facebook_1761645012289_7388874721626747952

नेपाल विविधताको भण्डार हो । यहाँ जातीय, धार्मिक, सांस्कृतिक, भाषिक आदि विविधता रहेको पाइन्छ । यिनै विविधता नै नेपालको विशेषता र सौन्दर्य बनेका छन् । यीबाट नै राष्ट्रको समुन्नतिको आधार निर्माण हुन्छ । धर्म, संस्कृति र जात जाति एक आपसमा अन्योन्याश्रित हुन्छन् । यसमा भूगोल पनि जोडिन्छ । एउटै धर्मभित्र पनि अनेक विचारधारा विकसित भएको पाइन्छ । यसमा भूगोल र सामाजिक चरित्रले प्रभाव पार्दछ । 

छठ पर्व वैदिक सनातन धर्मको अभिन्न पक्ष बनेको पाइन्छ । यसमा मूलतः भगवान् सूर्यको आराधना गर्ने गरिन्छ । वैदिक सनातन धर्ममा अनेक विचार र सम्प्रदाय विकसित छन् । मूल तत्त्व एकै भए पनि आराधना र उपासना गर्ने विधि, पद्धति फरक फरक हामी पाउन सक्छौँ । हाम्रै नेपालको महान् पर्व दशैँ मनाउने तरिका पनि भूगोल अनुसार फरक फरक पाइन्छ । यसले के प्रमाणित गर्दछ भने एउटै मूल भए पनि उपासना र मनाउने तरिकामा पृथक्तता स्वाभाविक हुन्छ ।

विशेषतः षष्ठी तिथिमा पर्ने भएकाले यसलाई छठी मैया पनि भन्ने गरिन्छ । 

प्राचीन समयका साथसाथै केही दशक अगाडिसम्म यो पर्व भारतको विहार र नेपालको मिथिला प्रदेश र त्यस संस्कृतिले प्रभाव पारेको क्षेत्रमा मान्ने गरिएको भए पनि आज यो नेपालमा विस्तारका क्रममा छ । यसलाई सांस्कृतिक हस्तान्तरण र फैलावट मान्न सकिन्छ । यो नेपाली समाजको सकारात्मक पक्ष हो । जुनसुकै समुदायबाट विकसित भए पनि असल संस्कृति र मूल्यमान्यताको फैलावट आवश्यक हुन्छ । यसले राष्ट्रको सहिष्णुता र असल चरित्रलाई पनि प्रतिनिधित्व गर्छ । छठ पर्वका शास्त्रीय प्रमाणहरू प्रशस्त उपलब्ध भएको पाइँदैन । ‘अग्निपुराणझ’, नारद पुराण’ जस्ता पौराणिक कृतिहरूमा अनेक व्रतको विधिविधान वर्णन भएको पाइन्छ तर जगत्‌को आत्मस्वरूप भएका भगवान् सूर्यको उपासना गरिने परम पवित्र छठको शास्त्रीय विधान प्रत्यक्ष वर्णन भएको चाहिँ भेटिँदैन । अप्रत्यक्ष रूपमा पाण्डवहरूले जब द्यूत क्रीडामा राज्य लगायत सबै वैभव गुमाएपछि बाह्र वर्षको वनवास र एक वर्षको अज्ञात वास बस्नुपर्ने भयो तब वनवासमा अग्निस्वरूपा द्रौपदीले आफ्ना पति, पुत्रलगायतको दीर्घजीवनका लागि यो व्रत बसेको किंवदन्ती भेटिन्छ । 

