भद्रपुर । झापाका विभिन्न स्थानबाट एक सातामा १८ जना हराएको पाइएको छ । कात्तिक १ देखि ८ गतेसम्म झापा प्रहरीले १८ जना हराएको हुलियासहितको परिपत्र मातहतका युनिटहरूलाई जारी गरेको हो । हराउनेमा १२ जना बालिका र किशोरी रहेका छन् । त्यस्तै दुई बालक, दुई पुरुष र एक महिला पनि हराएका छन् । हराएकामध्ये तीन बालिका (किशोरीसमेत) र एक पुरुष बाहिर जिल्लाका हुन् । त्यसमध्ये तीन जना भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीको विवरणअनुसार शनिबार झापामा तीन किशोरी र एक महिलासहित चारजना बेपत्ता भएको प्रहरीमा निवेदन प¥यो । त्यसमध्ये दुईजना भेटिए भने दुईजना सम्पर्कविहीन नै छन् ।

शुक्रबार बिहान ६ बजे मेचीनगर–४ आमडाँगी पशुपति टोल बस्ने जगन्नाथ गिरीकी छोरी १७ वर्षीया मनिका गिरी कोही कसैलाई नसोधी आफूखुसी घरबाट हिँडेकी हुन् । उनी बेपत्ता भएपछि उनका बुबा जगन्नाथ गिरीले शनिबार प्रहरी चौकी बाहुनडाँगीमा हुलियासहितको निवेदन दिएका छन् ।

त्यस्तै शुक्रबार नै दिउँसो १ बजे शिवसताक्षी नगरपालिका वडा नं.८ ढुङ्गेल चौक बस्ने कृष्णप्रसाद भण्डारीकी छोरी १६ वर्षीया दीक्षा भण्डारी घरमा कोही कसैलाई केही नभनी सम्पर्कविहीन भएकी थिइन् । छरछिमेक तथा आफन्तसमेतमा खोजतलास गर्दा फेला नपरेपछि उनका बुबा कृष्णप्रसाद भण्डारीले शनिबार इलाका प्रहरी कार्यालय झिलझिलेमा हुलियासहितको निवेदन दिएका थिए । उनी शनिबार राति नै भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिबार दिउँसो ३ः३० बजे बुद्धशान्ति वडा नं. ३ बुधबारे बजार बस्ने शिवजी गुप्ताकी छोरी १३ वर्षीया सन्ध्या गुप्ता साथीको घर जान्छु भनी हिँडेकोमा सम्पर्कमा नआई बेपत्ता भएकी थिइन् । आफन्त तथा छरछिमेकमा समेत खोजतलास गर्दा फेला नपरेपछि प्रहरीमा निवेदन दिइएको थियो । खोजतलास गर्ने क्रममा शनिबार राति १०.३० बजे मेचीनगर–६ मेचीडाँडा बस्ने २३ वर्षीय रविन मगरको घरमा बसिरहेको अवस्थामा ती बालिकालाई फेला पारिएको छ । बालिकालाई उनका बुबाले बुझी लगेका छन् भने मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै शनिबार बाह्रदशी–५ बस्ने प्रकाश राजवंशीकी श्रीमती वर्ष अन्दाजी २७ की गीता राजवंशी घरमा कोही कसैलाई जानकारी नगराई आफूखुसी घरबाट हिँडेर बेपत्ता भएकी छन् । जानसक्ने सम्भावित ठाउँमा खोजतलास गर्दासमेत फेला नपरेपछि उनका भाइ अर्जुन राईले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराएका छन् । उनको खोजतलास भइरहेको छ । गीताका श्रीमान् प्रकाश विदेशमा रहेका छन् ।

कात्तिक १ देखि ८ गतेसम्म प्रहरीमा १८ जना हराएको हुलिया आएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । हराउनेमा १२ जना बालिका, किशोरी, दुई बालक, दुई पुरुष र एक महिला रहेको उनले जनाए । त्यसमध्ये तीनजना भेटिएको प्रहरीले जनाएको छ ।