धराने किस्सा नाटकहरूको नाटक

alt
  • असार १५, २०७७
  • ब्लाष्ट खबर

  • जसकुमार राई

धरानमा नाटक घर बन्दैछ । नाटक घर नभएर नाटक नभएका होइनन् । नाटक जसरी पनि हुने धरानको नाटकले बेला–बेलामा सिङ्गो नेपाल हल्लाएको इतिहास भने बिर्सनु हुँदै हुन्न । नाटक हुन्छ र नै धरानमा ‘बढ्ता नाटक नगर’ भन्ने ‘स्ल्याङ’ पनि जीवतै छ । आजकल धरानमा हुने र धरानबाट खेलिएका नाटक राजधानीसम्म पुग्ने क्रम कम छ । नाटक महोत्सवहरूमा धरानले भाग लियो भने त्यो नाटक विशेष थियो भनेर भन्नेहरू पनि छँदैछन् । धरानमा रमेश केशी, गोपाल देवान, शारदा सुब्बाहरूको नाटक लेखनले बेला–बेलामा राजधानी नहल्लाएको कहाँ हो र ? अभिनयका क्षेत्रमा पनि प्रेम सुब्बा, शारदा शाक्य, शशी थापा सुब्बाको अभिनयले पनि एक जमानामा चर्चा कमाएकै हो । राजधानी बाहिरको नाटकको राजधानी भनेर धरानलाई नभनेको पनि होइन ।


यसै पनि धरानको नाटकको चर्चा गर्नै पर्छ । किनकी धरानमा जो नाटक घर नै भनेर बन्दैछ । मात्रै नाटक घर । धरानमा धेरै नाटक भए । नाटकमा भएका नाट्य चरित्र र नाटकको समीक्षा कमै भएको छ । नाटकको समीक्षा बिना नाटकको विकास पनि सम्भव छैन । तर नाटकको समीक्षाभन्दा पनि नाटकमा भएका किस्साले धरानलाई धेरै धानेको छ । त्यो चिया गफमा होस् या मधुशालाको प्यालामा होस् ।

धरानमा उहिले देवलाल सर हुनुहुन्थ्यो । देवलाल सरको पालामा भीमनिधि तिवारीको नाटक ‘गङ्गालालको चिता’ भन्ने नाटक प्रस्तुत भएको थियो । त्यो नाटकमा क–कसले खेलेका थिए, कसैलाई थाहा छैन, तर त्यो बेला ‘शहीद गङ्गालाल’ बनेर नाटक खेलेका पात्र देवलाल सरको भने चर्चा निक्कै रह्यो । गङ्गालाललाई बाख्राको टाट्नामा गोली हानेर मारिएको थियो । नाटकमा पनि यथार्थ चरित्र ल्याउन टाट्नो बनाएर साँच्चीकै बाख्रा बाँधेर स्टेज तयार गरिएको थियो । ‘गङ्गालालको चिता’ नाटकमा गङ्गालाल बनेका देवलाल सर गोली लागेर ढलेपछिको किस्सा रोचक छ । मरेको अभिनय गरेका देवलाल सरको बाख्राले हातको औंला नुनिलो भएर चबाउन थाल्छ । असह्य पीडामा पनि देवलाल सरले मरेको अभिनय जीवन्त गरेका थिए । जब अभिनय सकिएर उनी नर्मल जीवनमा फर्किए, तब उनको नङ बाख्राले चपाएर खुनै निस्किएको थियो । धरानका अग्रज पत्रकार जनार्दन आचार्यले समकालीन साहित्यमा लेख्नुभएको देवलाल सरका विभिन्न किस्सामध्ये एक किस्सामा उल्लेख भएको थियो ।

धरानमा नाटकमा गाम्भीर्यता छ । तर निरन्तरताको चुनौती छँदैछ । नाटक हलको कमी भयो भन्नेहरूको शङ्का पनि यो हल बनेको केही वर्षमा हट्ने नै छ । तर धरानमा भएको नाटकका किस्साहरू भने पछिसम्म रहिरहनेछन् । त्यही रहरले धराने नाटकको गज्जबका केही किस्साहरू छन् । जो लेखनमा होइन, जुवानी कहानीमा बाँचिरहेका छन् । तीनै बाँचिरहेका किस्साहरू धरानेहरूलाई समर्पण गर्छु । धराने नाटकका ऊर्जाहरू सदावहार बाँचिरहनेछन् ।

