आगामी मङ्सीर १४ गते विभिन्न कारणले जनप्रतिनिधि अभाव रहेका स्थानीय तहहरूमा उपनिर्वाचन गर्ने टुङ्गो भएपछि अहिले देशभर चुनावी चर्चा परिचर्चा शुरु भएको छ । एक वर्षदेखि प्रमुख विहीन बनेको धरान उपमहानगरपालिकामा पनि अहिले जोडतोडका साथ चुनाव लागेको छ । त्यसैले अहिले राजनीतिक दलहरूबीच चुनावी दौड शुरु भइसकेको छ । पहिलाको स्थानीय निर्वाचनमा तत्कालीन एमाले, माओवादी र काङ्गे्रस मुख्य पार्टीका रूपमा थिए तर आउँदो उपनिर्वाचनका लागि नेकपा र काङ्ग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने अवस्था छ । त्यसैले पनि उपनिर्वाचनको रौनक झनै बढेको छ । दलका स्थानीय नेताहरूले उपनिर्वाचनको तयारी गरिरहँदा धरानका बुद्धिजीवी भने विकासप्रेमी साझा नेताको खोजीमा छन् । धरान उपमहानगरपालिकाको मेयर बन्नका लागि नेकपामा धेरै जना आकाङ्क्षीहरू देखिएका छन् । पूर्वएमाले र पूर्वमाओवादी दुवैतर्फका दाबेदारहरू यतिबेला आन्तरिक छलफल र जोडघटाउमा लागिसकेका छन् ।

नेकपाका स्थानीय नेताहरूमा प्रकाश राई, रमेश बस्नेत, मुक्सामहाङ मेन्याङ्वो, आइन्द्रविक्रम बेघादेखि पूर्वमेयर मनोजकुमार मेन्याङ्वोको समेत नाम चर्चामा छ । त्यसो त आकाङ्क्षीमा नारायण सुवेदी र चोत्लुङको समेत नाम आउने गरेको छ । नेकपाको माथिल्लो तहमा भने पूर्वविद्यार्थी नेता विजय राईको समेत चर्चा पुगेको छ । नेकपाभित्रका पूर्वएमाले र पूर्वमाओवादीहरूका आ–आफ्ना छलफल पनि भइरहेका छन् । विभिन्न गुटका बेग्लाबेग्लै छलफल पनि जारी छन् । उता अघिल्लो स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेसँग करिब ५ हजार मतले हारेको नेपाली काङ्ग्रेसलाई करिब ११ हजार मत ल्याएको तत्कालीन माओवादीसमेत मिलेर बनेको नेकपालाई सजिलै जित्न मुस्किल छ । त्यसैले ऊ अन्य साना पार्टीहरूसँग मिलेर चुनावमा जाने रणनीतिमा छ । काङ्ग्रेसभित्र अहिलेसम्म तिलक राई, सुजेन्द्र तामाङ र किशोर राईको नाम चर्चामा छ । अहिले चर्चामा आइरहेका धेरैजसो नेता त धरानको विकास, जनप्रतिनिधि विहीन अवस्थाका स्थानीय निकायका दलीय संयन्त्रलगायतमा बसेर काम गरिसकेका अनुहार छन् । उनीहरूले संयन्त्रमा बस्दा, विकासका विभिन्न समिति, संस्थामा रहेर काम गर्दा के कस्ता काम गरे धरानवासीले धेरै थोरै बुझेकै हुनुपर्छ ।

विकासका कुरा गर्दा धरान ओरालो गतिमा छ । पहिले भएका सरकारी कार्यालयहरू टिकाउन नसक्नु र पछिल्लो समयमा विकासका ठूला काम सफल बनाउन नसक्नुमा यहाँका समग्र नेताहरूको अक्षमता बुझ्न सकिन्छ । धरानमा बसपार्क, एयरपोर्ट, खानेपानी जस्ता ठूला योजनाहरू अहिले पनि विवादमै छन् । विकासका काममा सहमती जुटाउन नसक्नु यहाँका नेताहरूको कमजोरी हो । अझ विवादित विषयहरूमा नेताहरू नै जोडिनु धरानको दुखद् नियती हो । यहाँका नेतृत्वहरूका विगतका कामले धरानका बुद्धिजीवीहरू निराश छन् । त्यसैले पनि उनीहरू विकासप्रेमी साझा नेताको खोजीमा छन् । कुनै बेला भौतिक र बौद्धिक दुवै विकासमा धरानलाई पूर्वमा अग्रणी शहरका रूपमा लिइन्थ्यो । पछिल्ला दिनमा यी दुवै विकासमा क्षयीकरण भएको छ । दलका स्थानीय कमिटीहरूमा आशालाग्दा अनुहार नदेखिनु धरानको भविष्यका लागि चिन्ताको विषय हो । विगतलाई हेर्दा धरानका निर्वाचनहरू पार्टी र जातिबाट प्रभावित हुने गरेका छन् । वर्तमान समयमा पार्टी र जाति भन्दा माथि उठेर धरानको गिर्दो साखलाई माथि उठाउने विकासप्रेमी नेतृत्वको खाँचो छ ।