• अनिल श्रेष्ठ

विराटनगर /  मानिसको जीवन अमुल्य हुन्छ । फेरि अर्को जुनी हुदैन भौतिक विज्ञानले यसै भन्छ । आफ्नो जीवन अमुल्य हुदाहुदै पनि कतिपयले आत्महत्या गरेर आफुलाई समाप्त पार्ने गरेका छन् । प्रदेश १ मा आत्महत्या गरेर आफुलाई एकै क्षणमा समाप्त पार्नेहरुको संख्या भने एक्कासी बढेको छ ।

कोरोनाको महामारी र लकडाउन पछि आत्महत्या गरेर आफ्नो जीवन समाप्त पार्नेहरुको संख्या ४ सय १३ जना रहेको प्रदेश प्रहरी कार्यालयमा दर्ता भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७६/०७७ को सुरूवाती ८ महिनामा १ हजार २२ जनाले आत्महत्या गरेका थिए । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लकडाउन सरू भएको चैत १० देखि १६ असारसम्म १४ जिल्ला रहेको प्रदेश १ मा आत्महत्याको कारण ज्यान गुमाउने संख्यामा नजानिदो गरि वृद्धि भएको ग्राफ देख्न सकिन्छ ।

आत्महत्या गर्नेमध्ये २ सय १७ पुरूष, १ सय ४२ महिला, २० बालक र ३४ जना वालिका रहेका छन् । प्रदेश १ मा सबैभन्दा बढी मोरङमा आत्महत्या गरि ज्यान गुमाउने बढी छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मोरङमा ७८ जनाले आत्महत्या गरेका छन् । मोरङ पछि आत्महत्या गरि ज्यान गुमाउने झापा रहेको छ । झापामा ७६ जनाले आत्महत्या गरेका छन् । तेस्रोमा आत्महत्या गर्ने जिल्ला सुनसरी हुन आउछ । सुनसरीम ५७ जनाले आत्हत्या गरि ज्यान गुमाएका छन् ।

सबैभन्दा कम तेह्रथुम, संखुवासभामा र ताप्लेजुङ्गमा आत्महत्या गरि ज्यान गुमाएका छन् । तेह्रथुम, संखुवासभामा र ताप्लेजुङ्गमा १४/१४ जनाले आत्महत्या गरि ज्यान गुमाएका छन् । यस्तै इलाममा ३७, उदयपुरमा २७, ओखलढुङ्गमा १५, खोटाङ्गमा १७, धनकुटामा १५, पाँचथरमा १६, सोलुखुम्बुमा १६ र भोजपुरमा १७ जनाले आत्महत्या गरि ज्यान गुमाएका छन् । लकडाउन सुरू भएयता चैत ११ देखि ३० गतेसम्म ६३ जनाले आत्महत्या गरेका छन् । वैशाखमा १ सय २० जनाले आत्महत्या गरि ज्यान गुमाएका छन् । जेठमा आत्महत्या गरि ज्यान गुमाउने संख्या वृद्धी भएको छ । जेठमा १ सय ३९ जनाले आत्महत्या गरेका छन् असार १ देखि १६ गतेसम्म ९१ जनाले आत्महत्या गरि ज्यान गुमाएका हुन् । आत्महत्यामा अधिकाशंले झुन्डिएर भएको देखिन्छ । सामान्य अवस्थामा कुल आत्महत्या दरमा विष सेवन गरेर आत्महत्या गरेको देखिएको छ । न्यून संख्यामा हामफालेर र डुबेर आत्महत्या गरेको तथ्याङ्क छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश १ मा १ हजार ५८ जनाले आत्महत्या गरि ज्यान गुमाएका थिए ।

