धरान । किरात धर्म लेख्ने गरेका लिम्बूहरूले अब ‘युमा धर्म’ मान्ने घोषणा गरेसँगै लिम्बू समुदायमा तरङ्ग पैदा भएको छ । धरानमा मङ्गलबार सम्पन्न तीनदिने ‘युमा मुन्धुम, धर्म र दर्शन’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीले युमा धर्म मान्ने घोषण गरेपछि तरङ्ग पैदा भएको हो । युमा साम्यो महासभाद्वारा धरानको हरियाली पार्कमा आयोजित गोष्ठीमा याक्थुम्बा (लिम्बू÷सुब्बा) जातिले अनुसरण गरेको परम्परागत धर्म, संस्कार र संस्कृति ‘युमा धर्म’ मान्ने घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ ‘वैरागी काइँला’ ले याक्थुम्बाहरूको परम्परागत धर्म, संस्कार, संस्कृति युमा नै रहेको जिकीर गरे । युमा धर्मका विषयमा नेपाल, भारत र बेलायतबाट आएका विद्वान्हरूले १३ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा डा चैतन्य सुब्बा, मुन्धुमविद् अर्जुनबाबु माबुहाङ, भारतको सिक्किमका आरआर खजुम, तेजबहादुर वाइबा, बेलायतका टङ्क वनेमलगायतले युमा धर्मको पक्षमा वकालत गरे । उनीहरूले लिम्बूहरूको परम्परागत धर्म, संस्कृति युमा नै रहेको बताए । कार्यपत्रमा युमा धर्म के हो, किन मान्नेलगायतका विषय उठान गरिएको महासभाका सचिव भीमसेन लिङ्दामले बताए । उनका अनुसार लिम्बूहरूको परम्परागत धर्म, संस्कार र संस्कृति युमा नै हो । तर फाल्गुनन्द लिङ्देनले सत्यहाङ्मा धर्मको रूपमा स्थापित गरेको उनको भनाइ छ । उनका चेलाका रूपमा रहेका आत्मानन्दले किरात धर्मलाई अहिले स्थापित गरिरहेका छन् । तर इतिहासविद् इमानसिंह चेम्जोङले आप्mनो पुस्तक ‘किरात वेद’ को तेस्रो अध्यायदेखि युमा धर्मको विषयमा उल्लेख गरेका छन् । चेम्जोङले सो पुस्तकमा युमा धर्मको प्रारम्भदेखिको विषय उल्लेख गरेका छन् । ‘यहाँबाट पनि थाहा हुन्छ, हामीले किरात धर्म मानिरहेका थिएनौँ’, उनले भने, ‘लिम्बूहरूको धर्म युमा नै हो ।’ परम्परावादी लिम्बूहरूको सङ्ख्या नेपाल र भारत गरेर झण्डै साढे ६ लाखको हाराहारीमा रहेको बताइन्छ । नेपालमा झण्डै ४ लाखको हाराहारीमा परम्परावादी धर्म मान्नेहरू अर्थात् युमा धर्म मान्नेहरू रहेको बताइन्छ । ‘युमा धर्म भनेरै मान्नेहरू नहोलान् तर परम्परावादीहरू धेरै छौँ ।’ उनले भने । कार्यपत्र प्रस्तोता अर्जुनबाबु माबुहाङले सनातनी संस्कारलाई बचाइराख्नको लागि नै युमा धर्म लेख्नुपर्ने निर्णय गरिएको बताए । उनले लिम्बू जाति सबैले किरात धर्म नै लेखे पनि आराधना र समर्पण युमाप्रति नै रहेको बताए । उनले किरात याक्थुम चुम्लुङको कारणले पनि २०४८, ०५८ र ०६८ मा किरात धर्म लेखिएको आरोप लगाए । ‘हिन्दू धर्मको जुन दबदबा थियो, त्यसलाई सामना गर्न पनि २०४८ को जनगणनामा धर्मको महलमा किरात लेखे’, उनले भने, ‘त्यो बेला चुम्लुङले आप्mनो समुदायमा छलफल गराएन ।’ महासभाले सनातनी धर्मलाई नै अघि बढाउन गोष्ठी गरेको हो ।