‘साहित्य, कला र संस्कृतिको उत्थान, स्थानीय सृजनशीलताको पहिचान ।’ यो एउटा अभियानगत नारा । मान्छे भित्रको मान्छे खोज्ने अभियानको मुल मर्म । अर्थात सृजनशीलन मनको वस्ती वसाउने लक्ष्य । दिमागले भन्दा पनि मनले वाँच्ने समतामुलक समाज निर्माणको अभिलासा । यही योजनामा हामी एउटा साझा चौतारी खडा गरेर सृजनाको वसाई वसिरहेछौं । अर्थात उत्तरपूर्वी मोरङको पथरीशनिश्चरेमा जुर्मुराएको सृजनशीलताको इतिहासलाई सधैं वर्तमान वनाइरहने सक्रियताको थालनीमा छौं ।

नगर क्षेत्रको सृजनशील गतिविधिका लागि साझा संस्थाका रुपमा स्थापित एभरेष्ट आर्ट फ्यूजनको प्रत्येक महिनाको पहिलो शुक्रवार मासिक श्रृङ्खला ‘सृजना चौतारी’ मार्फत सृजनामा भलाकुसारीको तेस्रो भेट ०७५ वैशाख ७ गते भयो ।

पथरीको सुन्दर वस्तीमा रहेको तमु वौद्ध गुम्वाको सहआयोजनामा त्यही गुम्वामै हुँदै आएको श्रृंखला सृजनाको खेती गर्नेहरुका लागि रमाइलो वातावरणको चौतारी वन्न पुगेको छ । जंगलसँग जोडिएको एकान्त र गौतम वुद्धको शान्तिको आलोकमा शान्तपूर्ण वातावरणमा रमेर सिंगो नगर शान्त वनोस् भन्ने सृजन कामनामा छौं ।

अनि नगर सृजनशील गतिविधिमा सक्रिय वनोस् र मनले वढी वाँचोस् भन्ने सन्देश प्रवाहमा छौं । सकारात्मक सोचको विस्तारमा छौं । हाम्रो एकतापूर्ण सृजनकर्मको हुटहुटी देखेर तमु गुम्वा पनि हामीसँग जोडिन आइपुग्यो । उ शान्तिको सन्देशमार्फत र हामी सृजनाको सन्देशमार्फत मुलुकमा मान्छे भित्रको मान्छे जगाउने ध्येयमा । दुवैको ध्येय मिल्यो । त्यहाँ पुस्तकालय खडा गरेर पठन संस्कृतिको विकास गर्ने गुम्वाको लक्ष्यमा पनि हामी एकाकार भयौं । गायक देव गुरुङ र कुलदिप घलेमार्फत गुम्वासँगको समन्वयमा हामी जोडिएर त्यहाँ सृजनाको समेत चौतारी खडा गरेका छौं ।

‘सृजना चौतारी’ को पहिलो भेट नगर क्षेत्रकै सर्जकहरुको रचना वाचनमा मात्र केन्द्रीत रह्यो । दोस्रो भेट जापानमा आधुनिककालिन सवैभन्दा ठूलो वुद्धको ढुंगे मूर्ति वनाउने अगुवा मिक्लाजुङका मञ्जुल मितेरीलाई उनकै मुहारचित्रले सम्मान समेतमा जोडियो । तेस्रो भेटमा पूर्वका मुर्धन्य साहित्यकार सुनसरीका उपेन्द्र पागललाई उनकै मुहारचित्र र सम्मानपत्रले सम्मान गर्ने काममा हामी एकवद्ध भयौं । हामीले मुहारचित्रमा मात्र यत्ति लेख्यौं ‘साहित्य र कलाका दोभान्, समाज व्यूँझाउने अभियान, प्राज्ञ उपेन्द्र पागलप्रति हार्दिक सम्मान ।’

नगरपालिकाको सहकार्यमा चैत २६ गतेसम्मको माटोका सजावटका र उपभोक्त सामग्री वनाउने १५ दिने तालिमले पनि फ्यूजनको थप सम्भावना गजवले उजागर गरेको थियो । त्यहाँ फ्यूजनकी संस्थापक अध्यक्ष प्रसिद्ध चित्रकार सरोजा खड्गीले आफ्ना बुवा आमाको नाममा स्थापित १० हजार राशीको विष्णुमीना ललितकला पुरस्कार विशिष्ठ चित्रकार गोपाल कलाप्रेमीलाई प्रदान गरेर आफ्नो प्रभावलाई फराकिलो वनाएको अवस्था थियो ।

