भद्रपुर । भारतको बंगाल तथा विहार राज्य छोएको भद्रपुरको मेची पुलको सडकलाई कुन दिशामा लैजाने भनि नेपाल तथा भारत दुवै देशका जनप्रतिनिधि तथा सर्वसाधरण अन्यौल बनेका छन् । नेपाल–भारतको सीमावर्ती नाका जोड्ने भद्रपुरस्थित मेची पुलको निर्माण कार्य सात बर्षमा बल्ल सम्पन्न भएपछि मेची पुल जोड्ने सडक नबन्दा दुवै देशका नागरिकको ध्यान त्यसतर्फ केन्द्रित भएसगै अन्यौलता छाएको हो । पश्चिमतर्फ पुललाई हुलाकी राजमार्गसँग जोड्ने डिजाइन तथा नक्सा तयार नहुनु र पूर्वतर्फ भारत सरकारले विहार तथा बंगाल जोड्ने दिशा दिन नसक्दा पुलको उद्घाटन पनि अन्यौलमा रहेको छ । पुललाई चाँडो भन्दा चाँडो उद्घाटन गरी सञ्चालन ल्याउन दुवै देशका नागरिकले आ–आफ्नो स्थानबाट सरकार तथा जनप्रतिनिधिलाई दवाव दिदै आएका छन् । पूर्वतर्फको पुलको सडकलाई विहारतर्फ जोड्ने सम्बन्धमा विहार सरकारका विधायक, भद्रपुर नगरपालिका र दुवै देशका जनप्रतिनिधि, इन्जिनियर, उद्योगी, व्यवसायी र राजनीतिकदलले शुक्रवार विहान मेची पुलको स्थलगत निरीक्षण तथा अनुगमन गरि पुललाई भारतको विहार राज्यसंग जोड्ने गरी अन्तिम निश्कर्ष निकाल्दै सडकको बारेमा व्यापक छलफल गरिएको थियो । भद्रपुर नगरपालिकामा आयोजित छलफलमा मेची पुल जोड्ने सडकलाई एनएच हाइवेसंग जोड्न भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रदेश सांसद ओमप्रकाश सरावगी र भद्रपुरनगरका पूर्व मेयर भरतेन्दुकुमार मल्लिकले विहारका विधायक तथा जनता दल युनाइटेडका पार्टी सचेतक मो. नौसाद आलम समक्ष आग्रह गरेका थिए । आग्रह गरे सगै नेपाल सरकारको सहयोगमा निर्माण भएको पुल विहारका विधायक मो. नौसाद आलमले खुशी व्यक्त गरेका छन् । नेपालको पुरानो नगर भद्रपुर र भारतको गलगलिया पुलकै कारणले अन्य नाकाको तुलनामा पछि परेको बताए । अब पुल बनेपछि यस क्षेत्रको विकास बढ्ने उनले जनाए । पुललाई विहार राज्यसंग जोड्न विहार सरकार तयार रहेको उल्लेख गरे । गलगलियाको बाटो पहिला ग्रामिण सडक थियो, अहिले आरसीडी सडक बनेको छ, पुलको सडकलाई बंगालदेखि अररिया जोड्ने एनएच सडकसंग जोडन विहारको मुख्यमन्त्रीसंग कुरा गरी काम अघि बढाउन प्रयास गर्ने उनले जनाए ।

पुलको पूर्व पट्टी भारततर्फ यू टन आकारको सडक बन्दैछ । सुर्य एण्ड सन्स जेभी निर्माण कम्पनीले १ सय ३ मिटर यु टन आकारको ग्राभेल सडक बनाउँदैछ तर, यू टन आकारको सडक बन्दा सवारीसाधनलाई समस्या हुने भन्दै भद्रपुर नगरपालिकाले गम्भिर चासो देखाएको छ । सिधै सडक लैजादा बंगालमा पर्छ, यू टन गर्दा विहार जोडिन्छ । बंगालको भू–भाग नजोडि विहार लैजादा यस्तो समस्या देखा परेको भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । ‘यस बारेमा विराटनगरस्थित भारतीय राजदुतावास र नेपाल सरकारलाई लिखित तथा मौखिक जानकारी गराइसकेको बताए । अहिले बन्दै गरेको यु टनलाई रेडियम अफ क्रभेचर भनिन्छ । कम्तिमा ३०० देखि ४५० मिटर रेडियम नभए ठूला सवारीसाधन आवतजावतमा समस्या हुनेछ । अहिले रेडियम करिब १ सय देखि १५० मिटर मात्र रहेको छ । यसलाई फराकिलो बनाउन आवश्यक छ उनले भने । नेपाल सरकारले बजेट निकासा गरेपछि वि.स. २०६८ माघ २१ गतेदेखि मेची पुल निर्माण कार्य सूरु भएको थियो । तीन बर्षमा बन्ने मेची पुल बल्ल सात बर्षमा आएर बनेको छ । कुल लागत करिब ३३ करोड रहेको पुलको लम्बाई ५ सय ६० मिटर र चौढाई ११ मिटर छ । हुलाकी राजमार्ग जोडने योजनाका साथ बनाइएको पुलको सडक कामले तिव्रता पाउन सकेको छैन । भद्रपुरबाट सडक निकाल्न घरधनीले घर तथा जमिन खाली नगर्दा यस्तो समस्या उत्पन्न भएको छ । भौतिक संरचना हटाउन जमिनको लागि मात्र साढे पाँच करोड र घरको मुल्याकंन गर्दा करिब साढे २ करोड रकम आवश्यक रहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले बताए । उनका अनुसार सडकमा पर्ने २२ घरपरिवारलाई जमिन वापत ४ करोड वितरण गरिसकेका छौ । जमिनको साढे एक करोड र भवनको गरी अझै साढे तीन करोड रकम आवश्यक देखिएको छ । यसको निकासा पनि अर्थ मन्त्रलायबाट भइसकेको छ । रकम आउन साथ वितरण गरी काम अघि बढाइने छ । रकम नपाउँदा सर्वसाधरणले जमिन खाली नगरेको उनले बताए ।