किस्साः १
प्राविधिक गडबडी
छुरी, पड्किएपछि
धरानमा नाटकमा बेला–बेलामा नयाँ प्रविधिहरू प्रयोग हुने गर्दछ । त्यो बेला भर्चुअल प्रविधि थिएन, थियो त आइडिया । त्यही बेलादेखि चलेको हुनुपर्छ–‘इण्डियाभन्दा आइडिया ठूलो ।’ पूर्वीय चिन्तनअनुसार हिरोले जित्नै पर्छ । नाटकमा खलपात्रको अन्त्य हुनु नै न्यायको जित हुन्छ । खलपात्रलाई मारेपछि नाटकको अन्त्य हुन्छ । नाटक थियो– ‘बरालिएको जिन्दगी’ निर्देशक तथा लेखक थिए बलभद्र थापा । लेखक तथा निर्देशकलाई अन्तमा दर्शकलाई सरप्राइज दिने चाहना हुनु नौलो कुरा हुँदै होइन । यो नाटकमा के थियो, त्यो बेला नौलो  र नयाँ ? नाटकमा खलनायकलाई कुनै प्रपर्टी प्रयोग नगरी हातले निचोरेर मार्न चाहेनन् निर्देशकले । उनले प्रविधिसँग खेल्ने उनको धोकोलाई जीवन्त बनाउन लागिपरे ।
अन्ततः नाटकमा खलनायकको मृत्यु पेस्तोलको गोलीले हानेर मार्ने दृश्य निर्माण हुन्छ । अन्तिम दृश्यमा हिरोले पेस्तोलले छातीमा हान्छ, अनि खलनायकको अन्त्य हुन्छ ।

अब पेस्तोल हान्ने त भयो । पेस्तोल पड्कन्छ पड्केको आवाज कसरी निस्कन्छ ? दर्शकलाई साँच्चै लाग्नुप¥यो कि यो पेस्तोल पड्किएको हो । दर्शकलाई पहिलो पटक धराने स्टेजमा पेस्तोल सुनाउने निर्देशकको रहर । नक्कली पेस्तोल अनि त्यसको अवाजको व्यवस्था भयो ‘पटका’ सोझै जोगवनीबाट आयात भएकोे थियो । त्यो बेलाको माइक्रोफोनको सहायताले नेपथ्यमा पटका पड्किने भयो । अनि बज्ने भयो साउण्ड बक्समा । नेपथ्यका प्राविधिक टोलीले हिरोको अन्तिम संवाद ‘म तँलाई मारिदिन्छु’ भने लगत्तै सलाई कोरेर पटका सल्काउनु पर्ने थियो ।  रिहर्सल भयो । शरीरको कुन ठाउँमा भिलेनको गोली लाग्नु पर्ने हो । ठाउँ पनि तय भयो, नक्कली रातो रगतको रङ भरिएको बेलुन पनि तयार भयो । बेलुन पनि सोही समयमा फुट्नु पर्ने भयो ।  

