धरान नगरअस्पतालको विषयमा कार्यक्रम आयोजना हुनुले धरानेहरु अब जुर्मुराउन थालेको सङ्केत मिलेको छ । जुनसुकै सरकार आए पनि धरानप्रतिको बेवास्ता र पूर्वाग्रहका कारण जहिले पनि यथास्थितिमा बस्नुपर्ने अवस्थालाई चिर्न जरूरी छ । सरकारी कार्यालयका साथै महत्वपूर्ण कार्यालयहरु धरानबाट हटाएर अन्यत्र लैजाने सरकारी चलखेलबाट धरानलाई सौतेलो व्यवहार गरिएको प्रष्ट हुन्छ । सरकारी अस्पताल भनेर चिनिएको छाताचौकस्थित घोपा क्याम्पले चर्चेको जग्गामा नगर अस्पताल बनाउनु पर्ने माग अझ घनिभूत रुपमा उठ्न थालेको आभास उक्त कार्यक्रमले दिएको छ ।
पूर्वी नेपाललाई सामाजिक, शैक्षिक र आर्थिक हिसाबले लामो समयदेखि नेतृत्व गर्दै आएको धरान सङ्घीय सरकारको नीति र बजेटीय विभाजनमा उपेक्षित बन्दै गएको छ । सहरको विकास, पूर्वाधार, स्वास्थ्य सेवा र रोजगारी जस्ता आधारभूत आवश्यकतामा सरकारले ध्यान दिनुको सट्टा पूर्वाग्रह हाबी हुन थालेको प्रष्ट देखिन्छ । नेपाल सरकारका विकास योजनाहरु हेर्दा, सधैँ राजधानी केन्द्रित वा दल विशेषस“ग सहमत स्थानीय तहहरुलाई प्राथमिकता दिइएको पाइन्छ । धरान उपमहानगर, पूर्वाञ्चलको एक प्रमुख तथा पुरानो सहर हो, सरकारको प्राथमिकताबाट छुटिरहेको अनुभूति जनताले बारम्बार व्यक्त गर्दा पनि सरकार धरानप्रति उदासिन छ । सडक विस्तार, खानेपानी, फोहोर व्यवस्थापन, स्वास्थ्य पूर्वाधारजस्ता आवश्यक योजनाहरु कागजमा सीमित भइरहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो राष्ट्रियस्तरको स्वास्थ्य संस्था धरानमा अवस्थित हु“दा पनि सरकारले त्यसको दायरा बढाउने र सेवामा सुधार ल्याउन हैन, आफ्ना आसेपासे र जसले पैसा खर्च गर्छ उसले त्यहा“को नेतृत्व पाउने परम्परा धरानका लागि दुःखद् विषय हो । विकासमा पूर्वाग्रही सोचको असर नीतिगत तहमा मात्र होइन, बजेट बाँडफाँडमा समेत देखिन्छ । अन्य उपमहानगरहरुमा विनियोजित रकम र धरानमा प्राप्त रकमको तुलनात्मक अध्ययनले धरान राजनीतिक प्रतिशोध वा बेवास्ताको शिकार बनेको छ ।
धरानको भविष्य सुनिश्चित गर्न सङ्घीय सरकारले दलगत वा भौगोलिक पूर्वाग्रह हटाई समावेशी विकास रणनीति बनाउनु आवश्यक छ । अन्यथा, उपेक्षा र विभेदकै कारण जनआक्रोशले विद्रोहको रुप लिन सक्ने खतरा बढ्दै जान्छ । यी यावत् विषयहरुमा सरकारको ध्यानाकर्षण गराउन स्थानीय राजनीतिक दलले दबाव सिर्जना गर्नुपर्नेमा ती राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु बाख्रा गोठालाजस्ता मात्र हुन पुगेका छन्, न उनीहरुको पार्टी सरकारमा हुँदा पनि योजना ल्याउने ल्याकत राख्दछन्, न नै दबाव सिर्जना गर्ने अभियान छेड्दछन् । अरुले आयोजना गरेको कार्यक्रममा गएर भाषण दिने र थपडी बजाएर फर्किने नियति बनेको छ । धरानका सचेत नागरिक, बौद्धिक व्यक्तित्व सम्मिलित कार्यक्रमको निष्कर्ष र कार्यक्रमले दिन खोजेको सन्देशका विषयमा सरकारमा पदासीन नेताहरुलाई सम्प्रेषण गर्ने ल्याकत पनि राख्दैनन् र त धरान पछाडि परेको छ । धरान नगर अस्पतालको विषयमा भएको कार्यक्रमको सन्देश प्रभावकारी रुपमा सम्प्रेषण भयो र सम्बन्धित दलका स्थानीय प्रतिनिधिले फलोअप गर्ने हो भने मात्र धरानले न्याय पाउला । नत्र ‘दुःखी आत्मा’ झैं भएर तड्पिरहनु पर्ने अवस्थाको सिर्जना नहोला भन्न सकिन्न ।