गाईघाट । निजी तथा आवासीय विद्यालयहरूले मात्र विगतमा अङ्ग्रेजी माध्यमबाट पठन–पाठन गराउँदै आइरहेको बेला केही वर्षयता आएर उदयपुर जिल्लामा सरकारी विद्यालयले पनि धमाधम अङ्ग्रेजी माध्यमबाट पठन–पाठन गराउने क्रम बढाउँदै लगेका छन् ।

उदयपुर जिल्लामा सञ्चालन हुँदै आएका ४ सय ५६ वटा सरकारी विद्यालयमध्ये अहिले त्रियुगा नगरपालिका, कटारी नगरपालिका, चौदण्डी नगरपालिका र बेलका नगरपालिकाभित्रका सरकारी विद्यालयहरूमध्ये करिब तीन दर्जन सरकारी विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेका छन् ।
जिल्ला शिक्षा समन्वय एकाइ समिति उदयपुरका प्रमुख केदारप्रसाद गिरीका अनुसार अहिले उदयपुरमा यस नयाँ शैक्षिकसत्रबाट झण्डै तीसभन्दा बढी सरकारी विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेको बताए ।

गत वर्षसम्म त्रियुगा नगरपालिका, कटारी नगपालिका र चौदण्डी नगरपालिकाका सरकारी विद्यालयले मात्र अङ्ग्रेजी माध्यमबाट पठन–पाठन गराउँदै आएको भए पनि यस वर्षको नयाँ शैक्षिकसत्रदेखि बेलका नगरपालिकाभित्रका केही दक्ष जनशक्ति भएका सरकारी विद्यालयले समेत अङ्ग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेको जिल्ला शिक्षा समन्वय एकाई समिति उदयपुरले बताएको छ । अहिलेका धेरै विद्यार्थी र अभिभावकहरूको चाहना नै अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको रुचि भएको हुँदा धेरै विद्यार्थी निजी विद्यालयहरुतर्फ आकर्षित भइरहेको बेला उदयपुरमा अहिले सरकारी विद्यालयहरुले धमाधम अङ्ग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेपछि विद्यार्थी भर्नाको सङ्ख्या पनि ह्वात्तै वृद्धि भएको छ ।
जिल्लाको सदरमुकाम गाईघाट बजारमा अवस्थित जिल्लाकै नमूना सरकारी विद्यालयका रूपमा रहेको त्रियुगा नमूना विद्यालयले पहिलो पटक २०६७ सालबाट अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको थालनी गरेपछि अहिले नयाँ शैक्षिकसत्र २०७६ साल आइपुग्दा तीन दर्जनको हाराहारीका सरकारी विद्यालय अङ्ग्रेजी माध्यमबाट पठन–पाठन शुरु गराइसकेको पनि जिल्ला शिक्षा समन्वय एकाई समिति बताउँछ ।

जिल्लाकै अब्बल नमूना सरकारी विद्यालयका रूपमा रहेको त्रियुगा नमूना माविमा यस नयाँ शैक्षिकसत्र २०७६ मा अङ्ग्रेजी माध्यमबाट अध्ययन गर्न आउने नयाँ विद्यार्थीको सङ्ख्या सात सय नाघिसकेको कारण विद्यार्थी भर्ना नै बन्द गरिसकेको विद्यालयका प्राचार्य सुवास विष्ट बताउँछन् ।
यस्तै जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको त्रिवेणी मावि, चौदण्डी नगरपालिकाको बेल्टार बजारमा अवस्थित ज्योति माविमा अङ्ग्रेजी माध्यमबाट अध्ययन गर्न आउने विद्यार्थीको चाप बढी भएपछि अहिले विद्यार्थी भर्ना नै बन्द गर्नु परेको सम्बद्ध विद्यालयका प्राचार्यहरू बताउँछन् ।
विगतका वर्षमा धेरै विद्यार्थीको पठन–पाठनको आकर्षणको केन्द्रविन्दु निजी तथा आवासीय विद्यालयहरू हुने गरे पनि अहिले सरकारी विद्यालयले समेत अङ्ग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेपछि विद्यार्थीको आकर्षण सरकारी विद्यालयतर्फ बढ्न थालेको त्रियुगा रामजानकी मावि गाईघाट मोतिगडाका पूर्वप्राचार्य शङ्करबहादुर थापा बताउँछन् ।
सरकारी विद्यालयहरूले बर्सेनी अङ्ग्रेजी माध्यमबाट पठन–पाठन शुरु गर्दै लगेपछि अहिले सरकारी विद्यालयहरूबाट निजी विद्यालयहरूतर्फ विद्यार्थीहरू विद्यालय छाडेर जाने क्रम पनि रोकिँदै गएको र सरकारी विद्यालयहरूमा विद्यार्थी वृद्धि हुँदै गएको जिल्लाका शिक्षामा संलग्न सरोकारवाला निकाय तथा व्यक्तिहरू बताउँछन् ।