भद्रपुर । देशको एकमात्र चिया प्रविधि तथा व्यवस्थापन विषय पठन–पाठन एक वर्षयता बन्द छ । चिया प्रविधि पढाइ हुँदै आएको मेची बहुमुखी क्याम्पस भद्रपुरमा विद्यार्थी भर्ना शून्य भएपछि पठन–पाठन बन्द भएको हो । विश्वविद्यालय र क्याम्पस व्यवस्थापनको तालमेलको अभावमा विद्यार्थी भर्ना शून्य हुँदै आएको छ । विद्यार्थीले चासो नदेखाएकाले गत वर्षदेखि पढाइ बन्द भएको क्याम्पस व्यवस्थापनले जनाएको छ । २०६७ सालदेखि शुरु भएको चिया प्रविधिमा त्यसवर्ष विद्यार्थीको चाप अत्यन्तै भएको पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले बताए । २४ विद्यार्थी मागमा ५५ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । विश्वविद्यालयसँग तीनजना प्राध्यापकको दरबन्दी माग गरे पनि स्वीकृत नगरेकाले विद्यार्थी भर्ना शून्य अवस्थामा आइपुगेको उनको आरोप छ । चिया प्रविधि विषय अध्यापनका लागि खर्च अत्यधिक लाग्ने र माथिल्लो कक्षा नेपालमा नभएकाले पनि विद्यार्थीहरुको चासो घटेको उनले बताए । दोस्रो वर्ष १३ र तेस्रो वर्षमा ७ जनाले नाम लेखाए पनि गतवर्षबाट शून्य रहेको उनको भनाइ छ । सेमेस्टर प्रणालीमा विद्यार्थीलाई कोर्ष पूरा गर्दा ३ लाख ३७ हजार ८ सय रुपैयाँ लाग्थ्यो । तर, क्याम्पसले वार्षिक कोर्षमा ५० हजार लिएर २ लाखमा पूरा गर्ने भने पनि विद्यार्थी भर्ना शून्यमा झरेको सहायक क्याम्पस प्रमुख डाक्टर कृष्णप्रसाद भट्टराईले बताए । चिया विकास बोर्डले चिया प्रविधि पढेकालाई तत्कालै जागिर दिन राजी छ । तर, प्राविधिकको अभाव छ । क्याम्पसले आफ्नो दुई बिगाहा जमिनमा चिया लगाउने भने पनि हालसम्म लगाउन सकेको छैन । चिया विषय अध्ययनकै लागि क्याम्पसले विद्यार्थीलाई प्रयोगात्मकका लागि १० कठ्ठा जग्गामा चिया पत्ती रोपेको र छुट्टै चिया माटो परीक्षण प्रयोगशाला बनाए पनि अहिले प्रयोगविहीन अवस्थामा छ । दक्ष प्राविधिकको अभावमा झापाको चिया खेती फस्टाउन सकेको छैन । विद्यार्थीको हौसलाको लागि स्थानीय धनजुजु श्रेष्ठले ४ लाख ९६ हजारको अक्षयकोष खडा गरी आउने ब्याजबाट उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृतसमेत गर्दै आए पनि हाल रकम त्यसै रहेको क्याम्पसले जनाएको छ । बायोलोजी अध्ययन गरेका विद्यार्थीले मात्र चिया प्रविधि पढ्न पाउने अवस्थालाई परिमार्जन गरेर योग्यता पुगेका विद्यार्थीलाई खुला गरिए पनि सम्पर्कमा नआएको क्याम्पस प्रमुख कमल गुरागाईंले बताए । झापा लगायत केही जिल्ला चियाको लागि प्रमुख भएकोले उद्योगीले समेत चासो लिएर बाहिरबाट ल्याउने विशेषज्ञभन्दा नेपालमा नै विशेषज्ञ उत्पादनमा सहयोग पु¥याउन जरुरी देखिएको उनको भनाइ छ ।