नगरपालिका प्रमुख दिलिपकुमार राई आफु साहित्य नलेख्ने भएपनि हाम्रो कार्यक्रम छ भन्ने सुनेपछि म पनि आउँछु भनेर दोस्रो कार्यक्रममा आए । र तेस्रोमा पनि उनकै प्रमुख आतिथ्यताको समय मिल्यो । साहित्यकार पागललाई, उनकै अगुवाईमा चित्रकार सरोजा खड्गी, पूर्व सांसद चण्डीप्रसाद राई सहितले सम्मानित गरे । पछिल्लो समय समालोचना क्षेत्रबाट वढी चिनाएका नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य ७२ वर्षीय पागलको यो ६२ औं सम्मान हो । सृजना क्षेत्रमा ५० औं वर्षदेखि सक्रिय सुनसरीको इनरुवास्थित मधेशाका उनी सवभन्दा पहिले ०१८ सालमा चित्रकारिता क्षेत्रबाट सम्मानित भएका थिए ।

यसबेला दम र उच्चरक्तचापले केही अस्वस्थ अवस्थामा रहेका उनी सृजनाले आफुलाई वाँच्नका लागि उर्जा भरिरहेको सुनाउँदै आफ्नो जीवन संघर्षका कथा व्यथा पोखे । कविता, कथा, खण्डकाव्य, निवन्ध, समालोचनाका क्षेत्रका विशेष रुपमा कलम चलाउँदै हालसम्म ११ वटा कृति प्रकाशित गरी सामाजिक चेतना प्रवाहका लागि सुम्पिएका छन् । कृति सम्पादनमा पनि उनको भूमिका महत्वपूर्ण रहेको छ ।

पागल सहितका सहभागिले साहित्य, कला र संस्कृतिको प्रवद्र्धनका लागि नगरपालिकाले छुट्टै समिति निर्माण गरी कार्यक्रम अघि सार्नुपर्ने धारणा राखे । इनरुवामा त नगरपालिकाले प्रज्ञा प्रतिष्ठानकै अवधारणा ल्याएको, बेलवारीले छुट्टै समितिमार्फत विगतदेखि काम गर्दै आएको प्रसंगले यो नगरपालिकालाई पनि घच्घच्यायो । यस नगरमा पनि छुट्टै समिति खडा गरेर कार्यविधि निर्माण गरेर जाने कुराको छलफल चलिरहेको अवस्थामा श्रष्ठाहरुले झक्झक्याउने कुरामा होस्टेमा हैंसे थपिन पुग्यो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले दिग्गज र अग्रज सर्जकहरुको सम्मान नयाँ पुस्ताका लागि उत्प्रेरणा भएको धारणा राखे । उनले फ्यूजनको अगुवाईमा साहित्य, कला र संस्कृतिका क्षेत्रमा भएको सक्रिय गतिविधिको प्रसंसा गर्दै साहित्य, कला र संस्कृतिको प्रवद्र्धनमा नगरपालिका योजनाका साथ लागिपर्ने सुनाए । संयोगले सहभागि पूर्व सांसद चण्डीप्रसाद राईले नगरमा सृजना क्षेत्रका व्यक्तिहरुले चौतारी खडा गरी नगरको सृजनशील पहिचान वढाउन लागेको भन्दै खुसी व्यक्त गर्दा हामी सृजनकर्मका श्रष्ठाहरुको मन निकै खुसी भयो । अर्थात नगर क्षेत्रका अगुवाहरुले सृजना क्षेत्रको मर्मलाई आत्मसाथ गर्दै यसको प्रवद्र्धनको खाँचोप्रति चासो राख्दा यसका लागि केही गर्ने थप जाँगर भरियो ।

कार्यक्रममा, साहित्यकारहरु रेखा सुवेदी, विष्णु न्यौपानले, रोहित पराई, सुमन राई, कृष्णप्रसाद अधिकारी, इन्दिरा नेपाल, मञ्जरी घिमिरे, भवानी दुलाल, लक्ष्मी सुवेदी, दीपक दियालो, रविन भट्टराई सहितले कविता, गजल तथा देव गुरुङ, अर्जुन सेन्चुरी, निर्मला विश्वकर्मा, आशा लिम्बू सहितले गीत प्रस्तुत गरेर सृजनामा फ्यूजनको स्वाद भरे । संस्थाका अध्यक्ष टीकाराम राईको अध्यक्षता र सहसचिव अर्जुन सेन्चुरीको संयोजनमा भएको जमघटले अवका कार्यक्रममा लागि अझ प्रचारात्मक काम गर्यो । व्यूँझदै गरेको पथरीशनिश्चरेको सृजनशीलतालाई जुरुक्कै उठाउन सवैको थप सहकार्य आवश्यक छ ।