छठ पर्व अत्यन्त पवित्र र सात्त्विक व्रत हो । संसारमा सत्त्व, तम र राजष गरी त्रिगुणको चर्चा पाइन्छ । यी तीन गुणकै वरिपरि संसारका सबै वस्तु र पदार्थ, उपासना पद्धतिहरू घुमेका हुन्छन् । तीन गुणमध्ये सत्त्व गुणलाई परम पवित्र मानिन्छ । छठ पर्वको सुरुवात कार्तिक शुक्ल चतुर्थीबाट सुरुवात हुन्छ । विशेषतः शुद्ध, सात्विक निराहार रहनु, शारीरिक, मानसिक दुवै रूपमा शुद्ध हुनु, कुनै पनि हिंसाबाट मुक्त भई घरमूलीको नेतृत्वले यो व्रत बस्ने गरिन्छ । यसमा चौबिस घन्टाभन्दा लामो समय निराहार बस्नुपर्छ । माथि उल्लेख भइसकेको छ तिथि षष्ठीमा पर्ने हुँदा र त्यही षष्ठी तिथि अपभ्रंश भएर छठी भएको हो । षष्ठी शब्दले स्त्रीलिङ्गको बोध गराउने भएकाले छठी माता भनिएको हो । छठी माता भने पनि यसमा उपासना भगवान् सूर्यको गर्ने गरिन्छ । छठ पर्व केवल एउटा पर्व विशेष मात्र नभई यो अनुशासन, आपसी एकता, भाइचारा, पारिवारिक मिलन, प्रकृति पर्यावरणसँग मानवको अभिन्नता आदि प्रकट गर्न पर्व विशेष हो ।

सौर्य तत्त्व हामी मानवका लागि वैज्ञानिक, आध्यात्मिक, धार्मिक, पर्यावरणीय सबै दृष्टिले आवश्यक छ । भगवान् सूर्यले समस्त धर्तीलाई प्रकाश प्रदान गर्दछन् । साथै मानिसलाई चाहिने ‘भिटामिन डी’ को स्रोत पनि सूर्य नै हो । यो तुलनात्मक कठोर व्रत हो । यसमा षष्ठी तिथिमा अस्ताउँदै गरेको सूर्यलाई अर्ध्य दिइन्छ । यसको प्रतीकात्मक अर्थ भनेको विगतप्रतिको कृतज्ञता हो भने त्यसको भोलिपल्ट प्रभातमा उदाउँदै गरेको सूर्यलाई अर्ध्य दिनुको तात्पर्य आगामी दिन सुखद् रहोस् भन्ने हो ।

छठ पर्व नेपालको तराईमा प्रमुखताका साथ मनाउने गरिए पनि यो भारतको विहार प्रदेश र उत्तर प्रदेशमा पनि मनाइन्छ । विशेष गरी मिथिला सभ्यताले छोएका क्षेत्र अथवा प्राचीन समयमा मध्यदेश भनेर जानिने क्षेत्रमा धुमधामका साथ मनाउने प्रचलन छ । 

आजका समयमा मान्छे विभिन्न कारणले देशभर यत्रतत्र छरिएर बस्नुपर्ने हुन्छ । त्यसैको फलस्वरूप यस पर्वले फैलावटको अवसर प्राप्त गर्यो । पहिले तराईमा बस्ने समुदाय विशेषमा मात्र मनाइने यो पर्व नेपालकै पर्वका रूपमा मनाउने गरिन्छ । यसले मानव मनलाई शुद्ध बनाई इहलौकिक सुख, शान्ति र पारलौकिक पुण्य प्राप्त हुने जन विश्वास छ । छठ पर्व सनातन संस्कृतिको गहिरो मूल हो । यसले प्रकृति, सूर्य, जल र जमिनबीचको अन्तर्सम्बन्धलाई प्रकटीकरण गर्दछ । आस्था, तपस्या र सेवालाई यसले उजागर गर्दछ । यस पर्वले सादगी, संयम र समर्पणले कसरी दुर्लभ कार्यलाई सहज ढङ्गले सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दछ । यस पर्व घरमूली महिला अथवा पुरुष जसको नेतृत्वमा व्रत बसे पनि पारिवारिक एकतालाई कसरी बलशाली बनाउन सकिन्छ भन्ने राम्रो शिक्षा प्रदान गर्दछ । सूर्यबाट प्रेम, धर्तीबाट सेवा र जलबाट शुद्धताको सन्देश प्रवाह गर्दछ । प्रकृतिपर्यावरणमा शुद्धताको खोजी गरी तिनको संरक्षणमा यसले जोड दिन्छ ।  

