विराटनगर । मोरङको लेटाङ–२ की १३ वर्षीया अंशु गौतमको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको सोमबार २७ दिन भयो । तर, उनको परिवारले अझैसम्म शव बुझेका छैनन् । छोरी गुमाएको पीडाले छट्पटाइरहेको परिवारले एउटै अडान लिएको छ । त्यो हो, जबसम्म अंशुको वीभत्स हत्यामा संलग्न अपराधी पक्राउ पर्दैन र उसलाई सार्वजनिक गरिँदैन, तबसम्म दाहसंस्कार नगर्ने ।
‘खेल्न जान्छु’ भनेर घरबाट निस्किएकी छोरीको क्षतविक्षत शव जङ्गलमा भेटिएको लगभग एक महिना पुग्न लाग्दा पनि हत्यामा संलग्नको पहिचान हुन नसक्नुले परिवारलाई थप आहत बनाएको छ । अनुसन्धानमा ठोस प्रगति नहुँदा उनीहरू पीडामा छन् ।
“जबसम्म प्रहरीले अनुसन्धान पूरा गरेर छोरीको हत्यामा संलग्न दोषीलाई सार्वजनिक गर्दैन, तबसम्म हामी शव बुझ्दैनौं” अंशुका ठूलाबुवा दामोदर गौतमले भने, “हाम्रो छोरीको आत्माले तबसम्म शान्ति पाउँदैन, जबसम्म अपराधी कानूनी कठघरामा उभिँदैन ।”
परिवारले केवल अपराधी पक्राउको माग मात्र गरेको छैन, उनीहरूले डिएनए परीक्षणको रिपोर्ट पनि सार्वजनिक गर्नुपर्ने र घटनामा संलग्नलाई सार्वजनिक गरिनुपर्ने माग राखेका छन् । “रिपोर्ट पनि आउनुप¥यो र दोषीलाई पक्राउ गरेपछि मात्र परिवारले शव बुझ्ने मनस्थिति बनाएको छ”–गौतमले भने । उनीहरूको यो अडानले स्थानीय प्रशासन र प्रहरीलाई दबावमा पारेको छ ।
गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु साँझसम्म नफर्केपछि परिवार र छिमेकीले खोजी सुरु गरेका थिए । तर, दिन हप्तामा बदलियो, अंशुको कुनै अत्तोपत्तो लागेन । उनको खोजीका लागि परिवारले प्रहरीमा उजुरीदेखि सम्भावित सबै प्रयास गरेको थियो ।
हराएको १८ औं दिन अर्थात् कात्तिक ७ गते घरबाट करिब साढे चार किलोमिटर पर रहेको जङ्गलमा उनको शव भेटियो । शवको प्रकृति यति वीभत्स थियो कि त्यसले लेटाङ मात्र नभई सिङ्गो देशलाई नै स्तब्ध बनायो । एक बालिकामाथि भएको यो स्तरको क्रूरताले समाजको सुरक्षा र मानवीय संवेदनाको धज्जी उडाएको छ ।
चाँडै नै निष्कर्षमा पुग्नेछौंः एसपी कटुवाल
अंशु गौतमको हत्याको घटनामा अनुसन्धानलाई तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै दक्ष प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको बताए । “यो घटनालाई हामीले अत्यन्त गम्भीररूपमा लिएका छौँ । अनुसन्धानका लागि एक विशेष समिति नै गठन गरिएको छ”–उनले भने ।
अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मात्र नभई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरीको विशेष अनुसन्धान टोली र सङ्घीय प्रहरी एकाइ कार्यालयका विज्ञहरूको समेत सहयोग लिइएको छ । एसपी कटुवालका अनुसार, घटनास्थलबाट सङ्कलित सबुत प्रमाणहरूलाई फरेन्सिक परीक्षणका लागि काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
प्रहरीले अनुसन्धान निकै साँघुरिएको र चाँडै नै निष्कर्षमा पुग्ने विश्वास दिलाएको छ । “हामीले अनुसन्धानलाई धेरै साँघुरो (न्यारो डाउन) गरिसकेका छौँ” कटुवालले भने, “हामीलाई विश्वास छ, छिट्टै नै अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउनेछौँ ।’’ मोरङ प्रहरीबाट मात्र हाल प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको दक्ष टोलीले घटनास्थल र सम्भावित क्षेत्रमा खटिएर अनुसन्धान गरिरहेको छ ।
                    
        
                                        
                                                                                                
        































