मबलको परीक्षा लिन्छ । यस पर्वको सामाजिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ — नदी, पोखरी, जलासयका किनारहरुलाई सिँगारेर सामूहिक पूजा गर्ने परम्पराले सामुदायिक एकता र सहकार्यको सुन्दर अभिव्यक्ति दिन्छ । पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा पनि छठ पर्व उत्साहका साथ मनाइँदै आएको छ । मिथिला क्षेत्रमा मात्र मनाइँदै आएको छठ यति बेला पहाडी जिल्लाहरुमा सबै जाति र समुदायका श्रद्धालुहरुको सहभागिताले छठ संस्कृतिक एकताको सेतु बन्न थालेको छ । धरानलगायत स्थानमा सबै समुदायहरु मिलेर छठ पर्व उत्साहका साथ मनाउँदै आएका छन् । धार्मिक विविधताको बीचमा छठ जस्तो पर्वले नेपाली समाजमा परस्पर सम्मान र सह–अस्तित्वसँगसँगै समावेशिताको सन्देश उजागार गरेको छ ।

छठ पर्वले हामी सबैलाई स्मरण गराउँछ– जीवनका आधार तत्व सूर्य र जलको संरक्षण, प्रकृतिप्रतिको कृतज्ञता र आत्मानुशासनको भावना नै वास्तविक आराधना हो ।  आधुनिक जीवनशैली र प्रदूषणबीच प्रकृतिसँगको सन्तुलन जोगाउने सन्देश यो पर्वले हरेक वर्ष नयाँ ऊर्जा र प्रेरणाका साथ दोहो¥याइरहेको छ । छठ पर्व अब सबैको साझा संस्कृति भएको छ । पूजास्थल व्यवस्थापनका लागि अब राज्यले पनि ध्यान पु¥याउनु पर्दछ । हरेक वर्षजस्तो यसपालि पनि देशका विभिन्न नदी–ताल र पोखरीका किनारमा पूजा गर्ने ब्रतालुहरुलाई सुविधाको अभावले असुविधा बेहोर्नु परेको तथ्य लुकाउन सकिँदैन । भक्तजनले रातभर जाग्राम बसेर शुद्धता र पवित्रताका साथ पूजा गर्ने यस पर्वमा उचित व्यवस्था नहुँदा घाटहरुमा भीड, सरसफाइको कमी, प्रकाश र सुरक्षाको अभाव देखिनु दुर्भाग्यपूर्ण पक्ष हो । यस सन्दर्भमा सरकारले अब स्थायी र सुरक्षित छठ घाटहरुको निर्माणमा ध्यान दिनु अत्यावश्यक भएको छ । प्रत्येक वर्ष अस्थायी टहराहरु र अस्थायी घाट निर्माण गर्न खर्चिने रकमलाई दीर्घकालीन दृष्टिकोणसहित लगानी गर्न सके धार्मिक आस्थाको सम्मान हुने मात्र होइन, दुर्घटनाको जोखिम पनि घट्नेछ । यस्ता स्थलहरुमा सुदृढ घाट, सरसफाइ सुविधा, सुरक्षित पिउने पानी, शौचालय, विद्युत् र ट्राफिक व्यवस्थापनजस्ता आधारभूत पूर्वाधारहरु स्थायी रुपमा निर्माण गर्न सरकारको गम्भीर पहल बाञ्छनीय छ ।