इटहरी । गएको ७९ को स्थानीय निर्वाचन पछि आएका जनप्रतिनिधिले आर्थिक वर्ष २०८०/०८१ र ०८१/८२ को दुई वर्षमा सवारी साधन खरिदमा १२ करोड रकम खर्च गरेका छन् । 

२०८१ साउनमा ४ वटा नगरबस खरिद गरेको उपमहानगरले सोही वर्ष थप ८ वटा सवारी साधन थप्दै १२ वटा बनाएको हो । सवारी साधन किनिएको विषयमा कार्यपालिकाभित्रै प्रश्न उठ्दै आएको छ । खरिद गरिएकामध्ये धेरैजसो हेभी सवारीअन्तर्गत रहेको उपप्रमुख सङ्गीताकुमारी चौधरीले बताइन् ।

उपमहानगरले नगरवासीको हितका लागि भन्दै महँगो मूल्यमा रोड वासर, भाइबे्रटर, मोटर गार्डर, मिनी टिपर र इन्फास्ट्रक्चर एम्बुलेन्स खरिद गरेको हो । यी सबै सवारी साधन गत आ.व.०८०/८१ मा खरिद भएको उपमहानगरले जनाएको छ । उपमहानगरले २३ लाख ७८ हजार नौ सय ९९ रुपैयाँमा मिनी टिपर, ६६ लाख ५० हजार रुपैयाँमा रोड वासर, ९३ लाख ९९ हजार नौ सय ९९ रुपैयाँमा मोटर गार्डर, ५४ लाख ५० हजार रुपैयाँमा सिङ्गल ड्रम भाइब्रेट रोलर खरिद गरेको हो ।

यी सवारी साधनहरू गत ०८० असोजदेखि ०८१ जेठसम्ममा खरिद भएको देखिएको छ । सोही समयमै जनता क्याम्पसलाई बस अनुदान दिइएको पनि उपमहानगरले जनाएको छ । जुन कार्यपालिकामा केही सदस्यहरूले विरोधसमेत गरेका थिए । उपमहानगरले सोही आर्थिक वर्षमा छ करोड ३६ लाख ८६ हजार रुपैयाँको चारवटा विद्युतीय नगर बस खरिद गरी सञ्चालनमा ल्याएको थियो । उपमहानगरले २०८१ साउनमा चारवटा विद्युतीय नगर बस खरिद गरेको हो । उक्त बस हाल विभिन्न रुटमा सञ्चालन हुँदै आएको छ । त्यस्तै आ.व.०८१/८२ मा उपमहानगरले ३१ लाख ५० हजार रुपैयाँका दरले दुई वटा शववाहन, ८३ लाख रुपैयाँका दुईवटा एम्बुलेन्स, एउटा दमकल र हाइडेक ट्रक पनि खरिद गरेको देखिएको छ । 

उपमहानगरले खरिद गरेका अधिकांश सवारी साधन कार्यालय परिसरमै थन्किएर बसेका छन् । जसमा इन्फास्ट्रक्चर एम्बुलेन्स, सिङ्गल ड्रम भाइब्रेट रोलर, मोटर गार्डरलगायतका सवारी साधन प्रायःजसो कार्यालय परिसरमै देखिन्छन् । मिनी टिपर भने नगर प्रहरीले सञ्चालन गर्दै आएको छ । रोलरलाई भाडामा लगाउने नगर प्रमुखको प्रस्तावलाई एमालेका वडाध्यक्षहरूले विरोध गरेपछि त्यो पनि हाल उपमहानगरमै थन्किएर बसेको छ ।  महँगो मूल्यमा खरिद गरेको दुईवटा शव वाहन र एम्बुलेन्स भने इटहरी नगर अस्पतालमार्फत् नियमितरूपमा सञ्चालन भइरहेको उपप्रमुख चौधरीले बताइन् । 

रोड वासर भने बेलाबेला उपमहानगर क्षेत्रमा रोपिएका फूलमा पानी हाल्न र राजमार्ग सफा गर्न प्रयोग हुने गरेको उनले बताइन् । अधिकांश ठुला सवारी साधन सञ्चालन नभएको बारे उपप्रमुख चौधरीले गत असार ९ गते बसेको १४५ औँ कार्यपालिका बैठकमा पनि कुरा उठेको र यसलाई नियमन तथा सञ्चालनमा ल्याउनेबारे बहस भएको सुनाइन् । उपमहानगर क्षेत्रमा साना तथा ठूला गरी ६९ वटा सवारी साधनहरू रहेका छन् ।