धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले धरानको छाताचोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ताको माग गर्दै सङ्घीय सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अमर्यादित भाषामा पत्राचार गरेका छन् ।
स्थानीय सरकार प्रमुखले पत्रमा प्रयोग गरेको भाषाशैली औपचारिकताको मर्यादाभन्दा बाहिर गएको भन्दै कडारूपमा टिका–टिप्पणी सुरु भएको छ ।
पत्रमा नगर प्रमुख साम्पाङले धरान नगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको उल्लेख गर्दै, अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा नामसारी भएको उक्त जग्गा कसले र कसरी दियो भन्ने विषयमा असन्तोष व्यक्त गरेका छन् । तर, उनले प्रयोग गरेको शब्द चयन अशोभनीय छ । उनले फेसबुक स्टाटसमा पनि मङ्गलबार नै यस्तै किसिमको भाषा शैलीमा लेखेका थिए ।
साम्पाङले पत्रमा लेखेका छ, “छाताचोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइपठाएछ थाहा भएन । यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला । धन्यवाद ।”
पत्रमा ‘कुलङ्घार’, ‘दलालीमा भुलेर’ जस्ता अभिव्यक्तिले एक जना जननिर्वाचित नगरप्रमुखको औपचारिक पत्राचारमा शोभनीयता र गरिमा कायम गर्नुपर्ने मान्यतालाई गम्भीररूपमा उल्लङ्घन गरेको पाइएको छ ।
उक्त पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय, कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालय र बीपी प्रतिष्ठानमा समेत पठाइएको छ । प्रतिष्ठानले पनि बुधबार नै नगर प्रमुखको भाषा शैलीको खण्डन गरेको छ ।
धरानको पुरानो अस्पतालको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कानूनी प्रक्रियाबाट हस्तान्तरण भइसकेको विषयमा प्रतिष्ठानले विज्ञप्ति जारी गरी प्रष्ट पारिसकेको छ । यस्तो संवेदनशील विषयमा संवाद, तथ्य र विधिसम्मत प्रक्रियामार्फत् समाधान खोज्नुपर्नेमा अशोभनीय भाषाशैली प्रयोग गरिनु गलत सङ्केत भएको प्रतिष्ठानले जनाएको छ ।
संविधानअनुसार स्थानीय सरकारलाई जनस्वास्थ्यको विषयमा अधिकार भए तापनि सङ्घीय सरकारसँगको समन्वय अपरिहार्य रहने हुँदा यस्तो विषयमा संयमित, जिम्मेवार र औपचारिक ढङ्गबाट पत्राचार गर्नुपर्ने हो ।
प्रतिष्ठानको आपत्ति
धरान उपमहानगरपालिकाका प्रमुखद्वारा सामाजिक सञ्जालमा पुरानो अस्पतालको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘सुुटुक्कै हडपेको’ भन्ने अभिव्यक्तिपछि प्रतिष्ठानले कडा प्रतिक्रिया दिएको छ । एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उक्त अभिव्यक्तिले भ्रम फैलाउने खतरा रहेको भन्दै स्पष्टीकरण दिएको हो ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारद्वारा जारी विज्ञप्तिमा धरानको छाताचोकस्थित पुरानो अस्पतालको जग्गा कानूनी प्रक्रिया पु¥याएर सरकारको निर्णयबमोजिम प्रतिष्ठानको नाममा नामसारी गरिएको उल्लेख छ ।
जग्गाबारेको वास्तविकता
प्रतिष्ठानले स्पष्ट पारेअनुसार तत्कालीन प्रतिनिधिसभाबाट पारित ऐनअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वायत्त संस्थाको रूपमा स्थापना गरिएको थियो । त्यसपछि मिति २०४८ साल माघ ४ गते तत्कालीन सरकारको निर्णयअनुसार, धरान बजारस्थित पूर्व अस्पतालले चर्चेको ३ बिघा ८ कठ्ठा १२ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गरिएको हो ।
सञ्चालक परिषद्को निर्णय र प्रक्रिया पूरा गरेर उक्त जग्गा नामसारी गरिएको उल्लेख गर्दै प्रतिष्ठानले स्थानीय सरकार प्रमुखबाट प्रयोग गरिएका ‘हडपेको’, ‘सुुटुक्कै लगेको’ जस्ता शब्दहरूले आम जनतामा भ्रम फैलाउने हुँदा यस्ता अभिव्यक्तिबाट टाढा रहन अनुरोध गरेको छ ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले मन्त्रिपरिषद्को निर्णयबाट प्राप्त भएको जग्गा स्थानीय सरकार प्रमुखले ‘हडपेको’ ‘सुुटुक्कै लगेको’ जस्ता भ्रमपूर्ण सन्देश लेख्नु शोभनीय नभएको बताए । प्रतिष्ठानलाई जग्गा प्राप्तबारे खुलाएर आज (बिहीबार) स्वास्थ्य मन्त्रालयलाई पत्र लेखिने उनले स्पष्ट पारे ।
“यो कस्तो सन्देश हो, हामी स्थानीय सरकारलाई नगर अस्पताल सञ्चालनका लागि जनशक्तिदेखि प्राविधिक सहयोग गर्न सक्छौँ । यस विषयमा नगर प्रमुखले छलफल चलाउनु पर्ने हो तर उहाँले उल्टै धम्की दिइरहनुभएको छ” रजिष्ट्रार प्रा.डा. सङ्ग्रौलाले ब्लाष्टसँग भने, “सिनेट सदस्यसमेत रहनुभएको नगर प्रमुखको यस्तो अभिव्यक्ति र भ्रमपूर्ण सन्देशले सहकार्य कसरी होला ?”
विज्ञप्तिमा प्रतिष्ठानको सर्वाेच्च निकाय सञ्चालक परिषद्को सदस्यमा स्वयम्् धरान उपमहानगरपालिकाका प्रमुख रहने व्यवस्था रहेको उल्लेख गर्दै, यति जिम्मेवार पदमा रहेका व्यक्तिबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको जनाइएको छ । साथै सार्वजनिकरूपमा गरिएको पोष्ट वा वक्तव्य सच्याउन र भविष्यमा यस्ता भ्रमजन्य अभिव्यक्ति नगर्न पनि आग्रह गरिएको छ ।
विज्ञप्तिमा विगतमा प्रतिष्ठानले पुरानो धरान अस्पतालमा ओपिडी सेवा सञ्चालन गरे पनि जनचाहनाअनुसार सेवाग्राहीको सङ्ख्या कम हुँदै गएपछि सेवा स्थगन गरिएको तथ्य पनि उल्लेख छ ।
प्रतिष्ठानले पुरानो अस्पताल क्षेत्रलाई धरानवासीको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे स्थानीय सरकारसँग संवाद र सहकार्य गर्न सकारात्मक रहेको प्रतिबद्धतासमेत जनाएको छ । तर संवाद नगर्ने सामाजिक सञ्जालमा जथाभावी लेख्ने कार्यले धरानको भलाइ नहुने नगरवासीको भनाइ रहेको छ ।
विज्ञप्तिको अन्त्यमा प्रतिष्ठानले स्थानीय सरकार र सङ्घीय सरकार अन्तर्गतका निकायबीच समन्वय, सहमति र विधिपूर्वकका कार्यले मात्र जनहित सम्भव हुने स्पष्ट गर्दै विधि बाहिरका गतिविधिले विकासमा अवरोध पुग्ने भएकाले सबै सरोकारवालालाई यथार्थ बुझ्न आग्रह गरेको छ ।