नाटक गर्न गाउँभरिको खाट जोडेर, त्रिपाल पनि टाँगियो । दर्शक पनि तयार भए नाटक हेर्न । नाटक शुरु भयो । नाटकको क्लाइमेक्समा जुन दर्शकलाई सरप्राइज दिने निर्देशकको इच्छा जब आयो । भिलेन मर्नुपर्ने समय, नायकले डाइलग भन्यो, ‘तँलाई म यही पेस्तोलले मारिदिन्छु ।’ त्यहीबेला पटका नेपथ्यमा पड्कनु पर्ने थियो । ओस्सिएको सलाई परेछ । एक तालमा के बल्थ्यो । हिरोले फेरि डाइलग दोहो¥याउँछ । ‘तैंले मेरो सबै आफन्त मारिस्, अन्याय गरिस् यो बेला (अलि चिच्याएर) ‘तँलाई म मार्दिन्छु ।’ ओस्सिएको सलाईले नभएर प्राविधिक अगुल्टो खोज्न गाउँ गएछन् । यता कलाकारलाई अप्ठ्यारो प¥यो । फेरि दुई पटक डाइलग दोहो¥याए यसो विचार गर्दा पनि नपड्किएपछि भने एक्टरले भिलेनलाई छुरीले मार्ने भएछन् । हिरोलाई लाग्यो अब पटका नपड्किने भयो । अनि उनलाई छुरीले मार्ने योजना बनाए । फेरि डाइलग शुरुवात गरे । ‘यो बेला चैं तँलाई पेस्तोलले एकैतालमा किन मार्छु छुरीले तड्पाई तड्पाई मार्छु ।’ छुरी उज्याएर हानेका भिलेनलाई के हानेका मात्र थिए । त्यही बेला पछाडिको पटका गज्जबले पड्क्यो । छुरी हानेको साउण्ड इफेक्ट पेस्तोलको आवाजमा ड्याम्म गरेर पड्किएछ । दर्शक र कलाकार नै छक्क परेछन् । निर्देशक त एक तीरमा दुई शिकार छुरीमा बमको साउण्ड इफेक्ट, नाटक हिट ।
यो किस्सा अहिले पनि धरानमा चलिरहन्छ । तर यसका पात्रहरूको भने पहिचान भएको छैन, हुनसक्छ यो किस्सा मात्र हो ?

माइक्रोफोन
अर्को प्राविधिक गड्बडी पनि धरानमा भएको थियो । पहिला पहिला माइक्रोफोन झुण्ड्याएर राख्ने चलन थियो । यसो गर्दा नाटकका पात्रहरू खुलेर अभिनय गर्थे । धरानमा नै थिए माइकलाई प्रयोग गर्ने नितान्त नयाँ चलन निकाल्ने रङ्गकर्मी । भएछ के भने, अभिनय गर्ने कलाकारहरूलाई त्यो बेला वाईफाई माइक्रोफोन थिएन । लामो तार भएको गह्रुङ्गो माइक्रोफोन प्याण्टको पैतालातिरको भागबाट छिराएर माइक्रोफोनलाई छातीमा बाँध्ने । अनि भएन त कमाल । आवाजका दुनियाँमा नयाँ क्रान्ति । नाटकको दुनियाँमा नयाँ प्रयोग ।
नाटकको प्राविधिक टोली पनि गजक्क । सबै पात्रलाई आ–आप्mनो माइक्रोफोन कलाकार पनि उत्साही । दर्शकलाई पूरा मनोरञ्जन अनि पैसा असुल ।
नाटक शुरु भयो । केहीबेर त राम्रै भयो । नाटकको पात्र पढ्दै जाँदा, स्टेजमा क्रस हुँदा भने, भरे भएछ के भने कलाकारहरू तारले एक–अर्कासँग बेरिएछन् । नफुस्कने गरी गाँठो नै परेछन् । एक–अर्कासँग अड्किएछन् । यो पनि किस्सा हो । धराने रङ्गकर्मीहरूको ।
 
