दमक/ झापाको दमकस्थित पूर्व–पश्चिम राजमार्गबाट करिब १२ किलोमिटर दक्षिणमा पर्छ निर्माणाधिन औद्योगिक पार्क । चीन सरकारले ‘वान रोड वान बेल्ट’ (ओवर) अन्तर्गत दमकमा औद्योगिक पार्क बनाउने भएपछि त्यसका लागि आवश्यक जग्गाको अधिग्रहण भइरहेको हो ।

यस क्षेत्रमा औद्योगिक पार्क बन्ने सुनेपछि स्थानीय नागरिकमा उत्साह समेत जागेको छ । दमक–१० का मिदुल धिमाल यहाँ औद्योगिक पार्क बन्यो भने छोराछोरीलाई श्रम गर्न विदेश पठाउन नपर्ने भन्दै औद्योगिक पार्कको निर्माण हुने समय कुरेर बसेका छन् ।

आफूहरूले पनि सानोतिनो काम पाइने आशामा बसेका धिमालले औद्यौगिक पार्क निर्माणका लागि जग्गा अधिग्रहणमासमेत सहयोग गरिरहेको बताए । दमकका धिमालमात्र होइन कमल गाउँपालिका–७ का पूर्णबहादुर निरौला पनि यस ठाउँमा औद्योगिक पार्क आउने आश गरेका बसेका छन् ।

‘बेला –बेला गाडीका लामलस्कर लागेर आउँछन् । ठूला–ठूला मान्छे आउँदै हेर्दै जान्छन्’ निरौला भन्छन् ‘यसरी पटकपटक ठूला मान्छे आएर हेरेको ठाउँमा कसो उद्योग नखुल्ला?’

३ खर्ब ३३ अर्बको लगानीमा निर्माण हुने भनिएको औद्योगिक पार्क निर्माणका लागि जग्गा अधिग्रहण कार्य अन्तिम चरणमा पुगेको छ । २२ सय बिघा आवश्यक परेको जमिनका लागि अधिग्रहण भएको हो ।

दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको सिमानामा औद्योगिक पार्क निर्माण हुने भनिएको हो । २२ सय बिघा क्षेत्रफल जग्गा आवश्यक रहेकामा ९४२ बिघा सरकारी जमिन रहेको छ ।

बाँकी जमिनका लागि सम्बन्धित जग्गा धनीलाई जग्गा अधिग्रहणका लागि दर्ता गराउन गत फागुन १४ गते पहिलो सूचना प्रकाशन गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जग्गा प्राप्ति सम्बन्धी सम्पर्क कार्यालयका मुख्य सम्पर्क अधिकृत सञ्जय थापाले बताए ।

थापाका अनुसार पहिलो सूचनाअनुसार सम्बन्धित क्षेत्रका नागरिकबाट ४ सय १० बिघा जमिन अधिग्रहणका लागि आवेदन आएको र उक्त जग्गाको दशैं लगत्तै मुआब्जाको रकम वितरण गर्ने तयारी रहेको छ ।

गत वर्षको पुस महिनामा चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरूले यस क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।

४ वटा ब्लक रहेको यो क्षेत्रमा उक्त टोलीले ‘ब्लक ए’ को स्थलगत अवलोकन गरेको थियो । दमक नगरपालिकाका अनुसार चीन–नेपाल यूई इन्डस्ट्रियल पार्क निर्माणका लागि समझदारी पत्र (एमओयू) समेत भइसकेको छ ।

यसको डीपीआर निर्माणको अन्तिम तयारी भइरहेको नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।

ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको टोलीले अवलोकन गरेर फर्किएको यस क्षेत्रमा औद्योगिक पार्क निर्माण भइसकेपछि प्रत्यक्ष र अप्रत्यक्ष गरी २ लाख बढीले रोजगार पाउने विश्वास लिइएको नगर प्रमुख ओलीले ब्लाष्टलाई बताए ।