मोरङ, टाँडीका भूपेन्द्र तुम्बाहाङ्फे लिम्बू पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त छन् । सञ्जीवनीको स्वर रहेको गीत ‘डाँडा–पाखा छहराले’, ताराप्रकाश लिम्बू र अनु चौधरीको ‘दुःखसँग’ लगायतका गीतका भिडियो उनले पछिल्लो समय निर्देशन गरेका हुन् । दुई दर्जन बढी भिडियो निर्देशन गरेका भूपेन्द्र कुशल सिनेम्याटोग्राफर पनि हुन् । तीन सयभन्दा बढी भिडियो र केही फिल्महरूमा उनले छायाङ्कन गरेका छन् । छायाँकार र निर्देशक बन्नुअघि उनी कुलश नृत्यकार थिए । अहिले पनि उनी बेला मौका स्टेजमा आफ्नो नृत्यकला प्रस्तुत गर्छन् । केही अघिमात्र उनले हङ्कङ पुगेर नृत्य प्रस्तुत गरेका थिए ।

लामो समय पूर्वमा रहेर कलाकारिता क्षेत्रमा सक्रिय उनी हाल काठमाडौंमा रहेर निर्देशन र छायाङ्कनमा सक्रिय छन् । उनले यो अवस्थामा आइपुग्न धेरै सङ्घर्ष गरेका छन् । सानैदेखि नृत्यमा रुचि थियो भूपेन्द्रलाई । उनको गाउँमा चाडपर्वका बेला काका, बुबाहरू नाच्थे । भूपेन्द्र चाहिँ बाँसको टाटीबाट चियाएर उनीहरू जसरी नै घरभित्र नाच्थे । उनका बुबा काकाहरू तिहारमा देउसी भैलो, गाउँका पूजा, विवाहदेखि चुनावी सभाहरूमा नाच्न पूर्वका शहरहरू पुग्थे । भूपेन्द्रलाई पनि त्यसैको रस बस्यो । तर त्यो समयमा पढाइ बिग्रिन्छ भनेर उनलाई परिवारले नाच्न दिएन ।

गाउँमा कसैको घरमा विवाह भयो भने त्यहाँ नृत्य प्रतियोगिता नै हुन्थ्यो । भूपेन्द्र पनि तिनै प्रतियोगितमा भाग लिन्थे र अधिकांशमा पहिलो वा दोस्रो उनै हुन्थे । उनी भन्छन्, ‘दुई–तीन सय रुपैयाँ पुरस्कार र बेहुला–बेहुलीको हातबाट प्रमाण–पत्र पाउँथेँ । त्यसले मलाई अझै हौसला मिल्थ्यो ।’

उनको घरमा सादा टेलिभिजन सेट थियो । उनी बजारबाट नृत्यका सिडी ल्याएर टिभीमा लगाउँथे अनि त्यही हेर्दै नाच्न सिक्थे । त्यहीबेला दमकमा सप्तरङ्गी एफएम खुल्यो । एफएममा दिनभरि गीतै मात्र बज्थ्यो । त्यही गीत सुन्ने क्रममा एकदिन एफएमले नमस्ते कला सङ्गम प्रतिष्ठानको विज्ञापन बजायो । ‘यहाँ डान्स सिक्दा, बन्न लागेको नयाँ फिल्ममा अवसर पाइनेछ’ भन्ने वाक्य सुनेपछि सानैदेखि फिल्मी हिरोको अभिनय गर्दै नाच्ने भूपेन्द्रलाई आफू पनि त्यस्तै हिरो बनेर पर्दामा देखिने रहरले कुत्कुत्यायो । उनी सुनाउँछन्, ‘हाउ कहिले जानुजस्तो हुन्थ्यो । मनमनै कल्पना गर्थें ।’ एसएलसी दिएपछि उनी बुबाको पुरानो हिरो साइकलमा एकापट्टि चामलको झोला र अर्कोपट्टि सागसब्जी, दाल अनि पछाडि दाउरा बोकेर हरर दमकतिर झरे । दमकमा आफन्तको कोठामा केही दिन बसेपछि दमकमा कोठा लिए । ‘कोठामा खाटबाहेक केही थिएन, त्यहीँबाट शुरु भयो सङ्घर्ष’ –उनी सम्झिन्छन् ।

त्यसपछि उनी पुगे उही रेडियोमा विज्ञापन सुनेको नमस्ते सङ्गम कला प्रतिष्ठान । केही समय सिकेपछि उनलाई त्यहाँ सिकाउने गुरुभन्दा त गाउँका आफ्नै काका जान्नेजस्तो लाग्यो । उनी सुनाउँछन्, ‘मेरो नाच हेरेपछि त्यहाँका गुरुले उल्टै तपाईंसँग त मैले पो सिक्नु पर्ने रहेछ भने । अलिपछि अर्को गुरु ल्याएर सिकाउने भनेर मलाई बिदा गरिदिए ।’ त्यहीबेला गाउँको एउटा साथी भेट भयो ।