किस्साः २
दमनको रापको पुलिस
दर्शक टाप
धरानमा सडक नाटकको गज्जबको प्रभाव थियो । अनाम नाट्य जमातले धरानबाट गोपाल देवानको लेखनमा तयार पारिएको सडक नाटक ‘दमनको राप’ देशका विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो । २०४६ सालको प्रजातन्त्र प्राप्तिसँगै यो नाटक आस्थाको बन्दी र त्यो बेलाको पञ्चायतको निर्ममताको बारेमा थियो । यो नाटकको सुनेको किस्सामध्ये धरान–१८ रत्न चौकमा प्रदर्शन हुने भएछ । २०४७ सालको वैशाखमा हुनुपर्छ, गोपाल देवान आफै पनि कविको रोलमा नाटकमा समाहित थिए । गोपाल देवानले नाटकको शुरुवातमा कविता भनिरहेका हुन्छन् । कविता सुन्न वरिपरि दर्शकहरू हुन्छन् । कविता सुन्दै गर्दा त्यति नै बेला नारा लाग्न थाल्छ । यति बेलासम्म दर्शक हेरिरहेका हुन्छन् । त्यहीबेला साइरन बजाउँदै पुलिसहरू आइपुग्छन् । धरपकड हुन्छ । जनआन्दोलनको धङ्धङीले हुनुपर्छ, दर्शक सबै गायब भए । रत्न चौक एकै छिनमा  सुनसान भयो । सबै दोकानहरू बन्द भए । घरको भ्mयाल–ढोका लागे । यसरी दर्शकै नभएपछि कसरी नाटक गर्ने । केही क्षणपछि भागेर पर–पर पुगेकाहरूलाई  फेरि नाट्यकर्मीहरूले यो नाटक हो । नभाग्नुस् नजिक आउनुस् भन्नुपरेको थियो । अनि फेरि रत्नचौकवासीले ऐतिहासिक नाटकको आनन्द लिए ।

यो त नाटक हो
यही नाटक त्यही महिना धरानको भानुचौकमा हुने भएछ । त्यो बेलाको भानुचौक, एकापट्टि छाप्री र एकापट्टि फेन्सीसप थिए । नजिकै छेउछाउमा साग सब्जी, तरकारी पसल पनि हुन्थे ।  नाटकमा काम गर्ने वीरेन भुजेल भानुचौक देशीलाइनकै थिए । नाटकको शुरुवात पनि उही कवि गोपाल देवानबाट गरेछन् । कवितापछि नाराजुलुस भएछ । नारा लागिरहेकै बेला पुलिसको इण्ट्री हुन्छ । वीरेन भुजेलको रोल चाहिँ ‘भागौं भागौं पुलिस आयो’ डाइलग भनेर भाग्नुपर्ने थियो । त्यसै भनेर उनी भाग्दै मात्रै के थिए, छेवैमा नाङ्ले पसल्नी बज्यैले वीरेन भाग्दै गरेको देखेर ‘नभाग भाइ नभाग यो त नाटक हो ।’  वीरेन भुजेललाई भनेछन्  । वीरेन भुजेल चुपचाप फेरि फर्किएछन् ।

महिला बन्दी गायब
भानुचौकमा भएको नाटक छाताचौकमा किन नहोस् । छाताचौकमा पनि त्यसरी नै नाटक शुरु भयो । नेता चौकको नामले चिनिएको छाताचौकमा पनि मानिस त्यसरी नै भागे । महिला बन्दी भएर खेल्ने कलाकार भागेर सिराज होटलनेर पुगेका के थिए । उनलाई होटल मालिकले ‘ए बैनी पुलिसले छाताचौकमा गोली ठोक्न थालिसक्यो । बाहिर के उभिएको ?’ भनेर हातै समातेर होटलभित्र हुले र सटर बन्द गरे । डरले सटर बन्द गरेको होटल मालिक कसैको जीवन बचाएकोमा मख्ख थिए । कलाकार हराएकोमा नाट्य टोली विलखबन्द । बल्ल बल्ल होटल मालिकलाई सम्झाएर सटर खोलेर फर्किएका महिला बन्दी कलाकार निकै आत्तिएका थिए । नाटकको दुःख पनि यही, नाटकको सुख पनि यही ।