छठ पर्वमा सूर्यको उपासनाले हामीलाई ऊर्जा प्राप्त हुन्छ । पवित्र नदी, सरोवर, कुण्ड आदिको स्नानले काय शुद्ध हुन्छ । त्यसै गरी यसले नदी, तलाउ, कुण्ड, सरोवर आदि जलको स्रोतहरू सफा र स्वच्छतामा सहयोग पुर्याउने भएकाले हाम्रो जीवनमा पानीको विशेष महत्त्वलाई दर्साउँछ । यसले प्राचीनकालीन कृषिप्रधान समाजका अनेक अवयवलाई पनि जनमानसमा प्रस्तुत गर्न सहयोग पुर्याएको छ ।

वैदिक साहित्यमा भगवान् सूर्यको ठूलो प्रशंसा र स्तुति पाइन्छ । ऋग्वेददेखि लिएर पुराण आदिमा समेत भगवान् सूर्यको अनेक स्वरूप र कार्यको वर्णन पाइन्छ । समस्त लोक सूर्यकै कृपाले रहेको तथ्यलाई पनि प्रस्तुत गरेको भेटिन्छ । सूर्य आफै कल्याणकारक रहेकाले यस छठ पर्व हाम्रा लागि विशेष महत्त्वको रहेको छ । यसै गरी ज्योतिषशास्त्र भलै त्यो फलित र सिद्धान्त जुन ज्योतिष हो । सौरमानको विशेष महत्त्व छ । यो पर्व पनि सौरमान अनुसार नै मनाइने भएकाले यसको विशेष महत्त्व झल्किन्छ । पूर्वीय गणितज्ञ वराहमिहिरको सूर्य सिद्धान्तमा सूर्यलाई जल र चन्द्रमालाई दूधको अर्ध्यले स्वास्थ्यलाभको चर्चा पाइन्छ । यस पर्वलाई सूर्य अनुष्ठानका नामले पनि जान्ने गरिन्छ । तीन प्रकारका छठ पर्व भएको पाइए पनि कार्तिक शुक्ल षष्ठी तिथिमा मनाइने छठ पर्वको विशेष महत्त्व छ । कृषि समाजमा यो समय धान आदि भिœयाउने र समय पनि शरद् ऋतुको हुनुका साथै समय उत्सवको रहेको हुन्छ । चैत्र शुक्ल, भाद्र शुक्ल र कार्तिक शुक्ल गरी तीन छठ पर्व रहेको मानिए तापनि कार्तिक शुक्लको विशेष महत्त्व हुनु भनेको पर्वका लागि अनुकूल मौसम पनि हुनु हो ।

हामी धर्म निरपेक्ष मुलुकका नागरिक हौ । धार्मिक, सांस्कृतिक स्वतन्त्रता हाम्रा लागि अत्यन्त प्रिय छ । सांस्कृतिक अन्तर्घुलन र फैलावटले हामीलाई एकआपसमा मिलेर बस्न र सुख, दुःख साटासाट गर्न सहयोग पुर्याउँदछ । आफ्नो संस्कृति मनाउनु र अन्य संस्कृतिको सम्मानले नै हामीलाई एकताबद्ध बनाउँछ । आज यो पर्व केवल तराई, मधेश र भारतमा मात्र नभई नेपालको पहाडी भूभागमा पनि उत्तिकै श्रद्धा र सम्मानका साथ मनाउने गरिएकाले नेपालीलाई एकताबद्ध गराउन यसले विशेष योगदान दिएको पाइन्छ । धार्मिक, सांस्कृतिक विविधता र त्यसभित्रको अन्तर्निहित तत्त्वले नै राष्ट्रलाई एकताबद्ध बनाउने हो । राष्ट्रिय एकता नै राष्ट्र निर्माणको गतिलो आधार पनि हो । केवल भौतिक निर्माणले मात्र राष्ट्र दह्रो, सबल र सक्षम हुने होइन । सबै प्रकारको विविधताको सम्मान र त्यसमा अन्तर्निहित मूल्यको अनुसरण नै राष्ट्रिय एकताको आधार स्तम्भ हो । यस छठ पर्वले हामीलाई राष्ट्रिय एकताका लागि सहयोग पुर्याउने छ भन्ने विश्वासका साथ सबैमा छठ पर्वको मङ्गलमय शुभकामना छ । विज्ञेषु किमधिकम् ।