इटहरी/ नेपालमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापना गर्नका लागि धेरैले बलिदान दिएका छन् । अनि धेरैले शारीरिक र मानसिक यातना भोगेका छन् ।

इटहरी म्याट्रिक्समा प्रदर्शन भइरहेको नाटक ‘दमनको राप’ मा २०४६ सालको जनआन्दोलनका बेला राजबन्दीहरूले भोगेका त्यस्तै यातनाहरूको कथा देखाइन्छ । नाटकले विशेषगरी त्यसबेला राजबन्दीमाथि प्रहरीले कस्तो व्यवहार गथ्र्यो र बन्दीहरू कसरी आफ्नो अडानमा दृढ रहन्थे भन्ने कथा प्रस्तुत गरेको छ । तत्कालीन सत्ताले धम्क्याउँदा वा प्रशस्त सम्पत्तिको लोभ देखाउँदा पनि राजबन्दीहरू हलचल नगरी देश र प्रजातन्त्रका लागि मर्न तयार भएकैले प्रजातन्त्र स्थापना गर्न बाध्य भएको नाटकले सन्देश दिन्छ । नाटकलाई जीवन्तता दिन कलाकारहरूले निक्कै मेहनत गरेका छन् ।

‘दमनको राप’ पहिले पनि प्रदर्शन भइसकेको नाटक हो तर अहिले पुनः प्रदर्शन शुरु भएको छ । नयाँ पुस्तालाई २०४६ सालको आन्दोलनका बेला सरकारी पक्षको दमन र तत्कालीन राजनीतिकर्मी, कवि कलाकारहरूको सङ्घर्षबारे बुझाउन पनि अहिले नाटक नयाँ कलाकारहरूसहित पुनः प्रदर्शन गरिएको नाटकका लेखक गोपाल देवान बताउँछन् ।

‘यो नाटक केही समयअगाडि ३२ ठाउँमा प्रदर्शन गरिएको र अहिले पुनः इटहरीमा देखाइएको हो’ –उनले भने । ‘हामीले २०५२ सालमा मञ्चन गरेका थियौँ’ नाटकका निर्देशक विक्रम श्रिले भने, ‘नाटक राजनीतिक नेतृत्वलाई समेत देखाइनेछ ।’

‘दमनको राप’ हेर्न धरानबाट इटहरी पुगेका मानबहादुर मगर नाटकमा देखाइएको यातनाको दृश्य हेरेर तर्सिए । ‘नाटकमै जथाभावी कुटपिट गरेको, यातना दिएको देखेर डर लाग्यो’ उनले भने, ‘हामीलाई नाटकमा देख्दा त त्यस्तो भयो भने त्यसबेला भोग्नेहरूलाई कस्तो भयो होला रु’

पहिले पनि दर्शकद्वारा रुचाइएको यो नाटक यसपटक इटहरी, विराटनगर हुँदै प्रदेश १ का सबै जिल्लामा प्रदर्शन गरिनेछ । त्यसपछि सातवटै प्रदेशमा प्रदर्शन गर्ने तयारी गरेको निर्देशक विक्रमश्रिको भनाइ छ । ‘हामी प्रदेश सरकारसँग समन्वय गरेर यहाँका नेतृत्व तहलाई यो नाटक देखाउँछौँ’ –उनले भने ।

नाटकका लेखक गोपाल देवानले उक्त नाटकका मुख्य पात्र कवि तथा पत्रकार राजकुमार कार्कीको सङ्घर्ष र जेल जीवनका कथामा आधारित रहेको बताए । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा संलग्न हुँदा कार्की पटक–पटक गरी करिब ५ वर्ष जेल बसेका थिए । जेलमा उनले पाएको यातना र उनको तत्कालीन पारिवारिक, आर्थिक अवस्था पनि नाटकमा प्रस्तुत गरिएको देवानले बताए ।

उनी कविता लेखेकै कारण १२ पटकसम्म जेल परेका थिए । नाटकमा कार्कीको प्रतिरूप अभिनय कलाकार दीपेन्द्र सिंह दर्नालले गरेका छन् । नाटकमा राजबन्दी बनेका दीपेन्द्रले दमनकारी प्रहरीका अगाडि एउटा कविता सुनाउँछन्, ‘आस्था चाहिन्छ, विश्वास चाहिन्छ, अनिमात्र खोजेको वस्तु पाइन्छ... ।’ यो कविता उनै कार्कीले लेखेका हुन् । नाटक हेरेपछि कार्कीले भने, ‘मैले वास्तविक रूपमा भोगेका यातनाका धेरै कुराहरू नाटकमा समेटिएका छन् । नाटक हेर्दा त्यसबेला मेरा हात–खुट्टाका औंलामा खोपिएका काँटीले अझै पोलिरहे झैं लाग्यो ।’

नाटकमा लेखक गोपाल देवानले डिएसपीको दमदार भूमिका निभाएका छन् । दीपेन्द्रसिंह दर्नाल, आईपी भट्टराई, शान्तिराम राई, पानस गुरुङ, मौसमी कार्की, सञ्जय गिरी, प्रभात पोख्रेल, नमिता लिम्बू, कुमार प्रसाद ढुङ्गाना, अशेष तिम्सिना, दीपेन्द्र राई, कृष्ण तिम्सिना, कमानसिंह याम्फू, सविना राई, प्रकाश पोख्रेल, तीर्थ बराइलीलगायतको अभिनय पनि सशक्त छ ।

नाटक २ घण्टा २० मिनेट लामो छ । महानन्द पुरस्कारसमेत पाएको उक्त नाटक उत्कृष्ट बन्नेमा निर्देशक विक्रमश्रि ढुक्क छन् ।
बिहीबार नाटक हेर्न इटहरी म्याट्रिक्स पुगेकी पूर्व कृषिराज्यमन्त्री रामकुमारी चौधरीले नाटक हेर्दा आफूले पनि कुनै बेला जेलनेल भोगेको याद आएको बताइन् ।

उनले यो विशेषगरी २०४६ सालको जनआन्दोलनमा आधारित भएकाले अहिलेको पुस्ताले त्यसबेलाको राजनीतिक अवस्था र हालको परिवर्तन बुझ्न नाटक हेर्नुपर्ने बताइन् । उनले भनिन्, ‘यो नाटकबाट नयाँ पुस्ताले इतिहास बारे ज्ञान पाउन सक्छन् ।’ नाटक हेर्न प्रदेश सांसद् उपेन्द्र घिमिरे, इनरुवाका मेयर राजन मेहतालगायतको उपस्थिति रहेको थियो ।

kala