धरान । धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले असार २१ गते लेखा शाखामा भुक्तानीका लागि प्रक्रियामा रहेको कागजात कब्जामा लिएको घटनाले अन्ततः धरानमा भ्रष्टाचारलाई संस्थागत गरेको छ । 

असार २३ गते गरिएको छलफलपश्चात् गरिएको निर्णयको बुँदा नम्बर २ को (क) मा यस्तो लेखिएको छ, “धरान उपमहानगरपालिका वडा नं. १६ को बहुभाषिक पाठशाला पश्चिम सर्दू खोलाको ग्याबिन वाल लगाउने आयोजनामा प्रक्रियागत त्रुटि देखिएकोले नगर प्रमुख, उपप्रमुख, सम्पूर्ण वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरू समेतको उपस्थितिमा सर्वपक्षीय सहमति आज मिति २०८२÷०३÷२३ गते सोमबार दिउँसो तीन बजे सार्वजनिक परीक्षण, अनुगमन गरी नगरपालिकाबाट पत्राचार गरेपछि वडा समितिको सिफारिसमा भुक्तानी दिने ।” यो बुँदामा प्रष्टसँग आयोजनामा प्रक्रियागत त्रुटि देखिएको भनी उल्लेख गरिएको छ । उक्त प्रक्रियागत त्रुटिलाई मिलाउनका लागि नगर प्रमुखसहित जनप्रतिनिधिले असार २३ गते सर्वदलीय सहमतिको नाममा अर्को त्रुटि गरेका हुन् । 

कानून विपरीत भएको कार्यलाई संस्थागत गर्ने काम जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरूले गरेका छन् । यो सहमतिपश्चात् अग्रज पत्रकार राजेश विद्रोहीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखे, “धरानमा कानूनले पनि तीन बल्ड्याङ खान्छ अनि हामी रमिता हेर्छौं ।”प्रक्रियागत त्रुटिको सुरुवात नगर प्रमुख राईले जबर्जस्ती भुक्तानी दिनुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद चौंलागाईंलाई दिएको दबावबाटै प्रष्ट हुन्छ । कानूनले दिन नमिल्ने विषयमा नगर प्रमुखले भुक्तानी दिनुपर्छ भन्ने दबाव दिएपछि उक्त कुरा उपप्रमुख अइन्द्रविक्रम बेघामार्फत् बाहिरिएको थियो । बेघाले सुरुदेखि नै प्रक्रियागत त्रुटि भएको भन्दै भुक्तानी दिन नसकिने दाबी गर्दै आएका थिए । 

उनले एक दिनअघि ब्लाष्टकर्मीसँग भनेका थिए, “वैशाख १८ गते श्रमदानमार्फत् सकिएको कामको भुक्तानी दिन सकिँदैन भनेर आवाज उठाएको हो । 

त्यसपछि प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद चौंलागाईंले वैशाख २४ गते नयाँ योजनाको कागज बनाई वैशाख २६ गतेदेखि काम सुरु गरेको भनी बनाइएको थियो ।” यहाँ एकपछि अर्को प्रक्रियागत त्रुटि गरिएको थियो । उपप्रमुख बेघाको भनाइअनुसार वैशाख २४ गते नयाँ योजना भनी बनाइएको कागज कीर्ते कागज हो । यसमा सिधै कानून आकर्षित हुन्छ । यतिसम्मकि नगर प्रमुख राईले धरान १६ नम्बर वडाको काममा त्यहाँका स्थानीयहरू सम्मिलित समिति गठन नगरी अन्य वडाका व्यक्तिहरूलाई अध्यक्ष बनाइएको थियो ।

उक्त कुरा त्रुटिपूर्ण थियो भन्ने विषयलाई असार २३ गतेको सर्वपक्षीय सहमतिले यसरी समेटेको छ, “विषय नं. १ मा छलफल गर्दा उपभोक्ता समिति गठन गर्दा यस कार्यालयको उपभोक्ता गठन कार्यविधिको अनिवार्य पालना गर्ने । वडाभित्र सञ्चालित आयोजनाहरू उपभोक्ता समितिमार्फत् गर्नुपर्दा उपभोक्ता समितिमा योजनाको लाभग्राहीलाई समावेश गरी समिति निर्माण गर्ने ।”

पहिलो बुँदामा लेखिएको यस आशयको निर्णयले नै ‘बहुभाषिक विद्यालय पश्चिम सर्दू रोकथाम समिति’ त्रुटिपूर्ण थियो भन्ने कुरालाई प्रष्ट पारेको छ । उक्त समितिको अध्यक्षमा धरान–१४ का स्थायीबासी रहेका थिए । उनले ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा आफू १४ नम्बर वडावासी भएको बताएका थिए । धरानमा ‘कानूनले तीन बल्ड्याङ खाएको’ व्यङ्ग्यात्मक भनाइलाई पुष्टि गर्ने गरी प्रमुख प्रशासकीय अधिकृतलाई असार १९ गते ‘कारण खुलाई पेश्नू हुन’ भनी पत्राचार गरेको विषय फिर्ता लिने उदेकलाग्दो निर्णय गरिएको छ । असार २३ गतेको सर्वपक्षीय निर्णयमा “प्रमुख प्रशासकीय अधिकृतलाई लेखिएको पत्र फिर्ता लिई सामाजिक सञ्जालबाट हटाउने र पत्र फिर्ता भएको कुरा सामाजिक सञ्जालमार्फत् जानकारी गराउने” उल्लेख गरी हास्यास्पद निर्णय गरिएको हो ।