इटहरी । सुनसरीका केही स्थानमा मात्र देखापरेको लम्पी स्किन सङ्क्रमण पछिल्लो नौ महिनायता १२ वटै स्थानीय तहमा फैलिएको छ । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र सुनसरीका अनुसार दुहबी, भोक्राहा, हरिनगर र इनरुवामा कृषकहरूले पालेका चौपायामा मात्र भेटिएको लम्पी स्किन अहिले १२ वटै तहमा पुगेको हो ।
यीमध्ये सबैभन्दा बढी दुहबी नगरपालिकामा २ सय ७६ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको केन्द्रले जनाएको छ । पछिल्लो ९ महिनाको अवधिमा जिल्लामा एक हजार ५ सय १६ वटा पशुचौपायामा सङ्क्रमण देखिएको जसमा ५३ वटा चौपायाको मृत्यु भएको केन्द्रका प्रमुख मनोज मेहताले जानकारी दिए । सुनसरीको वराहक्षेत्रमा पनि सङ्क्रमणबाट १३ वटा पशु चौपायाको मृत्यु भएको उनले बताए । दुहबीपछि वराहक्षेत्रका धेरै पशु चौपायामा सङ्क्रमण देखिएको हो । त्यहाँका ३ सय ६७ चौपायामा सङ्क्रमण देखिएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र सुनसरीका प्रमुख मेहताले बताए ।
त्यस्तै सबैभन्दा कम सङ्क्रमण धरानमा देखिएको छ । धरानमा पछिल्लो ९ महिनायता १५ वटा पशुचौपायामा मात्रै सङ्क्रमण भेटिएको जनाइएको छ । इटहरीमा २७ वटामध्ये एउटा चौपायाको मृत्यु भएको जनाइएको छ । विशेषगरी दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानरसिंह र हरिनगर गाउँपालिकाका कृषकहरू यो सङ्क्रमणका कारण चिन्तित बनेका छन् । पशु चौपायामा देखिने सङ्क्रमणबारे कृषकहरू जानकार नहुनु, देखिए पनि बेवास्ता गरिनुले सुनसरीमा सङ्क्रमणले ठूलो क्षति पु¥याएको केन्द्रका प्रमुख मेहता बताउँछन् ।
पछिल्लो नौ महिनायता सुनसरीमा कृषकहरूले करिब ५० लाख रुपैयाँ बढी नोक्सानी बेहोरेको केन्द्रका प्रमुख मेहताले बताए । सङ्क्रमणको जालो फैलन नदिन केन्द्रले पछिल्लो तीन वर्षयता ६४ हजार ४ सय ४१ वटा पशुचौपायालाई खोप लगाइसकेको उनले बताए ।
सङ्क्रमणबारे कृषकहरूमा जानकार नभएकै कारण ठूलो मात्रामा पशु चौपायाले अकालमै ज्यान गुमाइरहेको एक अध्ययनले देखाएको छ । पछिल्लो तीन वर्ष यता जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले गरेको अध्ययनअनुसार सहरी भेगको तुलनामा ग्रामीणभेगमा यो सङ्क्रमण घातक देखिएको हो ।
के हो लम्पी स्किन ?
केन्द्रका प्रमुख मेहताका अनुसार यो रोग एक प्रकारको भाइरसजन्य रोग हो । लामखुट्टे, किर्ना र भुसुनाजस्ता किराहरूले यो रोगको विषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने पशु चिकित्सक बताउँछन् । यसको अलावा रोगी पशुहरूको सिँगान, दूध र घाउबाट निस्केको पिप, रगतजस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्छ ।
यो रोगका लक्षणहरू साधारण र हल्कारूपका देखिए पनि निकै कडा खालको पनि देखिन सक्छ । साना पशुहरूमा यो रोग कडारूपमा लाग्दछ भने वयस्क पशुहरूमा साधारण लक्षणहरू देखिन सक्छ । रोगी पशुहरूमा ज्वरो (१०४–१०५ डिग्री फरेनहाइट) आउने, अरुचि हुने र झोक्राउने लक्षण देखिन्छ । त्यसको २–३ दिनमा पशुको शरीरभरि नै छालामा गिर्खा र गाँठाहरू देखिन सुरु गर्छ ।
यस्ता गिर्खा र गाँठाहरूमा पिप जम्मा भई यो घाउमा परिणत हुन्छ र यसमा जीवाणुजन्य सङ्क्रमण भई समस्या झन् बढ्दै जान्छ । विस्तारै शरीरका भित्री अङ्गहरू जस्तैः पेट, फोक्सो, श्वासनलीमा पनि यस्ता गिर्खा र गाँठाहरू बढ्न गई निमोनिया हुन्छ । खुट्टा र शरीरको तल्लो भागमा भएका यस्ता सङ्क्रमणले गर्दा पशुहरू हिँड्न नसक्ने भई बसिरहने हुनसक्छ, जसले गर्दा समस्या झनै विकराल बन्दै जान्छ । थुन र कल्चौंडोमा भएका यस्ता गिर्खा र गाँठाहरूमा जीवाणुजन्य सङ्क्रमण हुन गएमा थुनिलो हुने देखि थुन नै झर्नेसम्म हुनसक्छ । कुनै पशुहरूमा गर्भ तुहिने, पाठेघरमा समस्या देखिने र गर्भ नअडिने समस्या पनि देखिनुका साथै बाँझोपन पनि हुन्छ ।
यो रोगको हाल कुनै उपचार नभएकाले आफ्ना पशुहरूलाई नियमितरूपमा विशेषगरी छालामा हुने गिर्खा र गाँठाहरूको निगरानी गर्नुपर्ने मेहताको भनाइ छ ।