उसले आफू फिल्म बनाउन लागेको भन्दै वर्कसपमा बोलायो । म उसकै पछि लागेँ । तालिम लिएँ । उनलाई क्यामेरा अगाडि उभ्याएर नाच्न र अभिनय गर्न लगाइयो र ‘राम्रो गर्दा रहेछौ, हिरो बन्न सक्ने रहेछौ’ भनेर तारिफ गरे । एक–दुई दिनपछि फिल्ममा खेल्न ५० हजार जति लगानी गर्नुपर्ने प्रस्ताव आयो । गाउँबाट ५ सय बोकेर आएका उनलाई ५० हजारले रन्थन्यायो । अघिल्लो दिनसम्म हिरो बनाउने प्रस्ताव गरिरहेका निर्देशकले उनले पैसा तिर्न नसक्ने भनेपछि भोलिपल्ट बोलाएर भने ‘भाइलाई भिलेनमा चाहिँ सुहाउने रहेछ ।’ पर्सिपल्टदेखि भूपेन्द्र त्यहाँ जानै छाडे । उनी निराश पनि भए । तर हिम्मत हारेनन् ।

वर्कसपमा क्यामराम्यानको फूर्ति देखेर उनी आकर्षित भएका थिए । उनलाई फिल्म बनाउन सबैभन्दा ठूलो कुरा त क्यामरा रहेछ भन्ने लाग्यो । क्यामरा किन्न पाए त आफै पनि फिल्म बनाइन्थ्यो भन्ने जोश चल्यो । तर पैसा थिएन, कहाँबाट किन्ने । उनी तुरुन्तै पैसा कमाएर क्यामरा किन्न चाहन्थे । यहाँबाट त्यत्रो पैसा कमाउने अवस्था थिएन । विदेश जाने निधो गरे तर विदेश जान पनि पैसा नै चाहियो । म्यानपावर गएर बुझ्दा एक जनाको ९० हजार लाग्ने रहेछ । उनले उपाय रचे । विदेश जान चाहने ५–६ जना साथी जम्मा पारे र म्यानपावरमा गएर आफू टिमको लिडर भएको र जहाँ आफूलाई छुट हुन्छ, त्यहीँबाट सबजना जाने भनेपछि उनलाई ६० हजार मात्र लिने भयो ।

त्यसपछि मलेसिया पुगे । ‘म्यानपावरले मेन्टेनेन्स कम्पनी भनेर लगेको थियो तर उहाँ पुग्दा त क्लिनरको काम रहेछ’ भूपेन्द्र सुनाउँछन्, ‘तलब थोरै रहेछ, त्यसमा पनि मलेसियन दादाहरूले पैसा मागेर हैरान । त्यसपछि भागेर सेक्युरिटी काम गर्न थालेँ । त्यसपछि मलेसियाको गाउँमा पुगेर काम गरेर अलिकति पैसा जम्मा गरेँ ।’ क्यामरा किन्ने पैसा पुग्यो, उनको उद्देश्य पनि पूरा भयो । त्यहीँ एउटा ह्यान्डी क्यामरा किनेर उनी नेपाल फर्किए ।

क्यामरा लिएर फर्किएपछि भूपेन्द्रको शान नै बेग्लै भयो । कतै जाँदा भीड जम्मा भएको देख्यो कि उनी क्यामरा ते¥स्याइहाल्थे । यसो गर्दागर्दै गाउँमा हुने विवाह, भोजको भिडियो खिच्न थाले । वरपरबाट विवाहको भिडियो खिच्न उनलाई निम्ता आउन थाल्यो । उनी त्यसैमा व्यस्त भए, हिरो बन्ने सपना कता हरायो कता । विहेको भिडियो खिच्दाखिच्दै १५ मिनेटमै क्यामराको ब्याट्री सकिन्थ्यो । विहेको भिडियो बिग्रिन थालेपछि उनको मार्केट घट्यो । विहेमा भिडियो खिच्न पनि बोलाउन छाडे ।

त्यसपछि भूपेन्द्रका काका पर्ने तिलक लिङ्देनले तालिम खुलेको जानकारी दिए । ४ हजार तिरेर तालिम लिएपछि ३१ जनामध्ये उनको नाम पहिलो स्थानमा निस्कियो । त्यसपछि उनी हिमशिखर टेलिभिजनमा क्यामरापर्सन भए । उनले क्यामरा चलाएको देखेका गायक कुशल थलङले एउटा भिडियो निर्देशन गर्ने जिम्मा दिए । पछि भिडियोको छायाङ्कन गर्न थाले । विस्तारै क्यामराम्यानमा व्यस्त बनेपछि उनको हिरो बन्ने सपना सपनामै सीमित रह्यो । उनी भन्छन्, ‘पछि त ज्यान पनि मोटो भयो, हिरो बन्ने सपना सपनै रह्यो ।’

तर उनलाई दयाहाङ राईजस्ता मोटाघाटा हिरोको जमाना आएको देखेर आशा भने मरेको छैन रे । अहिले उनलाई छायाङ्कनसँगै निर्देशनमा रुचि बढेको छ । हुन त उनले केही फिल्ममा छायाङ्कन पनि गरे । अहिले उनी आफ्नो बुबाले गरेको दुःख, काकाको फिल्म बनाउने चाहना पूरा गर्न आफै फिल्म बनाउने योजनामा छन् । उनी भन्छन्, ‘आफ्नै गाउँघरको कथामा फिल्म बनाउन चाहन्छु ।’