क्यारेक्टर एक्सचेञ्ज
उक्त नाटकमा पुलिस इन्स्पेक्टरको रोल विजय सुब्बाले गरेका थिए । पुरुष बन्दीको रूपमा सन्तोष थेवेले रोल खेलेका थिए । पूर्वाञ्चलका धेरै ठाउँमा नाटक प्रदर्शनपछि एक दिन सन्तोष थेवेले प्रस्ताव गरेछन्– ‘मैले आस्थाको बन्दीको रोल धेरै गरँे, रोल चेञ्ज गरौं । म इन्स्पेक्टरको रोल गर्छु, विजयले बन्दीको रोल गरोस् मलाई र उनलाई यौटा अनुभव पनि हुन्छ ।’ सबैले सन्तोष थेवेको प्रस्ताव स्वीकार गरे । जुन दिन उनले इन्स्पेक्टरको रोल पाए । उनले आस्थाका बन्दी बनेका विजय सुब्बालाई भकुर्नुसम्म भकुरेछन् । चुरोट खाने पात्र नभए पनि त्यस दिन उनले चुरोट पनि लाइभ सल्काएछन् । आस्थाका बन्दी विजय सुब्बाको निधारमा जलिरहेको सिगरेट निभाउने दाउमा रहेका सन्तोष थेवेलाई देखेर सहकर्मी पुलिस पनि डराएर बल्ल–बल्ल छुट्याएछन् । जुन भूमिका हो, त्यो भूमिकामा गहिरोसँग डुब्ने सन्तोष थेवेको त्यसदिन साँच्चीकै क्रुर पुलिसको अवतार देखेर नाटकका सहकर्र्मी पनि छक्क परेछन् । थाहा छैन त्यतिका दिनसम्म बन्दी बनेका सन्तोष थेवेको इन्स्पेक्टर अवतारमा आएर विजय सुब्बालाई रिस फेरेका हुन् वा उनको साँच्चीकै मन मुटाव भएको थियो । त्यसदिन के भएको थियो, अहिले पनि भन्न सकिन्न ।

किस्साः ३
रामायणको अर्काे पृष्ठ
निर्देशक सुवास थापा हुन् । यो नाटकमा दशरथ विजय सुब्बा थिए । लक्ष्मण हिमाल दाहाल, रावण विशाल भण्डारी थिए । नाटकको तयारी राम्रै भएको हो । नाटकमा सबैजना आ–आफ्नो अभिनयमा पोख्त थिए । कुरा कहाँ बिग्रियो भने नाटकमा स्कृप्टबाहिरको कुरा जब हुन्छ, तब रमाइलो सम्झना बन्दोरहेछ । दशरथको दरबारबाट वनबासको लागि राम, सीता र लक्ष्मण जङ्गल प्रस्थान गर्ने बेलामा राजा दशरथ बनेका विजय सुब्बाको मुकुट अचानक खुस्किएर भूइँमा खस्छ । अकस्मात भएको यो नाटकको घटनामा लक्ष्मण बनेका हिमाल दाहालले हतार–हतार टिपेर ‘पीता तपाईको मुकुट’ भनेर दिँदा विजय सुब्बा दशरथले के भनुँ भनुँ भएर ‘आयुस्मान भव’ भनी पठाएछन् । दशरथ बनेका विजय सुब्बा अलिकति हाँसेछन् पनि ।

सोही नाटकको अन्तमा रावणको बध गर्नु थियो । रावणको बध नाइटोमा वाण लागेपछि मात्रै हुन्थ्यो । कथामा भएको स्कृष्टमा नहुने कुरै भएन । रामले हानेको वाणले रावणको टाउकोमा लाग्दा केही नभएका रावण गज्जबले हाँसिरहन्छन् । रामको केही नलागेको बेला रावणको भाइ विभिषण बनेका दिवस राईले रावणको नाइटोको मरणको रहस्य खोलिदिएपछि रामले ब्रह्मस्त्र प्रयोग गरेर नाइटोमा वाण हान्छन् ।  रावणको मृत्युको रहस्य खोलेपछि उनको मृत्यु हुन्छ । राम बनेका सुवास थापाले वाण नाइटोमा ताग्छन्, रावण बनेका विशाल भण्डारी भने छातीमा वाण लागेको भावमा दुवै हातले छाती समातेर मरेको अभिनय गर्दै ढल्नै लागेका हुन्छन् । त्यही बेला उनलाई याद हुन्छ । म त पेट समातेर मर्नुपर्ने । रावणको मृत्यु सम्झेर हतार–हतार पेट समातेर उनी मर्छन् । अहिले पनि धरानका दर्शकले बिर्सिए पनि धरानका कलाकारहरूले यसलाई कहाँ बिर्सनु ? अहिले पनि ताजै छ ।  
 