आत्महत्या गरेर ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि भएको सन्दर्भमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सकहरुले कतै त कतै कोरोना महामारी र लकडाउनको परिस्थितिलाई पनि जोडेर हेर्नु पर्ने बताएका छन् । सामान्यतया आत्महत्या जोकोहीले गर्दैनन् । जीवनमा आएको प्रतिकुल अवस्थामा मानसिक तनाव, चिन्ता, मनले थेग्न नसक्दा प्रतिक्रियास्वरुप आत्महत्याबो बाटो रोज्ने गर्छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रोफेसर डा धनरत्न शाक्यले भने, ‘अहिले कोरोना महामारी र लकडाउनले सवैलाई प्रभाव पारेको छ । मानसिक तनाव उत्पन्न गराएको छ । यो मानसिक तनाव व्यहोर्ने भनेको मन हो । मनले त्यो तनाव थेग्न आत्महत्या गर्ने जोखिम पनि बढेर जान्छ । र कतिपयले आत्महत्या गर्न पुग्छन् ।’

उनले व्यक्तिले गर्ने आत्महत्या घट्नाको पछाडि अनेक कारणहरु रहेका हुनसक्ने बताए । उनकाअनुसार आत्महत्या गर्न प्रेरित गर्नेकारणहरुमा सामाजिक, मनोवैज्ञानिक र जैविक तत्वहरु रहने गरेको छ । ती मध्ये सामाजिक कारणमा सामाजिक गठबन्धन कमजोर भइ हुने संरक्षणको कमि, गरिवी, अभाव, असफलता, शोषण, समाजको अति प्रभाव र अनुपयुक्त सिको सामाजिक विखण्डन, सामाजिक आडभरोसा नहुने, कडा प्रतिश्पर्धा हुने स्थिती पैदा हुदा आत्महत्याको दरमा बृद्धि हुन्छ ।

यसैगरी मनोवैज्ञानिक कारणहरुमा अरुको बढी भर पर्नु, निराश हुनु, विषम परिस्थितिको सामना गर्न नसक्नु, आत्मविश्वास गुमाउनु, यौनद्धन्द ग्रस्त हुनु, भविष्यप्रति कुनै आशा नहुनु, सोच र स्मरणमा पुर्वाग्रही मानसिकता राख्नु, झसंग आवेशमा आउनु, अरुबाट त्यक्त वेसाहारा महसुस गर्नु लगायत रहेको मनोचिक्सक डा शाक्यले बताए ।

उनले भने, ‘आत्महत्या गर्न प्रेरित गर्ने जैविक कारणहरुमा शरीरमा सेरोटोनिन स्नायु रसायनको कमि, नोराड्रेनालाइन नामक स्नायु रसायनमा गडबढी लगायत छन् । अध्ययनअनुसार मस्तिष्कका केही भागहरु ल्युकस सेरुल्युस र राफे न्यूक्लियसमा कोशहरु नस्ट हुनुसंग पनि आत्महत्याको सम्बन्ध जोडिएको छ ।

यस्ता व्यक्तिहरुको शरीरमा प्रतिकुल परिस्थीतिमा कोर्टीकोस्टेरोइडस् बढी उत्पादन हुने र त्यसले सेरोटोनिनको मात्रालाई कम गराउदा व्यक्तीमा आत्तिने र आत्मघाती लक्षण देखा पर्छन् ।’ उनकाअनुसार मनोरोग मध्ये उदासिन (डिप्रेसन) मनोरोगका कारण आत्महत्या गरेर ज्यान गुमाउनेहरुको संख्या ८० प्रतिशत पाइएको छ ।उनले भने, उदासिन मनोरोगबाट ग्रसित विरामी मध्ये ३० देखि ४० प्रतिशतले आत्महत्याको प्रयास गर्छन् । प्रयास गर्ने मध्ये करिव २० प्रतिशतले ज्यान गुमाउन पुग्छन् ।’

उनले आत्महत्याको पछाडि सामाजिक र मनोवैज्ञानिक तत्वहरु रहेपनि पछिल्लो समयमा जैविक तत्वको पनि उतिकै भूमिका हुने बताए । आत्महत्या गर्ने मध्ये अधिकांस मनोरोगी हुने भएकाले मनोरोगको बारेमा समयमै पहिचान गरेर निरुपण गर्नु पर्नेमा जोड दिए । आत्महत्या गर्नबाट बच्नकालागि समयमै मनोविज्ञानी, मनोचिकित्सकबाट मनोपरामर्ष लिने औषधी उपचार गर्नु नै एकमात्र विकल्प रहेको उनले बताए ।