‘कनजेनाइटल हाइपोथाइराइडिसम’ अर्थात थाइराइडको जन्मजात समस्या हरेक ३५ सयदेखि ४ हजार नवजातमध्ये एक जनामा हुने समस्या हो । बालबालिकाको मानसिक र शारीरिक विकासमा यो ग्रन्थीबाट निस्कने हर्मोनको प्रत्यक्ष असर पर्ने हुँदा यो समस्याको निदान र उपचारबारे ज्ञान हुनु अत्यन्त जरूरी छ।
किन हुन्छ थाइराइड ?
थाइराइड ग्रन्थी बन्ने बेलामा कुनै जटिल समस्या भएर अथवा ग्रन्थी नै नबनेका कारणले यसले उत्पादन गर्ने हर्मोनको मात्रा अत्यन्त न्यून अथवा उत्पादन नै नहुँदा जन्मजात रूपमा यो समस्या देखिन्छ । यीमध्ये ८०–९० प्रतिशत नवजातलाई गर्भमै रहेका बेला ग्रन्थी बन्ने समयमा भएका समस्याले यो रोग देखा पर्छ । यसबाहेक आयोडिनको कमी भएका ठाउँहरूमा जन्मिने बालबालिकामा पनि जन्मजात थाइराइडको समस्या देखा पर्छ।
कस्ता समस्या देखिन्छन् ?
सामान्यतया कुनै एउटा मात्र समस्या वा लक्षणबाट नवजातमा जन्मजात थाइराइडको समस्या भए÷नभएको छुट्याउन सकिँदैन । जन्मेदेखि बिस्तारै शारीरिक मानसिक वृद्धिविकास हुँदै जाने क्रममा देखिने लक्षणका आधारमा विशेषज्ञ चिकित्सकले आवश्यक परीक्षणपछि मात्र यो रोगको पहिचान गर्न सक्छन्।
नवजातमा देखिने लक्षण
– दूध चुस्नमा समस्या – कमलपित्त – कब्जियत – सुस्त – तालुको भाग ठूलो – जिब्रो सामान्यभन्दा ठूलो – छाला फुस्रो र सामान्यभन्दा फरक – शरीर चिसो हुनु – रुवाइको आवाज फरक हुनु – लुलो हुनु
शिशु केही साताको भएपछि देखिने लक्षण
– अनुहारको आकृति अरुभन्दा केही फरह हुनु – जिब्रो मुखबाहिर निस्कनु – पेट ठूलो हुनु र फुल्नु – नाइटोमा हर्निया – झिझिने र रोइराख्ने – उमेर अनुसार शारीरिक वृद्धि र मानसिक विकास नहुने – गलगाँड देखापर्नु
के के परीक्षण गर्ने ?
थाइराइडसम्बन्धी समस्या भएरनभउको यकिन गर्न रगतमा थाइराइड हर्मोनको मात्रा कति छ थाहा पाउनु महत्वपूर्ण हुने भएकाले परीक्षण गर्नु पर्छ । बालबालिकाको उमेर अनुसार थाइराइड हर्मोनको मात्रा फरक हुन्छ । यसबाहेक हातखुट्टाको एक्सरे, घाँटीको अल्ट्रासाउन्ड र सुइबाट थाइराइडको विशेष परीक्षण गर्न सकिन्छ।
नवजातमा थाइराइड हर्मोन कमीको समस्या पहिचान गर्न भारतलगायत अन्य राष्ट्रमा शिशु जन्मनासाथ रगतमा थाइराइड हर्मोनको मात्रा जाँच गरिन्छ । यस्तो जाँच सरकारद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत नै गरिन्छ । यो रोगको छिटो पहिचान गर्न सके शिशुमा पर्ने मानसिक र शारीरिक नकारात्मक असर समयमै न्यूनीकरण गर्न सकिन्छ।
उपचार
थाइराइडबाट हर्मोन उत्पादन नै नहुने अथवा अत्यन्त न्यून उत्पादन हुनुको एकमात्र उपचार विधि हर्मोन नै हो । बालबालिकाको उमेर अनुसार उनीहरूमा हर्मोनको मात्रा फरकफरक हुने हुँदा सम्बन्धित विशेषज्ञ वा बालरोग विशेषज्ञसँग उचित परामर्श र सल्लाह लिनु अत्यन्त महत्वपूर्ण हुन्छ । उपचारको अवधी भने यो किन भयो कारणमा भर पर्छ
समयसमयमा हर्मोन जाँचका साथै बालबालिकाको मानसिक र शारीरिक वृद्धिविकासको अनुगमन यसको उपचारको अर्को अभिन्न पाटो हो।
ड.विश्वबन्धु बगाले, बालरोग विशेषज्ञ, भरतपुर अस्पताल