किस्साः ४
गोबर मल
कालचक्र सडक नाटक धरान–१३ जानकी चौकमा देखाउनु थियो । कालचक्र नाटक पूर्वाञ्चलको क्षेत्र नम्बर १ का धेरै ठाउँमा प्रदर्शन गरिएको नाटक पनि हो । यो नाटकमा गाउँले किसानहरूको दैनिकी देखाइएको छ । कालचक्रमा विशाल भण्डारी खेतका धनी, केही रोपाहार, केही बाउसे बनेका छन् । सर्दु खोलानजिकको यो जानकी चौकस्थित नाटक गर्ने ठाउँमा नै खोलापारि चर्न गएको गाईले चोकमा गोब्राएको रहेछ । त्यो गोबर पनि नाटकको हिस्सा बन्छ भनेर कसैले सोचेका रहेनछन् । विशाल भण्डारी यस्ता कुरामा माहिर थिए । खेत जोत्दै गरेको हली र सम्याउँदै गरेका बाउसेलाई गोबरको थुप्रो देखाउँदै भनेछन्, ‘यी खेतालाहरूलाई यो मल सबै खेतभरि छर भनेको त एकै ठाउँमा थुपारेछन् । ए गुमाने यो मल चारैतिर छर्’ भनेर डाइलग भनेपछि नाटक हेर्ने दर्शक त हाँसे नै, नाटकका कलाकार पनि पेट मिची मिची हाँसेछन् । स्कृप्टमा नभएको संवाद एक्कासि त्यसरी आउला भनेर कसले सोचेको होला र ? त्यहीबेला कलाकार आशा मगरातीले हाँस्दै जोेडेछन् । ‘बाजे पनि हसाउँनु हुन्छ’ भन्दै नाटकलाई हास्यरसबाट गम्भीर रसमा ल्याइपु¥याएछन् ।
किस्साः ५
पलिखे पथ
नाटकको अभिनयमा निक्कै चासो राख्नेमध्ये सुवर्ण पलिखेको नाम पनि किस्सामा किन नआउने ? उनका किस्साहरू केही यहाँ समेटिएका छन् । निर्देशक र कथाले जे भने पनि उनले आफ्नोपन भने बीचमा मिसाइहाल्ने हुनाले उनी किस्साको पात्र बन्ने गरेको उनका साथीभाइहरू बताइरहन्छन् । ‘यात्रा’ नाटकमा उनले इन्स्पेक्टरको रोल पाएका रहेछन् । उनले नाटकमा इण्ट्री हुँदा नेपाली चलचित्रको गीत गुन्गुनाउँदै भित्रिनु पर्ने रहेछ । तर उनले रिहर्सलमा नेपाली चलचित्रको गाए पनि नाटकको दिन भने हिन्दी गीत गाइहालेछन् ।

उनी डाइलग बोल्दा पनि चिच्याएर बोल्ने उनको बानीलाई धरानका कुनै पनि निर्देशकले सुधार्न नसकेका रहेछन् । सीमाबाहिर नाटकमा एउटा संवाद रहेछ पलिखेले बोल्नुपर्ने । दुई जनाबीच भएको कुराकानी जस्तो दुई साथीसँग बोल्नुपर्ने  ‘काम भयो ?’ उनले रिहर्सलमा राम्रो सम्झाएर बोलेका पनि हुन् । फेरि उनमा के भूत चढ्छ । हजारौं मानिसलाई सुनाए जसरी ‘काम भयो ?’ भनेर लाउड भ्वाइसमा बोल्दा नाटकको संवादको लय नै भरेसम्म विशृङ्खलित भएको पनि किस्सा छ ।  

