मेरी गर्लफ्रेन्डले दुईपटक दुई महिनासम्मको गर्भपतन गराएको थाहा पाएँ । के अब उनबाट सन्तान हुनसक्दैन रु यसले भविष्यमा आमा र शिशुको स्वास्थ्यमा कुनै असर गर्छ कि ? गर्भपतनको असर गर्भको शिशु (भू्रण) बाँच्न सक्ने अवस्थामा पुग्नुभन्दा पहिले नै गर्भावस्थाको अन्त्य हुनुलाई नै गर्भपतन भनिन्छ । सामान्य अवस्थामा यस्तै २४ हप्तासम्मको गर्भको अवस्थालाई शिशु बाँच्न सक्ने अवस्था मानिएको छ । विकसित देशहरूमा त्यसभन्दा केही बढी उमेरका गर्भस्थ शिशुलाई पनि बचाइएको पाइन्छ । गर्भ आफैं पनि तुहिन सक्छ भने अर्कातिर औषधी, औजार, सुई वा अन्य उपाय प्रयोग गरेर समेत गर्भपतन गराउन सकिन्छ । गर्भावस्थाको स्थिति, गर्भ तुहाउन गरिएका उपाय, गराउने व्यक्तिको दक्षता आदि कुरामा यसबाट हुने जटिलता तथा जोखिम निर्धारण हुन्छ । यति हुँदाहुँदै पनि गर्भपतन जोखिममुक्त भने हुँदैन । अन्य कतिपय कुराको जस्तै यसमा पनि नकारात्मक असर तथा जोखिम जोडिएको हुन्छ । प्रयोग गरिएको विधिअनुसार यसका असरहरू फरक–फरक हुन सक्छन् । पाठेघरको संक्रमण, रक्तस्राव, पाठेघर तथा पाठेघरको मुखमा चोट लाग्ने अनि पेटमा पीडा केही प्रमुख समस्या हुन् । तपाईंकी प्रेमिकाले कुन औषधी खानुभएको हो, कहाँबाट औषधी लिनुभएको हो भन्ने लेख्नुभएको भए जवाफ दिन सजिलो हुने थियो तैपनि नेपालमा गर्भपतनका लागि प्रयोग गरिने औषधीको असर :

 औषधी सेवन गरेपछि तल्लो पेट दुख्ने अनि योनिस्राव हुने । यो औषधीको सेवनपछिको अपेक्षित असर नै हो ।  मिजोप्रोस्टोल औषधी सेवन गरिएको स्थितिमा ज्वरोका साथै काम ज्वरोसमेत आउन सक्छ ।  मिजोप्रोस्टोल औषधी सेवन गरेको ४ घण्टाभित्रमा योनिबाट रगतको चोक्टा निस्कन थाल्छ ।  यसरी औषधी सेवन गरेर गर्भपतन गराए पछि यस्तै ३ हप्ता सम्म थोरै मात्र रगत आउन सक्छ । समस्या के हो ?  तपाईंले आफ्नी केटी साथीले गर्भपतन गराएको थाहा पाएँ भनेर लेख्नुभएको छ । यसले के संकेत गर्छ भने तपाईंहरूबीच न त गर्भनिरोधका बारेका कुरा हुन्छ वा न त गर्भ रहे के गर्ने भन्ने विषयमा छलफल नै हुन्छ । यसले एक किसिमको संवादहिनताको स्थितिलाई देखाउँछ । अहिले आफूले बोकेको गर्भलाई निरन्तरता दिने कि नदिने महिलाको वैयक्तिक अधिकारभित्र पर्ने भएकाले वास्तवमा कसैसँग सल्लाह लिनुपर्ने आवश्यकता छैन, तैपनि गहिरो प्रेममय सम्बन्धको सन्दर्भमा यस्ता विषयमा कुराकानी नहुनुले समस्या निम्त्याउन सक्छ । यहाँ हामीले बिर्सन नहुने कुरा के हो भने गर्भनिरोध पनि महिलाको आधिकार हो, तर अनिच्छित गर्भ रोक्न नसक्ने, गर्भ रहन दिने अनि त्यसलाई निरन्तरता नदिन बारम्बार गर्भपतन गराइएको पनि पाइन्छ । यदि महिलाको स्वास्थ्य अधिकारको कुरा गर्ने हो भने अनिच्छित गर्भ नै रोक्नु आवश्यक हुन्छ र त्यसलाई प्राथमिकताका साथ गरिनुपर्छ । हामीमध्ये धेरैलाई थाहा छ, गर्भनिरोधका उपाय सरल र सुलभ छन् । यसको प्रयोगबाट हुने नकारात्मक असर तथा जोखिम गर्भपतन वा बच्चा जन्माउनुको तुलनामा निकै कम अर्थात नगन्य छन्, तर अनिच्छित गर्भ रहन नदिने कुरामा भने पर्याप्त चर्चा र प्रयास नहुनु दुखको कुरा हो ।

औषधीको असर ? अहिले नेपालमा पनि औषधी खाएर गर्भ पतन गराउने विधि प्रयोगमा आइसकेको छ । तुलनात्मक रूपमा सुरक्षित र सेवन सरल भएकाले गरिएको हो । यसका लागि निश्चित औषधी मात्र प्रयोग गर्न पाइन्छ भने तालिमप्राप्त स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने नियम बनाइएको छ । यस्तो औषधी सूचीकृत सेवा केन्द्रबाट मात्र लिन सकिने व्यवस्था छ । यसरी सेवा दिँदा औषधी प्रयोग गरेपछि के कस्ता असर देखा पर्न सक्छन् भन्ने जानकारी मात्र होइन, कुनै जटिलता भए कोसँग कहाँ सम्पर्क गर्ने भन्ने जानकारी समेत दिइन्छ, जसले गर्दा व्यक्तिले अनावश्यक रूपमा दुस्ख पाउँदैन । के गर्भपतनले बाँझोपन गराउँछ ?   गर्भपतनका लागि विभिन्न पद्धति अपनाउन सकिन्छ । कसरी, कहिले र कोबाट गराइएको भन्ने कुरामा यसका जटिलताहरू निर्भर गर्छन् । गर्भको निरन्तरता एवं सुरक्षित किसिमले दक्ष व्यक्तिवाट गराईएको गर्भपतनलाई दाँज्दा यसको कुनै दीर्घकालिन असर पर्छ भन्ने कुराको खासै आधार छैन । गर्भावस्थाको पहिलो तीन महिनामा भ्याकुम एस्पिरेसन पद्धतिवाट गराइएको गर्भपतनले महिलाको सन्तान उत्पादन गर्ने क्षमतामा खासै नकारात्मक असर पार्दैन । विशेषतस् अदक्ष व्यक्तिद्वारा गर्भपतन गराउँदा पाठेघरमा पर्ने चोटपटक तथा संक्रमण जस्ता कुराले भने प्रजनन क्षमतामा असर पार्न सक्छ । भावी सन्तानलाई असर पर्ने कुनै ठोस आधार भने छैन भनेर बुझ्नुभए हुन्छ ।