मधुमल्ला/ मोरङको उर्लाबारी–३ स्थित सेक्टर वन कार्यालय यतिबेला ‘ग्यारेज’ झैं बनिरहेको छ ।

तीन दर्जन बढी सवारी साधनहरु लिलामी प्रक्रिया अघि बढ्न नसक्दा वन कार्यालय परिसर अव्यवस्थित ‘ग्यारेज’का थोत्रा सामग्री थन्क्याउने ठाँउ बनेको हो । अबैध वन पैदावारका क्रममा नियन्त्रणमा लिएका करोडांै मूल्यका ती सवारी साधनहरु सड्ने अवस्थामा समेत पुगेका छन् ।

ढुंगा, बालुवाको निकासीको बहाना अबैध वन पैदावारमा संलग्न ती सवारी साधन लामो समयदेखि वन कार्यालयमा अब्यवस्थित तरिकाले थन्किएको वन कार्यालयका प्रमुख तारणीप्रसाद चौधरीले बताए । यात्रुबहाक बस, ट्याक्टर, ट्रक, बुलेरो गाडी, मारुती भेन, मोटरसाइल, साइकल, रिक्सा भेन, रिक्सा र टायर गाडा वन कार्यालयको नियन्त्रणमा रहेको उनले जानकारी दिए । नियन्त्रणमा रहेका यसखाले सवारी साधनहरु लिलामी प्रक्रिया अघि बढ्न नसक्दा सड्ने अवस्थामा पुगेका हुन् ।

कतिपय सवारी साधनबाट रुख उम्रिसकेका छन् भने कतिपयका महत्वपूर्ण पाटपुर्जा चोरी भइसकेका छन् । सेक्टर वन कार्यालय मंगलबारेमा को १ ख १७३८ नम्बरको बस, बा २ ख ६४११ नम्बरको फुल बडी ट्रक, मे १ ख ५९७ नम्बरको मिनी ट्रक, को १ च ६९९२ नम्बरको बुलेरो, मे १ च ३२५० नम्बरको पिक अप गाडी र मे १ ज ८०४ नम्बरको मारुती भेन रहेको छ । त्यस्तै, को १ त ५११८, को १ त ९९२, को १ त ६६४६, को १ त २५२५, मे १ त ३७८८, मे १ त २७९४, को १ त १२६० र नम्बर मेटिएको दुई थानसमेत गरी ९ वटा ट्याक्टर वन कार्यालयमा रहेको प्रमुख चौधरीको भनाई छ । त्यस्तै, मे ६ प २४५, को ३ प १११२, को १५ प ७७९५, को ७ प ९७२२, मे १ प ४९३५, को ३ प ७१६३ र मे १ प ८९७८ नम्बरका ७ वटा मोटसाइकल वन कार्यालयमा थन्किएका छन् ।

त्यस्तै, साइकल १२, रिक्सा भेन ४ र रिक्सा १ र टायर गाडा १ वन कार्यालय हाताभित्र रहेका छन् । उर्लाबारीका अलवा बेलबारी र सलकपुरमा पनि दर्जनौंको हाराहारीमा सवारी साधनहरु सड्ने अवस्थामा पुगेपनि सम्बन्धित निकायले लिलामी प्रक्रिया अघि बढाउन सकेको छैन । लिलामी प्रक्रिया अघि नबढ्दा सवारी साधन त्यत्तिकै अलपत्र राखिएको छ । ‘समयमै लिलामी प्रक्रिया हुन नसक्दा करोडौं मूल्य बराबरका सवारी वन कार्यालयमै सड्ने अवस्थामा पुगेका छन्’ स्थानीय ज्योति गुरागाईले भने । बिभिन्न समयमा उत्तर पूर्वी मोरङका सामुदायिक वनबाट काठ तस्करी गर्ने क्रममा गाडीहरु नियन्त्रणमा लिइएका हुन् ।

‘ती गाडीले कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने गरेका कारण सड्ने अवस्थामा पुगेको हो ’– सेक्टर वन कार्यालय उर्लाबारीका प्रमुख चौधरीले भने । धेरैजसो गाडीधनीहरुले मुद्दाको झन्झट व्यहोर्नु पर्ने भएकाले आफू फरार नै रहेर गाडी माया मार्ने गरेका छन् । मुद्दा फैसला हुन एक÷ दुई बर्ष नै लाग्ने र गाडी थोत्रिइसक्ने भएकाले सवारीधनीले त्यसै छोड्ने गरेका छन् । नियन्त्रणमा लिइएका गाडी धनीमाथि अदालतमा मुद्दा दायर हुने र त्यसको फैसला भएपछि जिल्ला वन कार्यालयले लिलामीको सूचना निकाल्ने गर्दछ ।

लिलामी प्रक्रिया अघि नबढ्दा कर्मचारीहरुलाई आफ्नो कार्यालय ग्यारेज झैं लाग्ने गरेको छ । ती गाडीको संरक्षण भएको देखिँदैन । खुला आकाशमा घाम र पानीमा रहेका कारण त्यसै सड्ने अवस्थामा पुगेको देखिन्छ । घाँस उम्रिएर त्यसको परीपरी झाडी नै बनेको छ । गाडीहरु नियन्त्रण गरिएपनि त्यसका सञ्चालकहरु भने धेरैजसो कर्मचारीहरुको रेकर्डमा फरारको सूचीमा छन् ।