सुवर्ण पलिखेले सरुभक्त नाटक ‘अर्र्काे गोलाद्र्ध’ नाटकमा यमराजको रोल निभाएका रहेछन् । यो नाटक सिर्जना नाट्य परिवारले मञ्चन गरेको हुनुपर्छ । उनको यमराजको पहिचान भएको सिङजस्तो मुकुट लाएका रहेछन् । यो नाटकमा उनले पहिलो केही मिनेट त दुई सिङे टोपी लगाएर नै डाइलग मारेछन् । पसिनाले लतपत भएपछि चाहिँ उनले सिङ फुकालेर नाटकको अन्त्य गरिदिएछन् । सुवर्ण पलिखेका यी किस्साहरूले अहिले पलिखे पथको रूपमा पहिचान पाए पनि अनुमोदन हुन बाँकी नै छ । उनको किस्सा धरानमा निरन्तर चलि नै रहेका छन् ।
धरानमा हुने नाटकका किस्साहरू यति मात्रै होइन । मैले केही सुनेका र केही रङ्गकर्मी दिदी शशी थापा सुब्बा, दाजु सुवास थापा वेलायत र धरानमा गोपाल देवान दाजुहरूबाट साभार गरेको हुँ ।
अन्तमा,
यिनै किस्साहरूमा बाँचेको धरानमा म पनि त्यही किस्साहरूको स्वप्नदर्शी भएर केही समय बाँचेँ । धराने रङ्गकर्मको बायाँ किनाराको साक्षी बनेर बाँचेको यो मनले धरानलाई सलाम गर्छ । अहिले पनि धराने रङ्गकर्मीहरूको सोझो र सरल मनहरूले मलाई असल मानिस बन्ने यात्रामा हिँड्न झक्झकाइरहन्छ । धरानमा अहिले नाटकघरको निर्माणको खबरले मलाई पनि यो परदेशको उराठिलो बसाइमा केही ऊर्जा थपेको छ । नाटक गर्नु भनेको अभिनय मात्रै होइन, यो त समाजको दर्पण हो । समाजको विकासको मापन हो । धरानमा अहिले पुुनस्र्थापना केन्द्र होइन, दशवटा नाटक गर्ने भवन बनायो भने पुनस्र्थापना केन्द्रहरू विस्तारै विस्थापित हुँदै जानेछन् ।
 
धरानमा पुलिस अपराधमा आरोपित व्यक्तिहरूलाई राख्ने पुलिस थानालाई सुविधायुक्त  र आधुनिकीकरण गर्ने तिनै समाजसेवीहरू कुन दुलामा छन् आजकल ? हाम्रै करले पालिएका पुलिसको ‘जी हजुरी’ गर्ने समाजसेवीहरूले बुझ्नुपर्छ कि जेलभन्दा नाटकघरले स्वतन्त्रताको लागि संसारमा आन्दोलन गरेको ज्वलन्त उदाहरणहरू छन् । सभ्यताको प्रतीक नाटक कर्मलाई भवन बनाउन कथित समाजसेवी उर्फ राजनीतिक प्रतिनिधिहरूको तँछाड मछाड हुनुपर्ने हो तर त्यसो हँुदैन । किनभने अपराध र राजनीति नछुट्टिएपछि समाजमा साहित्य र सभ्यताको विकास हुँदै हँुदैन । बरु धरानमा सजिलै ‘लक्जरी फाइवस्टार जेल’ बन्छ तर नाटकघर बनाउन चाहिँ फलामै चबाए पनि नहोलाजस्तो देख्छु । अहिले धरानमा रङ्गकर्मको लागि भवन बनाउने रकम छुट्याउन पनि कञ्जुस्याइँ गरेको सुन्दा मन चरक्क हुन्छ । अनि धरानमा किस्सा मात्र बाँँच्छ भनेर भन्दा मलाई पनि केही फरक पर्दैन । म पनि धरानको किस्साको एक हिस्सा मात्रै बस्ने भएँ भन्ने लाग्छ ।
(हाल: न्यूयोर्क, ज्याक्सन हाईट)
 

मिक्लाजुङ गाउँपालिका ...

मधुमल्ला / संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम् ...

बलात्कार गर्न खाेज्द ...

ब्लाष्टखबर । बलात्कारकाे प्रयस गरेपछि प्रतिरक्षा गर्दा ...

काेराेना संक्रमित ४९ ...

ब्लाष्टखबर । म्याग्दी जिल्लाकाे धाैलागिरी नगरपालिका ४ क ...

पछिल्लाे २४ घण्टामा ...

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ४ सय ७३ ज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved