शनिश्चरे/तराइबासी हिन्दु समुदायले मनाउँदै आएको छैठ पर्वलाई सवै जातजातीको साझा पर्व बनाउनका लागि मोरङको पथरीशनिश्चरेमा विगत २० वर्षदेखि सद्भावनापूर्ण सहकार्य भइरहेको छ ।

अर्थात त्यहाँ पहाडे समुदायको अगुवाईमा लोभलाग्दो गरी छैठ पर्वको सामुहिक सद्भाव गाँजिदै आएको छ । पहाडे समुदायको अगुवाईमा छैठ पर्वको संस्थागत थालनी भएको हो र हालका अध्यक्ष समेत पहाडे समुदायका छन् । यो वर्ष पनि पथरीशनिश्चरे १ पथरीस्थित भुल्के पुछारमा निर्माण गरिएको त्यहाँको पोखरीमा स्थानीय मधेसी र पहाडे दुवै समुदायका हजारौं मानिसहरू सहभागि भएर सवैले सामुहिक पर्वका रूपमा छैठलाई मनाएका छन् ।

त्यहाँ पूजा गर्नेहरूको संख्या पनि पहाडे समुदायको उल्लेख्य रहेको छ । त्यहाँ मधेसी समुदायले बढी घाट बनाएको भएपनि नजिकमा बसेर पूजा गर्नेहरूकाे संख्या समेतलाई हेर्ने हो भनें पहाडे समुदायको संख्या बढी देखिन्छ । पहाडे समुदायले भनें पञ्चेबाजा समेत बजाएर उल्लासका रूपमा पूजाआजा गरेका छन् । ‘यहाँ पर्व मनाउने र पर्व मनाएको हेर्नेहरूको संयुक्त उपस्थितीले धार्मिक पर्यटनका साथसाथै जातीय सद्भाव बढाएको देखिन्छ ।’– छैठ सूर्य कुण्ड समितिका अध्यक्ष गंगाप्रसाद सुवेदीले भने हिन्दु धर्मकै एक पर्व भएकाले छैठमा सवै जातजातीको सहभागिता रहनु आवश्यक समेत रहेको बताए । पहाडे र मधेसे समुदायका बीचको दुरीलाई कम गर्न यसखाले सहकार्यले घटाउने सन्देश दिने स्थानीय ज्येष्ठ नागरिक रामविलासप्रसाद गुप्ताको ठहर छ ।

०५५ सालमा समाजसेवी हेमा ढुंगाना र उनकी आमा तीला ढुंगानाको पहलमा पोखरीको बीचमा कुण्डको काठको जट निर्माण गरी व्यवस्थित पूजा आजा थालिएको हो । ०६२ सालमा समिति खडा भई पोखरी निर्माण गरेर संस्थागत रूपमा छैठ मनाउन थालियो । ‘हामीले लामो समय अगाडिदेखि चालेको यो कदम यसबेला अझ सान्दर्भिक देखियो । यसखाले सहकार्यले साँस्कृतिक सद्भाव मात्र नभएर भूगोलको समेत एकताको सन्देश दिएको मैले ठानेकी छु ।’– उत्साहित शैलीमा हेमाले भनिन् । त्यहाँ कृत्रिम रूपमा निर्माण गरिएको पोखरीको डिलमा घाट बनाएर वसेर सूर्यको उपासना गर्नेहरूका लागि ठाउँ साँघुरो बन्दै गएको छ । वर्षेनी धार्मिक पर्यटनका हिसावले समेत मानिसहरूको भिडभाड बढ्ने गरेकाले ठूलै ठाउँ आवश्यक पर्दै गएको देखिन्छ ।

‘धार्मिक पर्यटन तथा आपसी साँस्कृतिक सद्भावका लागि बढेको छैठ उत्साहका लागि ठूलै ठाउँ आवश्यक परेको छ ।’– त्यहाँ सामान्य हिसावले पूजा गर्न पुगेकी पथरी बजारकी गोमा खड्काको भनाई छ ।त्यसैगरी, आइतबार साँझ पूर्वी मोरङको उर्लाबारीस्थित मावा खोला किनारमा पनि भव्यताका साथ पहाडे समुदायको सहभागितामा छैठ सम्पन्न भएको छ । झापातर्फ रतुवा, मावा, कन्काई, विरिङ, मेची लगायतका नदी, खोला तथा जलाधारहरूमा पनि छैठ पर्व मनाउन विहीवार बेलुका अस्ताउँदो सूर्यको आराधना गरी शुक्रबार विहान उदाँउदो सूर्यलाई अर्घ दिन स्थानीय रातभर जाग्राम बसेका छन् ।