सुनसरी उद्योग वाणिज्य सङ्घको असार ३० गते निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनले संस्थामा नयाँ नेतृत्वको आगमनसँगै नयाँ आशा र अपेक्षा जन्माएको छ । अध्यक्षमा निर्वाचित गोपाल श्रेष्ठलाई व्यवसायीहरुले रोजेका छन् । प्रष्ट रुपमा जनमतले देखाएको सन्देश भनेको– व्यावसायिक समाज अब परिवर्तन चाहन्छ र त्यो परिवर्तन नेतृत्वशैली, नीति, पारदर्शिता र सहभागितामा देखिनु पर्छ । गोपाल श्रेष्ठको यो जित कुनै आकस्मिक विजय होइन । डेढ वर्षअघिदेखि उनले गरेको तयारी, व्यावसायिक वृत्तमा बनाएको विश्वास, र सन्तुलित राजनीतिक सहकार्यले उनलाई चुनावी मैदानमा बलियो उम्मेदवार बनायो । एमाले र काङ्ग्रेस दुवै पक्षबाट उनी समर्थित रहे पनि उनले कुनै एक दलको कठपुतली नबनी, व्यवसायी हितको मुद्दा उठाउँदै अघि बढ्ने प्रतिबद्धता त जनाएका छन् । तर उनको टिम विगतदेखि सिण्डिकेट चलाएको र त्यसैको निरन्तरता भने आरोप लागेको छ । त्यसलाई गलत सावित गर्न उनले सबैसँगको सहकार्य समन्वय र सबैको हितमा काम गर्नुपर्ने देखिएको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घ व्यवसायीहरुको हकहितसँगसँगे सामाजिक उत्तरदायित्व बोकेको संस्थाका रुपमा चिनिन्छ । यसले गर्नुपर्ने धेरै कामहरु छन् । विगतमा स्थानीय तहको नेतृत्वसँग सहकार्यको अभावमा व्यवसायी र उद्योगीहरुले दुःख पाएको कुरा कतै छिपेको छैन । नयाँ नेतृत्वले स्थानीय सरकार र निजी क्षेत्रको पुलको रुपमा काम गर्नुपर्ने हुन्छ । अब नेतृत्वमा पुगेको गोपाल श्रेष्ठ समूहको सबैभन्दा ठूलो जिम्मेवारी भनेको चुनावी भाषणमा उठाइएका मुद्दालाई व्यवहारमा उतार्नु हो । व्यवसायीहरु कर प्रणालीको सुधार, सहुलियतपूर्ण ऋण पहुँच, स्थानीय तहको चर्को कर र साना व्यवसायमा सरकारी हस्तक्षेपजस्ता विषयमा चनाखो छन् । सङ्घले यी मुद्दामा सरकारसँग संस्थागत संवाद गर्नु सक्नु पर्दछ । स्थानीय सरकारसँग सहकार्य गर्दै व्यावसायिक वातावरण सुधार गर्नु नै सङ्घको प्राथमिक एजेण्डा बन्नुपर्छ । निजी क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी न नवप्रवर्तनमुखी बनाउने नीति निर्माणमा सङ्घले दबावमूलक भूमिका खेल्न सक्नु पर्दछ ।
नयाँ समितिले सङ्गठनभित्र पारदर्शिता, समावेशिता र व्यावसायिक आचरण सुनिश्चित गर्नु जरूरी छ। पदाधिकारी चयनदेखि बैठक निर्णयसम्म सबै प्रक्रियामा खुलापन ल्याउनुपर्छ। महिला तथा युवाको प्रतिनिधित्वमा अझ गहिरो काम आवश्यक छ। वाह्य सुधारसँगै आन्तरिक सुदृढीकरण नै सङ्घको दीर्घकालीन सशक्तीकरणको आधार बन्न सक्छ। गोपाल श्रेष्ठ नेतृत्वको टोलीले जित मात्र हैन, अब जिम्मेवारी पनि बोक्नुपर्छ। यो जिम्मेवारी केवल व्यवसायी वर्गप्रतिको होइन, समग्र आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका निर्वाह गर्ने दायित्व हो । सङ्घको नेतृत्वले दलहरुबीच सन्तुलन राख्दै व्यवसायीको हकहितमा स्पष्ट, सबल र नतिजामुखी एजेण्डा अघि सार्न सक्यो भने सुनसरी उद्योग वाणिज्य सङ्घ वास्तवमै नयाँ युगमा प्रवेश गर्नेछ । तब मात्र व्यवसायी, उद्योगीहरुले सङ्घ भएको र आफू सङ्घमा आबद्धतामा सुखानुभूति गर्नेछन् ।